News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रधानमन्त्री केपी ओलीले अन्य नेताहरुको सुरक्षा घटाए, आफ्नो बढाए

    “प्रधानमन्त्रीको सुरक्षामा सैनिक मात्रै २ सय जना, राष्ट्रपतिको पनि बढाइयो”

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    काठमाडौँ – मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षा चाहिँ अस्वाभाविक तरिकाले बढाइएको छ ।

    विस २०७७ मंसीर ७ गतमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा सैनिक मात्रै २ सय जना खटिएका छन्। प्रधानमन्त्रीलाई नेपाली सेनाका अधिकारीले तीनवटा घेरा बनाएर सुरक्षा दिएका छन् । चौथो घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।

    नजिकको घेरामा पीएसओ (आर्मीका प्रमुख सेनानी) र अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको सुरक्षा टोली खटिएका छन् । सुरक्षाको भित्री र मध्य घेरामा पनि सैनिक रहेका छन् । बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

    प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका डीएसपी र दुई जना इन्सपेक्टरसहित ६२ जना प्रहरी खटाउने व्यवस्था कार्यविधिमा  उल्लेख छ । तर प्रधानमन्त्रीले सो कार्यविधिसमेत मिचेर १ सयभन्दा बढी प्रहरी कर्मचारीलाई आफ्नो सुरक्षामा प्रयोग गरिरहेका छन् ।

    सरकारले अति विशिष्ट स्तरको सुरक्षा लिएका प्रधानमन्त्रीको सुरक्षाको बाहिरी घेरामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालका अनुसार इन्स्पेक्टरको कमान्डमा सशस्त्रका ३५ देखि ४० जनाको टोली खटिएका हुन्छन् । राष्ट्रिय अनुसन्धान विभागका ५ जनाको टिम उनको सुरक्षामा परिचालन गरिएको छ ।

    कार्यविधिले तोकेअनुसार नै प्रधानन्त्रीको सुरक्षामा ३ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । तर फागुन १७ गतेमा पोखरामा आयोजित कार्यक्रममा प्रधानन्त्रीले आफूमाथि ‘शारीरिक हमला हुनसक्ने’ संकेत गरेका थिए । पोखरामा उनले भने–‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

    प्रधानमन्त्रीले ‘हमला हुनसक्ने’ भाषण गरेपछि आफू आश्चर्यमा परेका एकजना उच्च सुरक्षा अधिकारीले बताए । उनले भने–‘प्रधानमन्त्रीमाथि भौतिक आक्रमण हुनसक्ने सुरक्षा चुनौती अहिले देखिँदैन ।’

    कार्केडमा ७ वटा सवारी

    प्रधानमन्त्री अनौपचारिक रूपमा हिँड्दा सुरक्षा अधिकारीका ७ वटा सवारी साधनले सुरक्षा दिन्छन् । संशोधित कार्यविधिअनुसार प्रधानमन्त्री हिँड्दा सबैभन्दा अगाडि प्रहरीको वार्निङ मोटरसाइकल हुन्छ । प्रहरीको अगुवा जिप र विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको टिम सवार जिपभन्दा पछि प्रधानमन्त्री चढ्ने गाडी हुन्छ ।

    भीभीआईपीभन्दा पछाडि नेपाली सेनाको पछुवा गाडी र जगेडा सवारी हुन्छ । सशस्त्र प्रहरीको पछुवा गाडी हुन्छ । सबैभन्दा पछाडि नेपाल प्रहरीको मोटरसाइकल हुन्छ ।

    प्रधानमन्त्रीको औपचारिक भ्रमणमा सुरक्षाका लागि नेपाल प्रहरीको मोटरसाइकलसहित ११ वटा सवारी साधन परिचालन गरिन्छ । संशोधित कार्यविधिअनुसार भीभीआईपी सवार कारलाई मोटरसाइकलमा ४ जना आउट राइडर्सले कभर गर्छन् । भीभीआईपीको कारभन्दा अघि वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जिप र नेपली सेनाको अगुवा कार प्रयोग गरिन्छ ।

    भीभीआईपीको कार पछाडि नेपाली सेनाको पछुवा कार, जगेडा कार, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सवार कार, सशस्त्रका उपरीक्षक (एसपी) सवार कार, एम्बुलेन्स र प्रहरीको पछुवा मोटरसाइकल  परिचालन हुन्छ ।

