आज : २०२६-०७-२९, बुधबार

सुनसरी घटनाबारे रास्वपाको सर्वदलीय बैठक, प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

काठमाडौं। सुनसरी घटनापछि उत्पन्न भएको तनावपूर्ण अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षाको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। तर, सरकारका तर्फबाट नेतृत्वकर्ता प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ बैठकमा सहभागी नभएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन्।

सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि सरकारको भूमिकामाथि व्यापक आलोचना भइरहेको छ। घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शनसमेत भइरहेका छन्। यस्तै संवेदनशील अवस्थाबारे राजनीतिक सहमति र साझा धारणा बनाउन बैठक आयोजना गरिए पनि सरकारका मुख्य जिम्मेवार मन्त्रीहरूको अनुपस्थितिले चासो थप बढाएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव, शान्ति–सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक दलहरूबाट संयुक्त सन्देश दिन आवश्यक ठानेर सर्वदलीय छलफल आयोजना गरिएको हो।

उनले प्रशासनिक रूपमा शान्ति–सुरक्षा कायम गर्ने प्रयास जारी रहे पनि राजनीतिक तहबाट पनि सामूहिक अपिल र जिम्मेवार सन्देश आवश्यक रहेको बताए। बैठकबाट घटनाबारे साझा धारणा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।