अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकी प्रदेशको अधिवेशन अन्त्य

पोखरा – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभा सचिवालयमा पुगिसकेको छ। साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेशसभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए। अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन्।
आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो। चालु अधिवेशन अन्त्य भएपनि बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङलाई सजिलो भने छैन। गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो। ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो।

















