News Portal

  • युनुस ग्रुप सुन तस्करीमा, सिआइबी खोज्दै भारतीय कनेक्सन

    हिमाली संचार संवाददाता
    २७६ पटक

    २०७७ साउन २०, मंगलबार
    टपेन्द्र कार्की/काठमाडौँ – भारतीय नक्कली नोट तस्करी प्रकरणमा लागेको युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ।

    नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए।

    गत मंगलबार बिहान दरबारमार्ग प्रहरी वृत्तका प्रहरीले काठमाडौंको सुन्धाराबाट नक्कली सुनको पोका बरामद भएपछि युनुसले जेलबाट योजनाबद्ध रूपले सुन तस्करीमा आफ्ना सहयोगीलाई परिचालन गरेको खुलेको हो।

    उनीहरू सुरुसुरुमै रहेछन्, मुस्किलले दुईपटक भारततर्फ सुन तस्करी गरेको देखिन्छ। यसपटक पनि नक्कली सुन प्रहरीलाई देखाएर सक्कली सुन भारततर्फ लगेको भन्ने हाम्रो शंका छ। इल्ताफ हुसेन अझै फरार छन्। उनको खोजी भइरहेको छ,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘लकडाउनकै समयमा पनि विभिन्न नामबाट हुसेनले पटकपटक अन्सारीलाई जेलमा भेटेको देखिन्छ।

    भारतीय नक्कली नोटको कारोबारमा सजाय भोगिरहेका अन्सारीले हुसेनलाई सुन तस्करी गर्ने जिम्मा दिएको स्रोतको दाबी छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्सारी–हुसेन कनेक्सनबारे अनुसन्धान गरिरहेको छ।

    प्रहरीको विशेष ब्युरोले भारतीय व्यापारी र तस्करहरूसँग उनीहरूको सम्पर्क–सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ। ‘हामीले अन्सारी–हुसेन कनेक्सन देखिएपछि भारततर्फको नेटवर्कबारे हेरिरहेका छौं,’ सिआइबीका एक अधिकारीले भने, ‘इल्ताफ र सञ्जय भन्ने दुई व्यक्ति फरार भएका छन्। उनीहरूबारे हाम्रो ध्यान गएको छ।

    हुसेनले भारतीय नक्कली नोटको कारोबार गरेरै करोडौं मूल्यको घर, जग्गा र गाडी जोडेका थिए। प्रहरी स्रोतका अनुसार पाँच वर्षअगाडि उनले किनेको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी यसपटक नक्कली सुन बोक्न प्रयोग भएको थियो। प्रहरीले सो गाडी बरामद गरिसकेको छ।

    जेलमा रहेका अन्सारीसँग हुसेनको पारिवारिक सम्बन्ध रहेको देखिन्छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बनाएको अनुसन्धान समितिले पनि उनीहरूको सम्बन्ध पारिवारिक जस्तै रहेको निष्कर्ष निकालेको छ।

    ‘हुसेनलाई अन्सारीकी श्रीमतीले देवर बाबु भन्ने गरेको, बाराबाट आउँदा नखिपोटतिरै बस्ने गरेको तथा योजनाबद्ध ढंगले कोठा लिएको पाइयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘यसमा पुरापुर अन्सारीको साथ रहेको देखिन्छ।

    उनका अनुसार अहिले १० जनाको संलग्नता देखिएको र हुसेनले आफ्नो पुरानो टिमलाई प्रयोग गरिरहेको पनि आशंका छ। ‘पाकिस्तान आउजाउ गरिरहेका रहेछन्। चाँदीमा सुनको जलप लाउन पनि ५८ लाख खर्च गरेको देखिन्छ। चाँदीको बेग्लै पैसा छ।

    यति धेरै नक्कली सुन बनाउन मात्रै किन खर्च गरे ? उनी आफैं मात्रै यो प्रकरणमा संलग्न छैनन् भन्ने यसबाट पनि पुष्टि हुन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘उनले मात्रै यसमा तत्कालै यति धेरै पैसा निकाल्ने अवस्था देखिँदैन। बाराको घरजग्गा बेचेको पनि देखिँदैन।’

    उनका अनुसार पैसा अरूले नै व्यवस्थापन गरेको हुन सक्ने र उनले तस्करीको मात्रै व्यवस्थापन गरेको हुन सक्ने सम्भावना रहेको छ। भारतीय नक्कली नोटको कारोबारमा सजाय भोगिरहेका युनुस अन्सारीले इल्ताफ हुसेनलाई सुन तस्करी गर्ने जिम्मा दिएको स्रोतको दाबी छ।

