आज : २०२६-०७-१०, शुक्रबार

ओलीको पछि लाग्दा नोक्सानी ब्यहोरेका ठाकुर पुगे बालुवाटार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका देउवासँग ठाकुरले भेट गरेका हुन्। भेटमा लोसपाका मागका विषयमा कुराकानी भएको बुझिएको छ।

ठाकुरले संयुक्त सरकार बन्ने बेला आफूहरूले मतदान गरेको प्रधानमन्त्री देउवालाई स्मरण गराएका छन्। उनले मधेश आन्दोलनका विभिन्न मागका विषयमा कुरा राखेका थिए। प्रधानमन्त्री देउवाले लोसपा मात्र नभई सबैका मागप्रति आफू सकारात्मक रहेको भन्दै सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन्।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निकट रहेका लोसपाका अध्यक्ष ठाकुर केन्द्रीय राजनीतिबाट छायाँमा परेका छन्। ओलीको पिछलग्गु बन्दा ठाकुरले पार्टी विभाजन गर्नु परेको थियो। एमालेका अध्यक्ष ओलीसँगको मायामोह ठाकुरले भुल्न सकेका छैनन्। पछिल्लो पटक राष्ट्रिय सभाको निर्वाचनमा पनि ठाकुरले एमालेसँग चुनावी गठबन्धन गरेका थिए।

तत्कालीन जनता समाजवादी पार्टी नेपाल गुमाएका ठाकुरले लोसपा गठन गरेका छन्। लोसपाभित्र पनि ठाकुर अल्पमतमा छन्। लोसपाका नेता राजेन्द्र महतोले अध्यक्ष ठाकुरलाई तनाब दिएका छन्।

मधेशमा किसान आन्दोलनका नाममा सीके राउतले उत्पात मच्चाएका छन्। ठाकुरको लोसपालाई मधेशमा तनाब भएकाबेला प्रधानमन्त्री देउवासँग भेट गरेर मागका कुरा उठाएका छन्।