News Portal

१० पटक वडाध्यक्ष निर्वाचित नरसिंह व्यञ्जनकार फेरि चुनावी मैदानमा

हिमालीसंचार संवाददाता
२९८ पटक

ललितपुर — टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष जितिसकेका उनले यसपालि पनि स्थानीय तह निर्वाचनमा वडाध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

‘प्रत्येक चुनावमा राजनीतिक दलहरूले टिकट लिन आग्रह गर्छन्, पार्टीबाट उठेपछि दोहोरो मार पर्छ,’ ललितपुर महानगरपालिका–१० का निवर्तमान वडाध्यक्ष व्यञ्जनकार भन्छन्, ‘वडाध्यक्ष भनेको जनताको सेवा गर्नु हो । पार्टीको टिकट लिएपछि जनताको मात्र सेवा गरेर पुग्दैन, नेताको पनि चाकरी गर्नुपर्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’ पार्टीबाट चुनाव जित्दा आफ्नो हक अधिकार नेताको स्वार्थमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

२०४९ मा कांग्रेसले टिकट दिँदा उनी निर्विरोध नै चुनिएका थिए । यतिका वर्षसम्म मतदाताले निरन्तर रुचाइरहनुमा उनी भ्रष्टाचार र जनताको काममा ढिलासुस्ती नगर्नुलाई प्रमुख कारण ठान्छन् । जनतालाई दिएको सुख सम्झेर भोट पाउने गरेको उनले सुनाए । 

‘वडा कार्यालय राजनीति गर्ने ठूलो होइन, जनताको सेवा गर्ने ठाउँ हो,’ ८१ वर्षीय व्यञ्जनकारले भने, ‘सामाजिक काम गर्ने धोको पूरा भएको छैन ।’

२०७४ को स्थानीय चुनावमा व्यञ्जनकारले प्रतिस्पर्धी कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराएका थिए । व्यञ्जनकारले ६ सय ९१ मत ल्याए भने कर्मलालले ५ सय ९४ र एमालेका कुलबहादुर आचार्यले १ सय ८७ मात्र पाए ।

व्यञ्जनकार पहिलो पटक २०२९ मा ललितपुर नगरपालिका–१ बाट वडाध्यक्ष बने । उक्त चुनावमा देवेन्द्रलाल अमात्यलाई उनले ४ सय २२ मतको अन्तरले हराएका थिए । चुनाव जितेपछि उनको ध्यान जनतालाई सेवा सुविधा दिनेमै केन्द्रित रह्यो । त्यसबाट उनलाई विश्वास जित्न सहज भयो । पञ्चायत कालमा गाउँ फर्क राष्ट्रिय अभियान लागू भएपछि २०३४ मा उनी नै वडाध्यक्ष छानिए । 

२०३६ मा जनमत संग्रहको घोषणा भएपछि राजीनामा दिएर बहुदल ल्याउन आन्दोलनमा होमिए । २०३९ मा भएको स्थानीय निकायको चुनावमा पुनः निर्विरोध भए । २०४० मा नगरपालिका भवन बनाउने विषयमा तत्कालीन प्रधानपञ्चसँग विवाद भएपछि उनले राजीनामा दिए ।

२०४१ मा भएको उपचुनाव र २०४३ मा पुनः निर्विरोध भए । पञ्चायत ढलेर प्रजातन्त्रको पुनर्बहाली भएपछि २०४९ सालको पहिलो स्थानीय चुनावमा उनलाई कांग्रेसले टिकट दियो । फेरि पनि उनका विरुद्ध उम्मेदवारी दिने आँट कसैले गरेन र निर्विरोध भए । २०५४ र २०७४ को स्थानीय निकायको चुनावमा पनि उनी स्वतन्त्र उम्मेदवारकै रूपमा निर्वाचित भए ।

व्यञ्जनकारको सरल र सहयोगी व्यवहारले उनलाई निर्वाचित गराउन सहयोग गरेको स्थानीय मतदाताहरूको बुझाइ छ । ‘निर्वाचित भएर गएकाहरू प्रायः हाकिमको व्यवहार गर्छन्, उनी भने जनताको नोकर बनेर काम गर्छन्, गरिबको उद्धार गर्छन्,’ कुपन्डोलका ७३ वर्षीया ज्ञानु विष्ट भन्छिन्, ‘मेरै छोरा प्रतिद्वन्द्वीमा उठे पनि भोट उनलाई नै दिन्छु ।’

वैशाख ३० को स्थानीय चुनावमा व्यञ्जनकारको प्रतिस्पर्धामा कांग्रेसबाट उनकै भतिज रवीन व्यञ्जनकार, माओवादी केन्द्रबाट रघु दुलाल र राप्रपाबाट वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन् । एमालेबाट भने उम्मेदवारी परेको छैन । ललितपुर महानगर–१० मा २ हजार ७ सय ६६ जना मतदाता छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...