News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालीको प्रमुख गन्तव्य मुलुकमा लकडाउनदेखि उडान स्थगितसम्म 

    अरिष्मा मोक्तान
    ३१० पटक

    काठमाडौं ०८, २०७६ चैत : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमण बढेसँगै नेपालीको प्रमुख गन्तव्य मलेसियालगायत खाडी मुलुकले आवतजावतमा प्रतिबन्ध लगाएका छन्। प्रतिबन्ध लगाएसँगै नेपाली रोजगारी प्रभावित बनेको छ। ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र भित्र्याउने क्षेत्र वैदेशिक रोजगारीको प्रतिबन्धले अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अर्थविद्हरूको भनाइ छ।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपाली जान नपाइने भन्दै चिन्तित बनेका छन्। बिदामा आएका नेपाली पनि जान पाउने वा नपाउने भन्ने अन्योलमा छन्।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार लगभग सात हजार (नयाँ तथा पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति) लिई वैदेशिक रोजगारीमा जान तयार भएका नेपालीको रोजगारीमा निकै ठूलो प्रभाव परेको छ। हाल वैदेशिक रोजगारीबाट फर्कने कामदारलाई पनि नेपाल सरकारले चैत मसान्तसम्म रोक लगाएको छ।

    नेपालद्वारा दक्षिण कोरिया जान रोक  

    युवाहरूको आकर्षक गन्तव्य दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारीमा जान तयार भएका श्रमिकको उडानमा नेपालले रोक लगाएको छ। ४० हजार नेपाली कामदार रहेको कोरियामा संक्रमण बढ्दै गएपछि नेपालबाट जान तयार भएका श्रमिकको उडानमा रोक लगाइएको हो।

    त्यस्तै, कोरिया सरकारले पनि उच्च सतर्कता अपनाउँदै त्यहाँका नागरिक र नेपालीलाई बाहिर ननिस्कन निर्देशन दिएको छ। हालसम्म कोरियामा कोरोनाका कारण ९४ जनाको मृत्यु भएको छ भने आठ हजार ६ सय ६२ जना संक्रमित भएका छन्।

    मलेसिया ‘लकडाउन’

    नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा त्यहाँको सरकारले १९ देखि ३१ मार्चसम्म लकडाउन गर्ने निर्णय गरेको छ। मलेसियाले लकडाउन अवधिभर देशबाहिर जान प्रतिबन्ध लगाएको छ।

    मलेसियास्थित नेपाली दूतावासले पनि उक्त अवधिभर कन्सुलर सेवाअन्तर्गत राहदानी नवीकरण, यात्रा अनुमतिपत्र तथा माग प्रमाणीकरण आदि सेवाहरू स्थगित गरेको छ। दूतावासले ४ चैतमा सूचना जारी गर्दै कामदार मागपत्र प्रमाणीकरणसम्बन्धी कार्यहरू अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको जनाएको छ।

    साथै, चार लाखभन्दा बढी नेपाली कामदार रहेको मलेसियाले संक्रमण नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले १८ देखि ३१ मार्चसम्म आवागमन नियन्त्रण आदेश लागू गरेको छ। मलेसियामा अहिलेसम्ममा कोरोनाको कारण दुईजनाको मृत्यु भइसकेको छ भने नौ सयजना संक्रमित भएका छन्।

    युएईमा आगमन निषेध 

    युएई सरकारले आवासीय भिसा भएका व्यक्ति आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युएई सरकारका फेडरल अथोरिटी फर आइडेन्टी एन्ड सिटिजनसिपको सूचना अनुरूप आवासीय भिसा भएका व्यक्तिका लागि १९ मार्चदेखि दुई हप्ताका लागि आगमन निषेध गरेको छ।

    हाल दुई लाख ५० हजार नेपाली युएईमा कार्यरत छन्। त्यस्तै, युएईस्थित नेपाली राजदूतावासले कम्पनीको भिसा रद्द गर्ने, आवास छोड्ने, बिदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यलाई युएई ल्याउनेलगायतका कार्य तत्कालका लागि नगर्न आग्रह गरेको छ।

    त्यस्तै २ चैतमा दूतावासले एक सूचना जारी गर्दै दूतावासबाट हुने सम्पूर्ण कार्य स्थगित भएको जानकारी दिएको छ। यसैगरी मागपत्र प्रमाणीकरणसम्बन्धी सम्पूर्ण कार्य ४ चैतदेखि अर्को सूचना जारी नभएसम्म स्थगित रहेको जनाएको छ।

    साथै, अत्यावश्यक सेवाहरू (ट्राभल डकुमेन्ट बनाउने, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेलगायत) स्थगित भएको जनाएको छ। कोरोनाका कारण युएईमा हालसम्म एक सय ४० जना संक्रमित भएका छन् भने ३१ जना स्वास्थ्यलाभ गरेर घर फर्केका छन्।

    कुवेतमा सम्पूर्ण सरकारी कार्यालय बन्द 

    कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिएपछि कुवेत सरकारले गत २९ फागुनबाट दुई हप्ताका लागि सम्पूर्ण सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ। साथै, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण व्यावसायिक उडान पनि बन्द गरिएका छन्।

