News Portal

रानीदहको धुन (कविता)

हिमालीसंचार संवाददाता
५२८ पटक

ओहो !
कस्तरी फुलेछ यो वन
मार्साङको जोवन फुलेजस्तै गरी !
साँच्चै !
सपना लहराइरहेका यी फुलहरू
यही वनको बाटो भएर
कुन गाउँको आँगनसम्म पुग्दा हुन्, हगि ?

थाहा पायौ त मैच्याङ !
वैँसालु उमेरको झ्याम्के डालीभरि
हरियाली ओर्लिएपछि
थाहै नपाई,
तरुनी मनको गुलावी धुलो उडाउँदै
कसरी दौडिँदोरहेछ
रातमाटे डाँडाको सडकै सडक
आफ्नै रहरहरूको वयस्क वायूपङ्खी घोडा ?

समयको चर्खाभित्र
विचारका कति ताराहरू
झुल्किन नपाउँदै अस्ताएर गए होलान् ?
सेतो दरबार ठड्याएपछि
लोप्साङजस्ता कति कालिगढहरू
शासकको सनकले रेटिएर
याम्बुको सिकुवामा बेखबर पुरिए होलान् ?
शरदको आकाश ओढेर
सेलोको धुनसँगसँगै बाँसको कुरुस नचाउँदै
जीवनको भोटो बुनिरहेकी
डाँडामाथिकी घामजस्तै पेम्साङ मामले
त्यो छेर्तेन गुम्बा लिपेर
बोलाएको जूनेली रङ कहाँ हरायो होला ?

आज कहाँ पुगे होलान्
रोशीको किनारै किनार दौडिएर
देशबाट लखेटिएका हुलकाहुल पीपाहरू ?
च्याङ्बाको शिर काटेर
बालुवामा सुकाउने चौतारीयाको छोरो
आजभोली,
कुन मन्दिरको पुजारी भएको होला ?
मैच्याङको जोवन लुछेर
याम्बु फर्किएको सेनापतिको खलक
आज वर्षौँपछि पनि
मुलुकी ऐनको पाठ घोकाउन
कुन न्यायलयको ठेकेदार बनेको होला ?

भन न,
ओ मेरो गाङवादाइ !
मनको एकलास चुरेपहाडभरि
आफ्नै इन्द्रेणी लर्काएर
अब कहिले फुल्छन्
यो जिन्दगीमा राता टोटला फुलहरू ?

आगोको जङ्गल उमारेर
अब म सेकाउँछु
घोरलको यो ओस्सिएको छाला
र बेस्सरी गाइरहन्छु— वनको हराएको गीत !
ताकि—
रानीदहको चिसो पीँधबाट
फेरि उठ्न सकोस्
आवाजहरूको एउटा अविलम्बित धुन
र म छमछमी नाच्न सकूँ
डम्फुको तालसँगै ल्होछारको उन्मुक्त आकाशमुनि !

लुङदरको शिर काटेर
तिमीले उहिल्यै तरबार पखालेको
यो नदीको पानी
म आज पनि उस्तै रातो देख्छु !
हो, म –
त्यही नदीमा सन्त्रास बगाएर
तिम्रो शहर छिरेको बहुला सोनाम हुँ !
ढाडको पीचमा गुडाएर
बेलायती गाडीलाई अक्कर उकाल्दै गर्दा
तिमीले गिँडेको पाखुरीबाट
तप ! तप ! चुहिएर
झरेको रगतले लेखिएको छ
मभित्र पनि तमासुकजस्तै विद्रोही इतिहास !

याद रहोस् !
खुकुरीले बिर्सिए पनि
अचानोले त खुकुरी सम्झिरहँदोरहेछ !
हो, काजी साहेब
म त्यही भरिया साम्देन हुँ !
र म सोध्न चाहन्छु
मेरो काटिएको आधा हात
भन कुन सङ्ग्रालयमा राखेका छौ ?
म आज,
बरूदखाना अगाडि उभिएर
फर्छौट हुन बाँकी रहेको
आफ्नै जिन्दगीको बेरूजु हिसाब हेरिरहेछु !

किन चुपचाप छन्
यी बन्द गरिएका ढोकाहरू
किन विश्वास छैन
आफैँमाथि यति ठुलो देशलाई
सक्छौ भने,
खोल सिंहदरबारका ढोकाहरू
जो थर्थरी काँपिरहेछन्— एउटा त्रासदी बोकेर !
म मेरो आप्पाका कङ्कालहरू
यो चिहानघारीबाट झिकेर
तिम्रो देशको आयतन नाप्न चाहन्छु !

यो मनको अँगेनोमा
आगोको बिऊ
जतनसाथ बचाएर आएको छु !
याद रहोस् सरकार
म त्यही मारिएको लोप्साङ हुँ !
आज वषौँपछि
यो जमिनको चट्टान फोरेर
आफ्नो मृत्युको फैसला सुन्न आएको छु !

✍ प्रथा।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...