News Portal

रानीदहको धुन (कविता)

हिमालीसंचार संवाददाता
५४५ पटक

ओहो !
कस्तरी फुलेछ यो वन
मार्साङको जोवन फुलेजस्तै गरी !
साँच्चै !
सपना लहराइरहेका यी फुलहरू
यही वनको बाटो भएर
कुन गाउँको आँगनसम्म पुग्दा हुन्, हगि ?

थाहा पायौ त मैच्याङ !
वैँसालु उमेरको झ्याम्के डालीभरि
हरियाली ओर्लिएपछि
थाहै नपाई,
तरुनी मनको गुलावी धुलो उडाउँदै
कसरी दौडिँदोरहेछ
रातमाटे डाँडाको सडकै सडक
आफ्नै रहरहरूको वयस्क वायूपङ्खी घोडा ?

समयको चर्खाभित्र
विचारका कति ताराहरू
झुल्किन नपाउँदै अस्ताएर गए होलान् ?
सेतो दरबार ठड्याएपछि
लोप्साङजस्ता कति कालिगढहरू
शासकको सनकले रेटिएर
याम्बुको सिकुवामा बेखबर पुरिए होलान् ?
शरदको आकाश ओढेर
सेलोको धुनसँगसँगै बाँसको कुरुस नचाउँदै
जीवनको भोटो बुनिरहेकी
डाँडामाथिकी घामजस्तै पेम्साङ मामले
त्यो छेर्तेन गुम्बा लिपेर
बोलाएको जूनेली रङ कहाँ हरायो होला ?

आज कहाँ पुगे होलान्
रोशीको किनारै किनार दौडिएर
देशबाट लखेटिएका हुलकाहुल पीपाहरू ?
च्याङ्बाको शिर काटेर
बालुवामा सुकाउने चौतारीयाको छोरो
आजभोली,
कुन मन्दिरको पुजारी भएको होला ?
मैच्याङको जोवन लुछेर
याम्बु फर्किएको सेनापतिको खलक
आज वर्षौँपछि पनि
मुलुकी ऐनको पाठ घोकाउन
कुन न्यायलयको ठेकेदार बनेको होला ?

भन न,
ओ मेरो गाङवादाइ !
मनको एकलास चुरेपहाडभरि
आफ्नै इन्द्रेणी लर्काएर
अब कहिले फुल्छन्
यो जिन्दगीमा राता टोटला फुलहरू ?

आगोको जङ्गल उमारेर
अब म सेकाउँछु
घोरलको यो ओस्सिएको छाला
र बेस्सरी गाइरहन्छु— वनको हराएको गीत !
ताकि—
रानीदहको चिसो पीँधबाट
फेरि उठ्न सकोस्
आवाजहरूको एउटा अविलम्बित धुन
र म छमछमी नाच्न सकूँ
डम्फुको तालसँगै ल्होछारको उन्मुक्त आकाशमुनि !

लुङदरको शिर काटेर
तिमीले उहिल्यै तरबार पखालेको
यो नदीको पानी
म आज पनि उस्तै रातो देख्छु !
हो, म –
त्यही नदीमा सन्त्रास बगाएर
तिम्रो शहर छिरेको बहुला सोनाम हुँ !
ढाडको पीचमा गुडाएर
बेलायती गाडीलाई अक्कर उकाल्दै गर्दा
तिमीले गिँडेको पाखुरीबाट
तप ! तप ! चुहिएर
झरेको रगतले लेखिएको छ
मभित्र पनि तमासुकजस्तै विद्रोही इतिहास !

याद रहोस् !
खुकुरीले बिर्सिए पनि
अचानोले त खुकुरी सम्झिरहँदोरहेछ !
हो, काजी साहेब
म त्यही भरिया साम्देन हुँ !
र म सोध्न चाहन्छु
मेरो काटिएको आधा हात
भन कुन सङ्ग्रालयमा राखेका छौ ?
म आज,
बरूदखाना अगाडि उभिएर
फर्छौट हुन बाँकी रहेको
आफ्नै जिन्दगीको बेरूजु हिसाब हेरिरहेछु !

किन चुपचाप छन्
यी बन्द गरिएका ढोकाहरू
किन विश्वास छैन
आफैँमाथि यति ठुलो देशलाई
सक्छौ भने,
खोल सिंहदरबारका ढोकाहरू
जो थर्थरी काँपिरहेछन्— एउटा त्रासदी बोकेर !
म मेरो आप्पाका कङ्कालहरू
यो चिहानघारीबाट झिकेर
तिम्रो देशको आयतन नाप्न चाहन्छु !

यो मनको अँगेनोमा
आगोको बिऊ
जतनसाथ बचाएर आएको छु !
याद रहोस् सरकार
म त्यही मारिएको लोप्साङ हुँ !
आज वषौँपछि
यो जमिनको चट्टान फोरेर
आफ्नो मृत्युको फैसला सुन्न आएको छु !

✍ प्रथा।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...