News Portal

एमाले छाडेका भुसाल, रूपन्देहीबाट स्वतन्त्र उठ्ने तयारीमा

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा (एमाले) परित्याग गरेका छन्। शनिबार उनले सामाजिक संजाल आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्। 

उनले ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि छोड्नुपरेको उनको भनाई छ।’…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले लेखेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा (एमाले) उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्। योसँगै भुसालले रूपन्देही-१ मा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उनीनिकट स्रोतले बताएका छन् । यहाँ उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बचन समेत दिएको स्रोतले  जानकारी दिए। ‘उहाँ रूपन्देही-१ बाट स्वतन्त्र उठ्ने तयारी छ। गठबन्धनको सहयोगमा उठ्ने तयारी हो। केहीबेरमा निधो हुन्छ,’ भुसालनिकट स्रोतले भन्यो।

रूपन्देहीको क्षेत्र नं. १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। रूपन्देही भुसालको गृह जिल्ला हो। स्रोतका अनुसार उनी स्वतन्त्र उठ्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गर्ने बचन दिएका छन्। ‘उहाँलाई स्वतन्त्र उठ्दा सहयोग गर्न बचन प्रचण्डले दिनुभएको छ,’ स्रोतले भन्यो।

भुसालले २०७४ को चुनावमा वाम गठबन्धनबाट रूपन्देही ३ बाट जितेका थिए। त्यो बेला पनि भुसाल रूपन्देही-१ मै उठ्न चाहेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले उनलाई रूपन्देही-३ दिएका थिए। रूपन्देही-१ मा त्यतिखेर एमालेका छविलाल विश्वकर्माले जितेका थिए। यसपालि पनि भुसालले एमालेबाट रूपन्देही-१ नै खोजेका थिए। तर एमालेले टिकट नै दिएन। एमालेले रूपन्देही-१ मा यसपालि छविलाल विश्वकर्मालाई नै टिकट दिएको छ।

माओवादीका केही नेताले भने भुसाल माओवादीकै चुनाव चिह्नबाट उठ्ने भनिरहेका छन्। तर उनीनिकट नेताहरूले भने यसमा सत्यता नभएको बताएका छन्। भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा भने राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्। ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए। 

नेता भुसाल स्टाटस: “देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौं सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौं।

यसै सन्दर्भमा पार्टीको पाँचौं महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो। नवौं महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाइमा लग्यो। तर दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो।

त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो। आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो। र अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।

नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।

नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि संघर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ। राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरू! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं।

घनश्याम भुसाल
मणिग्राम, रूपन्देही
२०७९ असोज २२।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...