खोपीबाट
कालो माकुरो निस्किएर
जसरी तिमीलाई कुल्चिँदै कुल्चिँदै हिँडेथ्यो
त्यसै गरी किन कुल्चिरहेछौ
तिमी धँगेरी फूलजस्ता कलिला नानीहरू ?
थाहा छ, सर्वजित !
तिम्रै पसिनाको डुङ्गामा चढेर
एक हूल मान्छेहरू
जिन्दगीको नदी वारपार गरिरहेछन् !
तर तिमीजस्तै एउटा देश
अझैसम्म पनि चिसो खुर्दलोटन डुबिरहेछ !
हेर त सर्वजित !
आफैँले मृत्युलाई निम्तो बाँडेर
श्रीपेचको शिरमाथि
तिमीले ठड्याएको लिङ्गो नुहाउँदै
किन यी धुन्दुकारीहरू
यतिखेर,
तिमीलाई नै रेट्ने धारको उचाइ नापिरहेछन् ?
र यो इन्द्रछल इतिहास चुसेर
अब कहिलेसम्म
पुर्ख्यौली भोक मेटाइरहन्छन्
मरूभूमिका ऊँटजस्ता कलिला विद्यार्थीहरू ?
भित्तामा झुन्डिएको
हजुरबाको श्यामश्वेत तस्बिरजस्तै
पुस्तौँदेखि निदाइरहेछन्
मनले सपना देख्ने हजारौं मनिरामहरू !
भर्खरै दाइँ सकेर
आहाल बसेका राँगाहरू उग्राएझैँ
एकोहोरो उग्राइरहेछन्
अनुवाद पर्खेर बसेका थकित बाबुलालहरू !
अहँ ! न त वारि छ
न त पारि छ— यो थकित डुङ्गा !
भारीले कुल्चिएर
मझधारमै रोकिएको छ— जिन्दगीको यात्रा !
चेतनाको जोडन हालेर
मस्तिष्कभित्र,
नेतीहरू सलबलाउन थालेपछि
सपनाहरू कोरल्दै
छमछमी नाच्न थाल्दारहेछन्
विद्रोही मदानीहरू क्रान्तिको परेड खेल्दै !
र नाकमा नत्थी लाएर
मदारीले पछिपछि डोर्याउँदोरहेछ
समयको लस्करलाई विचारको सप्तसिन्धुसम्म !
जहाँबाट उदाउँछ
कहिल्यै नअस्ताउने आस्थाको रातो घाम !
कुनै योद्धाले,
दाग्न बिर्सिएको आखिरी लञ्चर !
कुनै विश्वविजेताले,
ठड्याउन छुटाएको सीमान्त पतका !
कुनै प्रेमिकाले,
सम्झन नभ्याएको अधुरो सम्झना !
अथवा
कुनै भुनभुन चरीले
देख्न नसकेको अन्तिम थुँगा फूल !
तिमी नै हौ, सर्वजित !
तिमीभन्दा पर
अब कुनै क्षितिज बाँकी छैन— भरोसाको !
जीवनका सुरिला धुनहरू
कसले चुँडेर लग्यो
र सुसेल्दै हिँड्ने खहरेहरू
भोकभोकै निदाइरहेछन्— रित्तो बगरमाथि ?
भक्कानिँदै रोइरहेको पहाडजस्तै
आज किन रोइरहेछ— यो देशको मन पनि ?
पहाडको नीलो आँसु
विद्रोही नदी बनेर बग्दोरहेछ
तर आँखा रसाएर
झरेका ढिक्काहरू जमेपछि
पीडै–पीडाको अदृश्य तलाउ बन्दोरहेछ !
हो, सर्वजित !
सपना देख्ने करोडौँ आँखाहरू
यही तलाउमा डुबेर
गुमनाम हुन सक्छन्— सदासदाका लागि !
यसैले आऊ
र फेरि फुक आरनको काँचो आगो
त्यही आगोको रापले
तिमीजस्तै दुखी देशको आङ सेकाउनु छ !
✍ प्रथा