    पूर्व पदाधिकारीको कटौती

    मन्त्रिपरिषद्को निर्णयले प्रधानमन्त्रीको सुरक्षा बढाएर पूर्वप्रधानमन्त्रीदेखि राजासम्मले पाउँदै आएको सुरक्षामा कटौती गरेको छ ।

    विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ अनुसार पूर्व–प्रधानमन्त्रीले  विशिष्ट स्तरको सुरक्षा पाउँछन् । उनीहरुका लागि सरकारले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका सुरक्षा अधिकारी आजीवन पाउने गरी कार्यविधि संशोधन गरेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या पनि कटौती गरिएको छ । ज्ञानेन्द्रले विशिष्ट स्तरको सुरक्षा पाउँछन् । उनलाई पूर्वप्रधानमन्त्री सरह १५ जना सशस्त्र प्रहरीसहित पछुवा गाडी र २ जना नेपाल प्रहरीको पीएसओ दिइएको छ । सो सुविधा उनले आजीवन पाउँछन् ।

    अवकाश भएपछि प्रहरी महानिरीक्षकले ४ वर्षसम्म चार जना प्रहरी कर्मचारी पाउँछन् । त्यसपछि, उनीहरुले आजीवन २ जना सुरक्षाकर्मी पाउँछन् ।

    राष्ट्रपतिलाई ३ सय ४ जना सुरक्षाकर्मी

    राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा नेपाली सेनाका २ सय ७५ सुरक्षाकर्मी खटिन्छन् । सशस्त्र प्रहरी बलका १० जना र नेपाल प्रहरीबाट १४ जना सुरक्षाकर्मी खटाउने गरी मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको छ ।

    राष्ट्रपति सहभागी हुने कार्यक्रम स्थल र समारोह स्थलको सूचना संकलन र विश्लेषणका लागि राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसहित ६ जना भीभीआईपीलाई अति विशिष्ट स्तरको सुरक्षा दिइएको छ । ‘क’ श्रेणीको त्यस्तो सुरक्षा पाउनेमा उप–राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।

    ‘क’ श्रेणीको सुरक्षा पाउने भीभीआईपीको नजिकको घेरा, भित्री घेरा र मध्य घेरामा नेपाली सेनाको टिमले सुरक्षा दिन्छन् । बाहिरी घेरामा अन्य सुरक्षा निकायका अधिकारी रहन्छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनको सुरक्षामा ७५ जना सैनिक खटाइएको छ । उनको सुरक्षामा सशस्त्र प्रहरी ५ जना, नेपाल प्रहरी ५ जना र राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिन्छन् । उपराष्ट्रपतिको कार्केडको अगुवा पछुवा गाडी नेपाली सेनाको हुन्छ ।

    प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा नेपाली सेनाका १५ जना सुरक्षा अधिकारी खटिन्छन् । नेपाल प्रहरी २ जना सुरक्षा अधिकारी खटिन्छन् । प्रधान न्यायाधीशको सुरक्षामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीलाई समावेश गरिएको छैन ।

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक खटिएका छन् । नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी उनको सुरक्षामा खटाइएको छैन ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरीका दुई जना पीएसओ खटिएका छन् । उनको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छैन ।

    गृहमन्त्रीको सुरक्षामा सेना !

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमान्ड गरिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षामा पनि सैनिक खटाइएको छ । मन्त्रीको हैसियतमा पाउने पीएसओसहित उनको सुरक्षामा १२ जना सैनिक खटाउने गरी सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।

    ‘बादल’को सुरक्षामा जुनियर अधिकृतको कमान्डमा पछुवा गाडीसहित ६ जना सशस्त्र प्रहरी र १० जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका छन् ।

    संशोधित कार्यविधिअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश प्रमुख, रक्षामन्त्री र गृहमन्त्रीसहित २० जनाले विशिष्ट स्तरको सुरक्षा पाउँछन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको अनुगमन र थ्रेट एनालाइसिस गर्न गृह सचिवको नेतृत्वमा  केन्द्रीय निर्देशक समिति गठन गरिएको छ । पूर्वपदाधिकारीको सुरक्षा थपघट गर्नुपरेमा सो समितिको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि थपघट गर्नेगरी मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...