News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • शंकर पोखरेलको नियति: “भुईको टिप्न खोज्दा पोल्टाको गुम्यो, ४१ बाट यसरी ३७ जनामा खुम्चिए”

    हिमालीसंचार संवाददाता
    ३०० पटक

    बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका शंकर पोखरेलले ‘भुईको टिप्न खोज्दा पोल्टाको गुमाएका छन्’ । माओवादी केन्द्रले दुई र जसपा नेपालले चार सांसदमाथि कारवाही गरेपछि ८१ जना सांसदमा सीमित रहेको लुम्बिनी प्रदेशसभामा आइतबार बिहानसम्म सत्तारुढ दल एमालेसँग ४१ जना सांसद थिए ।

    अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबार नै अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बस्ने तयारी भइरहँदा मुख्यमन्त्री पोखरेलले ४१ जना सांसदका बाबजुद अविश्वास प्रस्ताव फेस गर्न छाडेर एकल बहुमतको सरकार गठन गर्ने रणनीति अख्तियार गरेसंगै उनलाई बज्रपात परेको हो। 

    उक्त रणनीति अख्तियार गर्नुको मुख्य दुई उद्देश्य थियो–“अविश्वास प्रस्तावको औचित्य समाप्त पार्नु”। अर्को कारण भनेको यो प्रदेशसभाको कार्यकालभर अविश्वास प्रस्ताव आउने सम्भावनालाई टार्नु ।

    एकल बहुमतको सरकार गठन हुनासाथ अविश्वास प्रस्तावको औचित्य स्वतः अन्त्य हुने भएकाले पोखरेलले यो विकल्पलाई रोजेको प्रस्ट देखिन्छ। अर्कोतिर एकपटक मुख्यमन्त्री नियुक्त भइसकेपछि कम्तीमा दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन। त्यसैले मुख्यमन्त्री पोखरेलले यो प्रदेशसभाको कार्यकालभर अविश्वास प्रस्ताव आउने सम्भावनालाई टार्न पनि एकल बहुमतको सरकार गठनको दावी गर्न चाहेका थिए ।

    • विमला खत्रीको पत्र

    उप निर्वाचनमार्फत नेकपाबाट विजयी भएकी सांसद विमला खत्रीले लामो समयको अन्योलपछि आइतबार नै आफूलाई प्रस्ट कित्तामा उभ्याउँदै भनिन्– म नेकपा माओवादी केन्द्रलाई रोज्छु ।

    उनले यतिबेला आएर दल रोज्नुको कारण थियो– उनी कुन दलको सांसद भन्ने प्रस्ट नहुनु । जतिबेला उनी चुनाव लडिन्, त्यो बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) थियो, अर्थात्, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको दलबाट उनले उपनिर्वाचन जितेकी थिइन् । सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भइसक्दा विमलाले आफूलाई कुन दलमा सक्रिय तुल्याउने भन्नेबारे प्रस्ट पारिसकेकी थिइनन् ।

    मुख्यमन्त्री पोखरेलले सत्ता टिकाउन गरेका पछिल्ला अनेक प्रयास, जालझेललाई नियाली रहेकी उनले आइतबार ‘कित्ता क्लियर’ गर्दै आफू नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने जनाइन् । नेकपाको उम्मेदवारका रुपमा चुनाव जितेको तर अहिले सो पार्टी साविकका दुई दल अर्थात् एमाले र माओवादी केन्द्रमा पुनः फर्किसकेका कारण ती दुईमध्ये कुन दलमा रहने भन्ने निर्णय गर्नु स्वेच्छिक निर्णयको विषय भएकाले पनि यसले पोखरेललाई ठूलो धक्का लाग्यो ।

    परिणामतः प्रदेशसभामा एमालेले केही घण्टामै एक सिट गुमाएर ४० सांसदमा खुम्चियो । ‘हाइ भोल्टेज ड्रामा’ यहीँ अन्त्य भइसकेको थिएन, बरु बल्ल सुरु हुँदै थियो । उनले ४० जना सांसदको हस्ताक्षरसहित काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर शंकर पोखरेलसँग एकल बहुमतको आधारमा मुख्यमन्त्री बन्ने हैसियत नरहेको दावी गरिरहेका थिए ।

    तर केहीबेरमा प्रदेश प्रमुख यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त दिएको पत्र बाहिरियो । लगत्तै एमालेका सांसद दूग नारायण पाण्डेयले राजीनामा दिए । उनले जनतामा फेरि मत माग्न जाने नैतिकता नरहेको भन्दै मुख्यमन्त्रीका कार्यशैलीसँग असन्तुष्ट रहँदै राजीनामा दिएका हुन् ।

    उनको राजीनामापछि पोखरले झनै संकटमा परे । अब प्रदेशसभामा उनको साथमा ३९ जना सांसदमात्र बाँकी रहे भने विपक्षमा ४० जना सांसद यथावत् थिए । तर केही बेरमै सांसदद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि मुख्यमन्त्रीको साथ छाडे । उनीहरुले राजीनामा नदिइकन आफूलाई विपक्षी गठबन्धनमा सामेल गराएका हुन् । त्यसपछि प्रदेशसभामा एमालेको सांसद संख्या ३७ जना जना सांसदमा खुम्चियो भने विपक्षी गठबन्धनसँग ४२ जना सांसदको समर्थन पुगेको छ ।

    • कहाँ चुके शंकर पोखरेल ?

    गत वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव दर्ता गरे । प्रदेशसभामा ठूलो दल रहे पनि आवश्यक बहुमत संख्या जुटाउन नसकेका मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये जसपा नेपालका चार सांसदलाई आफूतिर तान्दै सोही दिन सरकारमा सामेल गरे ।

    उनको यो कदमले केही दिनका लागि संकट टरेजस्तो भए पनि अन्ततः जसपा नेपालले ती चारै सांसदलाई कारवाही गरेपछि मुख्यमन्त्री पोखरेल झन ठूलो संकटमा पुगे ।

    आइतबार बिहानसम्म ४१ जना सांसदसहितको अंक गणितका आधारमा केही बलियो देखिएका मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावलाई सदाका लागि टार्ने उद्देश्यले एकल बहुमतको सरकार गठन गर्ने निर्णय लिनु नै उनका लागि ठूलो दुर्भाग्य सावित भयो ।

    अन्ततः सरकार जोगाउन उनले नै यसअघि अपनाएका शैलीलाई अनुशरण गर्दै विपक्षी दलहरुले उनीसँग रहेका सांसदलाई आफ्नो पक्षमा पार्ने भित्री पहल जारी राखेका थिए । परिणामस्वरुप क्रमैसँग विपक्षी गठबन्धनले एकपछि अर्को चाल चलिरह्यो ।

    सुरुमा सांसद विमला खत्रीले आफू माओवादी केन्द्रमा प्रवेश गर्न चाहेको पत्र प्रदेशसभामा पठाइन् भने केही बेरमै एमालेकै एक सांसदको राजीनामा र अन्य दुई सांसदले एमालेप्रति आफ्नो समर्थन नरहेको जानकारी गराए । अन्य दलका सांसदलाई प्रलोभनमा पारेर आफ्नो पक्षमा बहुमत देखाउन अथक प्रयास गरेका पोखरेलले आफूसँग रहेका सांसदलाई जोगाउनतर्फ ध्यान नदिँदा यतिबेला प्रदेश सरकार संकटमा परेको छ ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...