News Portal

संस्थापनइतर आ–आफ्नै बाटोमा, पौडेलकै नेतृत्त्वमा एउटै टिम बनाउने प्रस्ताव अस्वीकार 

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्ष १४औं महाधिवेशनमा साझा उमेदवार चयन गर्न असफल भएको छ। बिहीबारसम्म साझा उमेदवार तय गरी आज बिहानै टिम घोषणा गरेर महाधिवेशनको उद्घाटनमा सहभागी हुने गरी नेताहरुले हिजो अबेर रातिसम्म गरेको प्रयास असफल भएको छ।

तर, अझै पनि एक रात बाँकी रहेकाले रातभरमा सहमति जुटाउने प्रयास नेताहरुले छोडेका छैनन्। १३औं महाधिवेशनमा प्राविधिक व्यवस्थापनमा चुकैकै कारण देउवामा नेतृत्त्व गएको भन्दै आएका संस्थापनइतरका नेताहरुले यसपटक साझा उमेदवार बनाएर देउवालाई नेतृत्त्वबाट विस्थापन गर्ने बताउँदै आएका थिए। तर, यसरी घोषणा गरेका नेताहरु आपसमा मिल्न नसक्दा साझा उमेदवार चयनको प्रयाससमेत असफल भएको छ।

संस्थापनइतरबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडमा छन्। उनीहरुमध्ये एउटै उमेदवार हुने सर्तमा आफूहरु पछि हट्न तयार भएको अभिव्यक्ति दिएर नेता पौडेल र शशांक तयार भए पनि प्रकाशमान र शेखरले अडान कायम राखेका छन्।

दुबैले अडान कायम राखेपछि अन्त्यमा वरिष्ठ नेता पौडेलकै नेतृत्वमा सबै मिलेर एउटै टिम बनाउने भन्दै नयाँ कसरत सुरु भएको थियो। बिहीबार साँझदेखि त्यो प्रयास भए पनि दिउँसै शेखरले भने पौडेल निवास बोहोराटार पुगेर आफ्ना नाममा सहमति गरेर एउटै उमेदवार तय गर्न असफल भए पौडेलको नेतृत्वमा टिम बनाउँदा आफूलाई स्वीकार्य हुने बताएका थिए।

साँझ शशांक निवास महाराजगञ्जमा बसेको बैठकले पौडेललाई नै साझा उमेदवार बनाएर एउटै टिम बनाउने निर्णय गरेका थियो। त्यो निर्णय सुनाउन प्रकाशमान निवास चाक्सीबारी पुग्दा सिंह अडानमा डेग चलेनन्।

“प्रकाशमानजी रामचन्द्रजीकै नेतृत्त्वमा जाउँभन्दा मान्नु भएन। उहाँ त सोझो मान्छे, मिलाएर कुरा पनि गर्नुभएन। म अघि बढेँ, म एक्लै भए पनि चुनाव लड्छु। अरु जो–जो लड्ने हो लड्नुहोस् भन्नुभयो,” पुरानामध्येका केन्द्रीय सदस्य बलबहादुर केसीले भने, “त्यसपछि शेखरजीकोमा गयौं। उहाँले म रामचन्द्रजीको नेतृत्त्वका लागि तयार छु। उहाँ मान्नु हुन्छ भने एउटै टिम बनाउँ भन्नुभयो।”

उनले कोइरालाले स्वीकार गरे पनि सिंहले कसैका कुरा नसुनी अडान कायम राखेको जानकारी दिए। केसीले प्रकाशमान सिंहले कसैको कुरा नसुनेको देख्दा अचम्मित भएको बताए पनि उमेदवारी दर्ता गर्न एकरात बाँकी रहेकाले आशा भने नमरेको बताए।

“अझै एकरात बाँकी नै छ। रात रह्यो भने अग्राख पलाउँछ भन्ने त उखान नै छ,” केसीले भने, “म अझै आशावादी छु। संस्थापनइतरको साझा उमेदवार र टिम बन्छ भनेर।” प्रकाशमान निकटहरुले भने पौडेल–कोइरालासँग तिक्त टिप्पणीहरु थालिसकेका छन्।

“मलाई नेता मान्छौ भने मान नत्र म राजनीति छोड्छु भन्नेको पनि नेतृत्त्व हुन्छ ?” प्रकाशमान सिंह नजिकका एक नेताले भने, “उहाँले तिमीहरु लड्छौ भने म पनि लड्छु, तिमीहरुको हैसियत देखाइदिन्छु भन्न सक्नुहुन्थ्यो। मैले भनेभन्दा बाहिर जान पाउँदैनौ भनेर कसैलाई घोषणा गर्न पनि सक्नुहुन्थ्यो।” ती प्रतिनिधिका अनुसार प्रकाशमानलाई नमान्ने कोइरालाको नेतृत्त्वमा पनि प्रकाशमानलाई स्वीकार्य नहुने बताए।

“अहिले प्रधानमन्त्रीको प्रस्ताव त भएको छ, भविश्ययमा उहाँले इमान्दारिपूर्वक संसदीय दलको नेता बनाउँनुहुन्छ भनेर पनि ढुक्क हुन सकिएन, फेरि उहाँलाई भावी प्रधानमन्त्री बन्नुस् भन्दा शेखरदाइले पनि स्वीकार गर्नुभएन,” ती नेताले भने, “यस्तै कुराले विश्वासको वातावरण बन्न सकेन। संस्थापन इतरबाट दुई उमेदवार हुने भए। दुबैले आ–आफ्नो हैसियत परीक्षण गर्ने भए।”

रामचन्द्र पौडेलको नेतृत्व प्रकाशमानले स्वीकार नगरेका कारण उनी बाहेकका अधिकांश नेता शेखरकै नेतृत्वमा टिम बनाएर देउवाविरुद्ध लड्ने तयारीमा जुटेको अर्का नेताको दाबी छ। तर, उनीहरु घोषणाका लागि भने अझै तयार भएका छैनन्।

शुक्रबार रातभर साझा उमेदवारका खोजी गरेर शनिबार मात्र उमेदवारी सार्वजनिक गर्ने र टिम पनि त्यतिबेला मात्र सार्वजनिक गर्ने उनीहरुको तयारी छ। अहिले जिल्ला सभापति र पूर्वसभापतिहरुले आफ्नो जिल्लामा प्रतिनिधिसँगको समन्वय गरिरहेका छन्। उनीहरुसँग केन्द्रीय सदस्यहरुले आवश्यक समन्वय गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...