जब जब
तर्कका तानहरू टुटेर
छिरोलिन थाल्दछन्— विचारका गुन्द्रीहरू
तब तब
भीरको डिलमा बसेर
मान्छेले बाट्न थाल्दोरहेछ— गालीका बट्न्यौटाहरू !
जीवनका सारा भरोसाहरू जलाउँदै
ठिक यतिखेर
एउटा चटके नाचिरहेछ— यो चिसो सहरमा !
वर्षौँवर्षदेखि नै
ऊ यही चटक देखाइरहेछ
र महाकालीको पानी सर्लक्कै तर्काएझैँ
चङ्गाचेट पारिरहेछ— करोडौं सपनाहरूको धागो !
यस्तो लाग्छ
चटके सबै कुरा गर्न सक्दछ !
जस्तो कि :
देशको नक्सा लुकाउनु
देशको संविधानमाथि ‘कू’ गर्नु
देशको नक्सा काटेर केक खानु
र देशको बरखी बारेर दिल्लीकी सोनु भेट्नु !
थाहा छ, बकावीर !
तिम्रा कलिला नानीहरू
उल्टो झुण्डिएर तुइन तरेको देखेपछि
पानीजहाजको किस्सा हानेर
ताली पड्काउन अध्यादेश जारी गर्ने
त्यो नकचरो शासक
ठिक यतिखेर
ऊ त्यही झण्डावाल गाडीभित्र मुस्कुराइरहेछ !
जब जब
मष्तिष्कको तलाऊ सुकेर
खडेरी उम्रिन्छ— संवेदनाको फाँटभरि
तब तब
विवेकको दियालो निभाएर
मान्छेले गाउन थाल्दोरहेछ— अँध्यारोका गीतहरू !
अङ्ग-अङ्गमा मात चढेपछि
उसले बिर्सिदोरहेछ— ती पुराना कथाहरू !
ओम्नीले मतायो
एमसिसिले मतायो
र ‘बा’ भन्नेहरूले पनि मताए !
आज ७ महिना ७ दिन
७ घण्टा र सातै पल भएछ
सिंहदरबारभित्र चटके नछिरेको पनि !
सायद
ऊ औधी डराउँछ— मापसे चेक जाँचसँग !
बहुलाउनु पनि यस्तो पो होस्
जस्तो कि :
हँसिया हथौडाको लवेदा बेरेर
एउटा मनोरोगीले मोनोरेलको कुरा गरोस् !
थाहा छ, मिनकुमार
तिम्रो खबटे निधार रसाएर
बनेको तलाऊमा
जासुसी डुङ्गा खियाउने त्यो लुटेरा माझी
यतिखेर
बयलगाढामा चढेर
ठोरी यात्रामा निस्किएको छ
र जङ्गलैभरि उफ्रिरहेछन्— रामभक्त हनुमानहरू !
जब जब
स्वार्थको दलदलमा डुबेर
सत्तामा उक्लिन्छन्— व्यवसायिक जुकाहरू
तब तब
कानूनको तोक लाएर
बिक्री गरिँदारहेछन्— आमाका अस्मिताहरू !
विश्वासका हिउँफूलहरू कुल्चिएर
भद्दा चुट्किला सुनाउँदै
सडकमा नाङ्गै हिँडिरहेछ— एउटा अघोरी शासक !
उखुका रसिला लाँक्रा छोडेर
मालिकले सरकार नै किनिदिएपछि
किसानहरू देखिरहेछन्
चिसो ओछ्यानमाथि समाजवादको मिठो सपना !
र नजिकै यतै कतै हुनसक्छ
किपट बक्स थापेर
सम्धी ढोग मनाइरहेछन्— एकहुल तस्करहरू !
चटक त यस्तो पो होस्
जस्तो कि :
फिक्का फिक्का बनून्
प्रोनोग्राफी साइटका सारा नग्नताहरू !
थाहा छ, खुसीराम !
हजारौं सहिदको तस्विर कुल्चिएर
एउटा रोगी तानाशाह
आज पिसाव फेरिरहेछ— गणतन्त्रको शिरबाट !
र जीवनको भीरमुनि बसेर
हामी भने हेरिरहेछौँ
चटकशालाभित्र जिन्दगीको सस्तो मजाक !
✍ प्रथा