    हुसेन नेपाल–भारत सीमा नाकामा हुर्केका र वीरगन्जबाट उनले सानैदेखि तस्करीको काम गरेका कारण अन्सारीले पटकपटक प्रयोग गर्दै आएका थिए। हुसेन वीरगन्ज बसेर पाकिस्तानबाट आएको नक्कली नोटलाई भारतीय तस्करसम्म सहजै पु¥याउन सक्ने अन्सारीका एक मात्र विश्वासपात्र हुन्।

    सुन तस्करीमा पनि उनले नेपाल–भारत सीमा क्षेत्रबाट सहजै भारतीय अधिकारीलाई दिन सक्ने भएकाले अन्सारीले प्रयोग गरेको प्रहरीको अनुमान छ।

    स्रोतका अनुसार नेपाल–भारत दुवैतिरका प्रहरी अधिकारीसँग उनको राम्रो सम्बन्ध बनाएका हुसेन नक्कली नोट करोबारीमा पक्राउ पर्नुअघि नेपाल प्रहरीलाई पनि सीमा नाकाको तस्करीबारे सुराकी दिने गरेका थिए।

    प्रहरीलाई सुराकी दिँदादिँदै उनलाई अन्सारीले उपयोगमा ल्याएको प्रहरीको दाबी छ। २०७२ जेठ ३० गते भारतीय नक्कली नोट कारोबारको अभियोगमा सातदोबाटोबाट पक्राउ परेपछि भने उनी पाँच वर्ष जेल बसेका थिए।

    ललितपुर जिल्ला अदालतले २०६७ जेठ २६ मा दोषी ठहर गर्दै हुसेनलाई तीन वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरेको थियो। फैसलाको पाँच वर्षपछि पक्राउ परेका उनी कैद भुक्तान गरी छुटेपछि कारोबारलाई परिवर्तन गरेको प्रहरीको दाबी छ।

    दरबारमार्ग प्रहरी वृत्तले मंगलबार नक्कली सुन बरामद गरेपछि अन्सारी र हुसेन एकाएक चर्चामा आएका छन्। अन्सारी अहिले भारतीय नक्कली नोट प्ररकणमा केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका छन्।

    जेलबाट निस्कँदा सुरक्षा थ्रेट हुने अवस्था आएपछि कुनै न कुनै बहानामा अन्सारी जेलमै बसिरहन चाहने भएकाले पनि आफ्ना समूहलाई तस्करीमा सहभागी गराउन चाहेको प्रहरीको दाबी छ।

    उनी जेलमै रहेका बेला २०६८ सालमा भारतीय सार्प सुटर मनमित भाटियाले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए। २०७४ फागुनमा रिहा भएका उनी पछिल्लो समय आफूलाई सुरक्षित महसुस गरिरहेकै बेला गत २०७६ जेठ १० गते ७ करोडभन्दा बढी नक्कली भारतीय नोट लिन युनुस आफैं त्रिभुवन विमानस्थल पुगेपछि पक्राउ परेका थिए।

    भारतीय जाली नोट तस्करीमा उनको संलग्नताले गर्दा भारतीय अन्डरवल्र्डका डन र भातरीय गुप्तचर संस्था ‘रअ’ को थ्रेटमा युनुस लगातार परिरहेका अवस्थामा उनले आफ्नो कारोबारलाई सुन तस्करीमा मोडेको प्रहरीको भनाइ छ।

    भारतीय मिडियाले भने युनुसलाई अन्डरवल्र्ड डन दाउन इब्राहिमको ‘नजिकको मान्छे’ भनेर चिनाएका छन्। युनुसले दाउद र पाकिस्तानी एजेन्सी आइएसआईका लागि काम गर्ने भारतीय सञ्चारमाध्यमको दाबी छ।

    प्रहरीले गत मंगलबार बरामद गरेको नक्कली सुनमा अन्सारी हुसेन संलग्नता देखिएपछि प्रहरीको एउटा टोली केन्द्रीय कारागार पुगेर उनको बयान लिइसकेको छ। बयानका क्रममा हुसेन र उनको सम्बन्ध पुरानो भएको स्वीकार गरेको भए पनि अन्य विषयबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

    महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनुसन्धानको पाटो अन्य निकायको भएकाले आफ्नो ध्यान त्यता नगएको बताए।

    ‘आरोपितहरू पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट अनुसन्धान समितिले बयान लिने काम गरिरहेको छ,’ एसएसपी ज्ञवालीले भने, ‘हुसेन अन्सारीको संगतबारे हाम्रो युनिटले अनुसन्धान गरेको छैन। त्यो पाटो अन्य निकायले हेरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal