News Portal

  • वाम गठबन्धन: ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए

    हिमालीसंचार संवाददाता
    १६२ पटक

    सइन्द्र राई,
    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए। बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम तालमेल हुन्न।’

    पोखरेल मात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले लामो समयदेखि प्रचण्ड र माधव नेपाल बिनाको बलियो कम्युनिष्ट पार्टी बनाउने दावी गरिरहेका छन्। तर प्रचण्ड र माधव नेपालको साथ पाएकैले नेपाली कांग्रेसले शक्ति आर्जन गरेको छ भने, एमालेले गुमाएको छ।

    ‘माओवादी र एकीकृत समाजवादीमा विचार, गन्तव्य र लक्ष्यमै द्विविधा छ। पार्टी फुटाएर नेपाली कांग्रेसको सहारामा हिँड्नुपर्ने बाध्यता छ’, त्यसदिन बुटवलमा पोखरेलले भने। जबकी एमाले नेताहरूको यस्तो आक्रोशले कांग्रेस नेतृत्वको गठबन्धन चाहिँ थप मजबुत बनिरहेको छ।

    पोखरेलले प्रचण्ड र माधव नेपालप्रति निषेधात्मक आक्रोश पोख्नु दुई दिन अघि (२० साउनमा) मात्रै बालुवाटारमा सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुग्याउने गरी कार्यदल बनाइसकेको थियो। ‘हामी सम्भावित अवसर पनि उपयोग गर्नेतिर लागेनौं। प्रतिश्पर्धी नेता निषेध गर्न खोज्दा पार्टी एक्लिने अवस्था बन्यो’, एमालेका एक नेता भन्छन्।

    ती नेताका भनाइमा, ४ मंसिरको चुनाव आउनु तीन महिना बढी समय बाँकी रहँदै सत्तारुढबीच सिट फाँडफाँटकै गृहकार्य हुनुमा एमाले नेताहरुको अभिव्यक्तिले मुख्य भूमिका खेलेको छ।

    गएको ३० वैशाखको स्थानीय चुनावपछि माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेताहरू एमालेसँग तालमेलको पक्षमा उभिएका थिए। पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि वाम तालमेलको पक्षमा रहेका नेताहरुकै पंक्तिमा उभिए।

    एमालेसँग चुनावी तालमेलदेखि एकतामा समेत जान सकिने नेता खनालको सार्वजनिक अभिव्यक्तिले सत्ता गठबन्धन र एकीकृत समाजवादीभित्र राम्रै हलचल ल्यायो। खनालको अभिव्यक्तिले वाम एकताको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका एमाले नेताहरू पनि उत्साहित भए।

    गएको ९ चैतको स्थायी कमिटी बैठकमै घनश्याम भूसालले तीन वटै पार्टीबीच (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) सैद्धान्तिक–वैचारिक मतभेद नरहेकाले एकता गर्नुपर्ने प्रस्ताव राखेका थिए। वाम तालमेल हुँदा चुनावको नतिजामा ठूलो अन्तर पर्ने भूसालको प्रस्ताव त्यसबेला ओलीले अस्वीकार गरे।

    ३० वैशाखको स्थानीय चुनावमा ०७४ भन्दा ८८ सिट गुमाएर २०५ स्थानीय तहमा खुम्चिएको एमालेभित्र वाम तालमेलको पक्षमा उभिने नेताहरुको संख्या बढेको छ। विशेषगरी प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूमध्ये ठूलो संख्या वाम तालमेल चाहन्छन्, जसले वाम तालमेलकै जगमा ०७४ मा जितेका थिए।

    तर सार्वजनिक रुपमा तालमेलको वकालत गरेर पार्टी नेतृत्व चिढ्याउने हिम्मत चाहिँ उनीहरुमा देखिएनन्। किनकि एमालेभित्र ओली भन्दा फरक मत राख्नेले आगामी चुनावमा टिकट पाउनै मुस्किल छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने सार्वजनिक अभिव्यक्ति दिनेदेखि पार्टी नेतृत्वसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतसँग यो अवधिमा भेटे।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा कतै पनि नलागेका वामदेव गौतमले पनि स्थानीय चुनावपछि वाम तालमेलको प्रयत्न गरे। प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी श्रेष्ठ सहित केही भेटवार्ता पनि गरे। ‘विभाजित नेकपाका सबै घटक नभएपनि पूर्व एमालेसम्म मिल्न सकिन्छ कि भन्ने थियो, तर त्यो सम्भावना पनि तत्काललाई सकियो’, खनाल निकट एक नेता भन्छन्।

