News Portal

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

हिमालीसंचार संवाददाता
४३३ पटक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्। देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।

देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो। कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवाले आज बैठक राखेको सेतोपाटीलाई बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो।

विश्वासको मत नपाएपछि स्वत: प्रधानमन्त्री ओली पदमुक्त भएका छन्। ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्थ्यो। १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन्। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए।

ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए। ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धारा अनुसार दुई वा, दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।

यसैबीच जसपामा वैकल्पिक सरकार गठनबारे विवाद देखिएको छ। अध्यक्ष यादवले देउवाको नेतृत्वमा सरकार बनाउन चाहे पनि अर्का अध्यक्ष ठाकुर त्यो पक्षमा छैनन्। यसबारे गए राति विज्ञप्ति जारी गरेर ठाकुरले वैकल्पिक सरकार गठन गर्ने तथा सरकार निर्माण गर्ने उद्देश्य पार्टीको नरहेको र त्यसो गरिए मधेशी जनताको हितविपरीत हुने प्रष्टाएका छन्।

यस्तो अवस्थामा देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत (१३६) सांसद नपुग्ने देखिएको छ। तर एमाले नेता माधव नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा रहेका सांसदको आकार खुम्चिन सक्छ। त्यसले बहुमतको सरकार गठन हुन सक्ने सम्भावना देखाउँछ।

स्रोतका अनुसार देउवाले आजको बैठकमा नेता नेपाललाई पनि बोलाएका छन्। नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्। प्रतिनिधि सभामा कांग्रेसका दुई निलम्बितसहित ६३, माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाका पनि एक-एक जना सांसद छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...