    त्यसैगरी, कुवेतस्थित नेपाली दूतावासले गत ३० फागुनमा सूचना जारी गर्दै दूतावासबाट हुने सम्पूर्ण काम स्थगन गरेको जनाएको छ। कुवेतमा हाल ७० हजार नेपाली रहेको त्यहाँको दूतावासले जनाएको छ। त्यस्तै, कुवेतमा कोरोना भाइरसले एक सय ४८ जना संक्रमित भएका छन्।

    साउदी अरेबियामा दुई हप्ता उडान स्थगित 

    साउदी अरबले कोरोना नियन्त्रणका लागि सम्पूर्ण उडान स्थगित गरेको छ। हवाई सेवा स्थगित गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेका लागि दुई साताको विशेष बिदा दिइएको त्यहाँको सरकारले जनाएको छ।

    हाल साउदी अरेबियामा तीन लाख ५० हजार नेपाली कामदार कार्यरत छन्। कोरोनाको बढ्दो संक्रमणसँगै साउदी अरेबियास्थित नेपाली दूतावासले १ चैतमा सूचना जारी गर्दै दूतावासबाट हुने सम्पूर्ण कार्य स्थगित गरिएकोे जनाएको छ।

    साथै, घरेलु कामदारका लागि जारी हुने श्रम स्वीकृति सिफारिसमा पनि रोक लगाएको छ। साउदी अरेबियामा हालसम्म दुई सय ७४ जना संक्रमित भएका छन् ।

    कतारमा क्वारेन्टाइनको व्यवस्था 

    कतार सरकारले उच्च सतर्कता अपनाउँदै नेपाललगायत अन्य १४ वटा देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। प्रवेशमा रोक लगाएसँगै ३५ देखि ४० हजार कामदारको भिसा रद्द भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। त्यस्तै, कतार सरकारले कोरोना भाइरस फैलन नदिन झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनको व्यवस्था गरेको छ।

    कतारको सबैभन्दा बढी जोखिम क्षेत्रमा रहेका चारवटा कम्पनीमा कार्यरत कामदारलाई क्वारेन्टाइनको व्यवस्था गरेको हो। जसमा सोही कम्पनीमा कार्यरत दुई हजार नेपाली रहेका छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोवास स्थल सनैयामा रहेका औद्योगिक क्षेत्रलाई क्वारेनटाइन बनाएको कतारी सञ्चारमाध्यमले जनाएका छन्।

    हाल कतारमा तीन लाख ५१ हजार नेपाली कामदार रहेको त्यहाँको दूतावासले जनाएको छ। साथै, कतारस्थित नेपाली दूतावासले गर्ने सम्पूर्ण काम पनि स्थगित गरेको छ। हालसम्म कतारमा कोरोना भाइरसबाट चार सय ६० जना संक्रमित भएका छन्।

    बहराइनमा क्वारेन्टाइनमा राखिएका नेपाली संक्रमित नभएको पुष्टि

    बहराइनमा कार्यरत तीनजना नेपालीलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुमा परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

    त्यहाँको द सिभिल एभिएसन अफेयरले बहराइन आउने उडान १८ मार्चबाट कटौती गर्ने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने जनाएको छ। साथै, दूतावासबाट हुने सम्पूर्ण काम मार्च १८ बाट नै अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ।

    कूटनीतिक पासपोर्टबाहकको हकमा भने सो कुरा लागू हुनेछैन। सो सूचना जारी हुनुअघि जारी भिसाबाहकलाई आगमनमा रोक लगाइएको छैन। इलेक्ट्रिक भिसालगायत अन्य भिसा सेवा सार्वसाधारणका लागि खुला रहेका छन्।

    हाल बहराइनमा २५ हजार कामदार रहेको त्यहाँको दूतावासले जनाएको छ। त्यस्तै, कोरोना भाइरसबाट एकजना ६५ वर्षीय बहराइनी नागरिकको मृत्यु भएको छ भने दुई सय ७९ जना संक्रमित भएका छन्।

    स्वदेशमै रोजगारी दिने सरकारको निर्णय

    वैदेशिक रोजगार विभागले गत फागुन २९ गतेदेखि पूर्ण श्रम स्वीकृति दिन बन्द गरेको थियो। त्यस दिनसम्म २६ देखि २९ सयको हाराहारीमा श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

    उनले भने, ‘२७ र २८ गतेसम्म २६ देखि २९ सय नेपालीले श्रम स्वीकृति लिएको तथ्यांक छ, तर कति बिदेसिए, कति नेपालमै छन् भन्ने विभागसँग तथ्यांक छैन। त्यस्तै, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेका अनुसार संघले वैदेशिक रोजगारीमा पठाउनेभन्दा पनि नेपाली कामदारलाई कसरी सचेत गराउने, कसरी रोकथाम गर्ने भन्ने विषयमा ध्यान केन्द्रित रहेको बताए।

    उनले भने, ‘हामीले वैदेशिक रोजगारीको विषयमा श्रम मन्त्रालय, विभाग, व्यवसायी संघ, वैदेशिक रोजगार बोर्ड सचिवालयलगायत अन्य सम्बन्धित संस्थाहरूको संयोजकत्वमा समिति गठन गर्दै छौँ। साथै, नेपाली कामदारलाई के गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गर्ने अध्यक्ष गैरेले बताए।

    सरकारले भने वैदेशिक रोजगारीको विषयमा आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदशिक रोजगारीमा जान नपाएका कामदारलाई नेपालमै रोजगारी दिने विषयमा छलफल भइरहेको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...