    उनका अनुसार, एमाले सांसदहरुले नै पूर्वएमालेबीच तत्काल एकता गर्ने वातावरण बनाउन खनालसँग आग्रह गरेका थिए। खनालले एमालेमा रहेका नेताहरू कुनै बेला आफ्नै कार्यकर्ता भएको ‘भावनात्मक’ कुरा गरेर त्यस्तो बातावरण एकीकृत समाजवादीभित्र बनाउने पहल गरे।

    तर ओली र पोखरेलको जवाफले भने अहिले खनाल समेत एमालेसँग तत्काल एकता र तालमेल नहुने निष्कर्षमा पुगेका छन्। ‘हैसियतको कुरा उठाएर मनस्थिति नै बिगार्ने काम भयो। अब एमालेसँग हुँदैन, गठबन्धन कसिलो बनाउन लाग्छौं’, खनाल निकट ती नेता भन्छन्।

    एमाले उच्च स्रोतका अनुसार, तालमेल र एकताको प्रस्ताव लिएर जाने नेताहरुसँग ओलीले माधव र झलनाथलाई फेरि एमालेको नेता हुने रहर जागेको जवाफ फर्काएका थिए। ‘३ प्रतिशतको हैसियत हुनेसँग ३४ प्रतिशतको नेता बन्ने रहर छ। कसरी मान्ने ?’, एकता सम्भव नरहेको अडान ओलीले लिएको ती स्रोत बताउँछन्। एमाले आफैंले संकलन गरेको विवरणअनुसार, स्थानीय चुनावमा एमालेले ३४ प्रतिशत र एकीकृत समाजवादीले ४.१ प्रतिशत मत पाएको छ।

    पोखरा महानगर, हेटौंडा उपमहानगरसहित २० स्थानीय तह जितेको एकीकृत समाजवादीले ९ लाख मत ल्याएको दाबी गरेको छ। तर ओलीले एमालेकै तथ्याङ्कका आधारमा ३ प्रतिशतको हैसियत हुनेले ३४ प्रतिशतको नेता बन्ने रहर गर्न नहुने भनेपछि एकताको प्रयत्न रोकिएको छ। नेता खनालले पनि आफू निकट नेताहरुसँग एकताको सम्भावना सकिएको बताएका छन्।

    स्थानीय चुनावकै नियति

    सत्ता गठबन्धन, एमाले र एकीकृत समाजवादीको निर्णयले पनि ‘चमत्कार’ नभए वाम तालमेल र एकताको सम्भावना सकिएको छ। सिट बाँडफाँट गर्न गठित कार्यदलले मापदण्डमाथि सैद्धान्तिक छलफल शुरु गरिसकेको छ। एकीकृत समाजवादीले २५ साउनमा टिकट बितरणको योग्यता निर्धारण र घोषणापत्र मस्यौदा लेखन समिति गठन गरेको छ।

    सचिवालय बैठकबाट प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई घोषणापत्र मस्यौदा लेखनको जिम्मेवारी दिएको छ भने उम्मेदवारको मापदण्ड र विधि तय गर्न महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।

    यसको भोलिपल्टै, २६ साउनमा सचिवालय बोलाएर एमालेले पनि निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा लेखन समिति गठन गरेको छ। ‘प्रष्टै रुपमा एमाले एक्लै लड्ने हो। त्यसमै केन्द्रीत हुनुपर्छ’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्। वाम शक्तिहरु एकठाउँ उभिएर जानुपर्छ भन्ने कार्यकर्ताको चाहना भएपनि तत्काल सम्भावना नरहेको उनी बताउँछन्।

    अन्य दलहरुलाई जितेर गएको वर्ष मात्रै विभाजित एमाले र एकीकृत समाजवादीले चुनावबारे निर्णय गर्नुले पनि दुई पार्टीबीचको तिक्तता र प्रतिश्पर्धा बुझ्न सकिन्छ। यसले आगामी चुनावमा पनि स्थानीय चुनावकै नियति दोहोरिने (एमाले भर्सेस गठबन्धनको समीकरण) पक्का जस्तो छ। किनकि अहिलेको सत्ता गठबन्धन वा नयाँ समीकरण निर्माणमा एकीकृत समाजवादीको निर्णयले अर्थपूर्ण छ।

    ‘माधव नेपाल कमरेडले सोच्नुपर्ने हो, उहाँ त नेता हो। शीर्ष तहमा कुरा मिल्ने देखिएन’, उपाध्यक्ष शाक्य भन्छिन्। अझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनतिरै लाग्ने तयारीमा रहेकाले आगामी चुनावमा एमाले झनै एक्लिने देखिन्छ। गएको स्थानीय चुनावमा वीरगञ्ज महागनरपालिका सहित कपितय स्थानीय तहमा लोसपासँग एमालेले गठबन्धन गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal