News Portal

  • शशांकको केटाकेटीपन: पीएले नचाउने कांग्रेस महामन्त्री !

    हिमालीसंचार संवाददाता
    १६९ पटक

    उद्धव थापा, काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा डा.शेखर कोइरालाई सभापतिको उम्मेदवार बनाउन आफूले सघाउने संकेत महामन्त्री डा.शशांक कोइरालाले गरेको समाचार बुधवार बिहान कांग्रेस कार्यकर्तामाझ आगोजस्तै सल्केको थियो। कात्तिक २९ गते सर्लाहीको हरिवनमा शशांकले अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै शेखरलाई सघाउने संकेत गरेको भिडियो सार्वजनिक भएपछि कांग्रेस कार्यकर्तामा एउटा रौनक छायो।

    ‘रामचन्द्रजी उम्मेदवार बनिसक्नुभयो, प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन्, शेखरदा’ले मलाई कन्भिस गरिहाल्नुहुन्छ’ भनेर अगुवा कार्यकर्तामाझ सोमवार भाषण गरेका शशांकले मंगलवार शेखरसँग डिनर मिटिङ गरेका थिए। मंगलवार साँझ भएको सहमति बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी थियो।

    तर, बुधवार बिहान शशांक एकाएक बटारिए। अर्थात्, मंगलवार साँझ भएको सहमतिबाट शशांक भाग्न खोजे। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाउनुभएको भनेर शशांकले बुधवारका लागि पूर्वनिर्धारित पत्रकार सम्मेलन ८ गतेका लागि सारौं भनी आग्रह गरे। बुधवार भएको घटनाक्रमले कांग्रेसभित्र कम्पन ल्याइरहेको छ।

    शशांकले बुधवारको सट्टा पत्रकार सम्मेलन ८ गतेका लागि सार्न गरेको आग्रहलाई शेखर लगायत नेताहरूले त्यति गम्भीरताका साथ लिएका थिएनन्। केहीबेरमा कांग्रेस संखुवासभाका जिल्ला सभापति दीपक खड्काले शशांक संखुवासभा आउन लागेको र दुईदिन यतै बस्ने भनेर फेसबूकमार्फत सन्देश सार्वजनिक गरे।

    यो कुराले शेखरलगायत कांग्रेस संस्थापनइतरका नेतालाई झस्कायो। कांग्रेसका अन्य नेताहरू महाधिवेशनको चटारोमा लागिरहेको समयमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र पार्टीको कुनै औपचारिक कार्यक्रम नभएको संखुवासभामा शशांकको भ्रमणले कांग्रेस वृत्तमा हलचल पैदा गरिदियो।

    अन्य नेताहरू महाधिवेशनको समीकरण बनाउन रातदिन लागिरहेको समयमा फुर्सदिला शशांकको संखुवासभा भ्रमणलाई लिएर कांग्रेसभित्र अनेकन शंका–उपशंका व्यक्त भएका छन्।

    शशांकका पीए भरत जसले सहमति भाँड्न भूमिका खेले !

    कांग्रेस महामन्त्री कोइरालाका पीए भरत तिवारी जसले कोइराला परिवारका दुई हस्ती शेखर र शशांकबीच मंगलवार भएको भद्र सहमति सार्वजनिक नहुँदै ‘तुहाइदिए’ भन्ने चर्चा छ। कांग्रेस स्रोतका अनुसार शेखर र शशांकबीच मंगलवार भएको सहमति भाँड्नुमा शशांकका पीएको मुख्य भूमिका छ।

    शेखरसँग भएको सहमतिबारे बुधवार आफ्नै निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गर्ने भनेर शशांकले पीए तिवारीलाई पत्रकारलाई खबर गर्न निर्देशन दिए। तर, तिवारीले पत्रकारलाई खबर गरेनन्, उल्टै शेखरविरोधी खेमा र कांग्रेसको संस्थापन पक्षलाई यसबारे जानकारी गराए। कोइराला परिवारबाट एउटै सदस्य सभापतिमा उठ्दा महाधिवेशनमा ठूलो म्यासेज जाने भएकाले सकेसम्म यो सहमति भाँड्ने रणनीतिमा संस्थापन पक्ष लाग्ने नै भयो।

    सोही अनुसार बुधवारका लागि तय भएको पत्रकार सम्मेलन स्थगित गरेर शशांक संखुवासभा भ्रमणमा निस्के। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक नेताले महामन्त्री कोइरालाको संखुवासभा भ्रमण रहस्यमयी भएको टिप्पणी गरे।

    शशांकलाई हेलिकप्टरको व्यवस्था पीए भरत र हालसालै कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित दीपक खड्काले गरे। कांग्रेसको संस्थापनइतर समूहले शशांकलाई ‘अपहरण शैली’मा संखुवासभा लगिएको आरोप लगाएको छ। तर, स्वयं शशांकले संखुवासभामा पुगेर कांग्रेस सभापतिमा आफू बलियो उम्मेदवार भएको बताएका छन्।

    पूर्वी नवलपरासीमा रहेका पीए तिवारीले शशांकलाई संखुवासभा लैजाने कामको प्रबन्ध बाहिरबाट कसरी गरे ? के नेताहरू पीएको इशारामा चल्छन् ? आम मानिसहरूलाई लाग्ने जिज्ञासा हो। राजनीतिक दलका नेता र पीएको सम्बन्ध अत्यन्त अपारदर्शी हुने गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै डेड दशकमा स्वकीय सचिव फेरेका छन्।

    कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री बन्ने बेलामा स्वकिय सचिव फेरेका थिए भने एमालेका नेता झलनाथ खनालले पनि स्वकीय सचिव फेरेका थिए। नेताको पीए बनेका केही राजनीतिमा लागेका छन् भने कतिपय कमाउ धन्दामा लागेको आरोप लाग्ने गरेको छ।

    जे होस्, पीएले नेतालाई कसरी घुमाउँछन् भन्ने पछिल्लो उदाहरण शशांक बनेका छन्। शशांकलाई नचाइरहेका पीए तिवारीको बारेमा बुझ्न उनको राजनीतिक पृष्ठभूमि जान्नु जरुरी छ। शेरबहादुर देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेको समयमा तिवारी नवलपरासीमा तरुण दलको जिल्ला अध्यक्ष थिए।

    पछि कांग्रेस एकता भएपछि पनि तिवारीले तरुण दलको जिल्ला सभापतिको जिम्मा पाए। कुनै बेला कांग्रेस प्रजातान्त्रिकनिकट तरुण दलको अध्यक्ष रहेका तिवारी पछि शशांकको पीए बन्न पुगे। चुनाव लड्न शशांक नवलपुर पुग्नु र तिवारी उनको पीए बन्नुको पनि रोचक संयोग छ।

    हाल गण्डकीको मुख्यमन्त्री रहेका कृष्णचन्द्र नेपाली र पूर्व जिल्ला सभापति महेन्द्रध्वज जीसीमध्येको उम्मेदवार बन्ने भन्ने प्रतिस्पर्धाका कारण शशांकले नवलपरासीबाट चुनाव लड्ने स्थिति सिर्जना भयो। ‘बीपी कोइरालाको छोरालाई ल्याएर उठाउन सके चुनाव जित्न सकिन्छ,’ भन्ने निष्कर्षसहित शशांकलाई नवलपुर लगियो। शशांकलाई विजयी बनाउन भन्दै भरतलाई पीए बनाइयो। नवलपुरबाट शशांकले पछिल्ला तीनवटा चुनावमा जीत हात पारे।

    २०७३ असारमा गम्भीर बिमारी परेपछिका दिनमा शशांकले कार्यकर्तासँग खासै भेटघाट र दोहोरो कुराकानी गर्न छाडेको नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका एक नेताले बताए। ‘२०७३ सालमा गम्भीर बिमारी परेपछि महामन्त्री डमी र महामन्त्रीको काम पीएले गरेजस्तो देखिन्छ,’ ती केन्द्रीय सदस्यले भने।

    शशांकमाथि भरत कति हावी छन् भन्ने कुरा प्रतिनिधि सभा निर्वाचनअघि नेपाली कांग्रेसको समानुपातिक सांसदको सूची सार्वजनिक गर्न बसेको संसदीय बोर्ड बैठकमा देखिएको थियो। कर्मा घलेको नाम समानुपातिकको सूचीमा नपरेको भन्दै पीए तिवारीले बैठकस्थलबाट शशांकलाई तानेर बाहिर लगे।

    पछि भरतले अडान लिन दबाब दिएपछि शशांकले कर्मा घलेको नाम समानुपातिकको सूचीमा समावेश गरे। हाल भारतमा उपचार गराइरहेका कर्मालाई भेट्ने बहानामा भरतसहित शशांकले केही साता पहिला दिल्लीको भ्रमण गरेका थिए।

    शशांकको खस्किँदो साख !

    कांग्रेस संस्थापक बीपी कोइरालाको छोरा, पेशाले चिकित्सक र पार्टीको महामन्त्री भएपनि उनका कुनैपनि राजनीतिक कदम परिपक्व नहुने शशांकलाई नजिकबाट चिन्नेहरू बताउँछन्। पटक पटक निर्वाचित भएर आए पनि उनले संसद्मा चर्चा हुनेगरी एकपटक पनि बोल्न नसकेको आलोचकहरू बताउँछन्।

    बुधवारको घटनाले प्रकारान्तरमा शशांकलाई नै घाटा भएको कांग्रेसका एक केन्द्रीय सदस्यले टिप्पणी गरे। ‘उहाँ सभापतिका लागि भरोसा गर्न योग्य व्यक्ति होइन भनेर हिजो उहाँले प्रमाणित गरिसक्नुभयो। कांग्रेसजस्तो देशको नेतृत्वदायी पार्टीको सभापति दाबी गरेको व्यक्तिले यस्तो लफुङ्गो निर्णय गरेको देख्दा दुःख लागेको छ,’ ती नेताले भने।

    सभापतिका आकांक्षी प्रकाशमान सिंहबारे गरेको टिप्पणी पनि अशोभनीय भएको उनको भनाइ छ। ‘प्रकाशमान दाइ पनि निर्वाचित महामन्त्री भइसकेको व्यक्ति हो, शशांक पनि निर्वाचित महामन्त्री हो। बीपी कोइरालाको छोरो हुनुबाहेक उहाँमा कुनै राजनीतिक कल्चर देखिएन,’ ती सदस्यले भने।

    शशांकको अभिव्यक्तिलाई लिएर प्रकाशमानले चित्त दुखाएको अर्का एक नेताले बताए। ‘महाधिवेशनको विषयलाई लिएर पटक–पटक छलफलमा बसेका एक आकांक्षीप्रति उहाँले व्यक्त गरेको विचारले उहाँमा राजनीतिक संस्कारको पनि कमी देखियो,’ उनले भने।

    महाधिवेशनमा सभापतिमा उठ्ने बताएका शशांक, विमलेन्द्र निधि र प्रकाशमान सिंहले पटक पटक छलफल गर्दै आएका थिए। ‘प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन्,’ भन्ने अभिव्यक्तिसँगै प्रकाशमानसँग उनको फाटो आएको छ। सभापतिको दाबी गरेका उम्मेदवारलाई महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको सो टिप्पणी प्रति प्रकाशमानले असहज महशुस गरिरहेको निकटस्थहरू बताउँछन्।

    ‘सभापतिमा आफैँ उठ्ने, शेखर, प्रकाशमान या, विमलेन्द्रलाई समर्थन गर्ने उहाँको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तर एउटा सहमति गर्ने तर क्षणभरमा भाग्ने प्रवृत्तिले अहिले होइन भविष्यमा पनि उहाँले नेतृत्व गर्ने योग्यता गुमाउनुहुन्छ,’ कांग्रेसका ती केन्द्रीय सदस्यले भने।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal