News Portal

हाइटीमा नेपाली सेनाले हैजा नफैलाएको पुष्टि गर्ने : डाक्टर शेरबहादुर पुन

हिमाली संचार संवाददाता
६४८ पटक

६ भदौ, काठमाडौं – शान्तिस्थापनार्थ क्यारेबियन मुलुक हाइटी पुगेको नेपाली सेनालाई देश छाड्न माग गर्दै स्थानीयवासीले ०६७ कार्तिकमा मिराबलै क्षेत्रस्थित संयुक्त राष्ट्र संघीय आधार क्षेत्रमा प्रदर्शन गरे । नेपाली सेनाको कारणले फैलिएको हैजाले १० हजार ७५ जनाको ज्यान गएको भन्दै त्यहाँका स्थानीयवासीले क्याम्पसम्मै आएर विरोध गरेका थिए । यही कारणले हाइटीबाट नेपाली सेनाको शान्ति मिसन नै कटौतीमा पनि पर्‍यो ।

‘शान्ति सेनामा सहभागी नेपाली सेनाका सबै व्यक्तिहरुको पूर्णरुपमा स्वास्थ्य परीक्षण हुने र अवस्थालाई सहभागी नगराइने नीति रहेको छ’ भनेर सेनाले त्यतिबेला जारी गरेको विज्ञप्तिलाई कसैले विश्वास गरिरहेको थिए । एक लाखभन्दा बढीको ज्यान लिएको भूकम्पसँग जुधिरहेको हाइटीमा हैजा फैलाएको आरोप लागेपछि सेना मात्रै होइन, सिंगो नेपालकै संसारभरि बदनाम भइरहेको समय थियो, त्यो ।

भुसको आगोजसरी फैलिरहेको यो समाचारले शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुनलाई निदाउन दिइरहेको थिएन । एकजना फ्रान्सेली वैज्ञानिकले हाइटीमा फैलिएको हैजाको जिवाणु र नेपालमा भेटिएको हैजाको जिवाणुमा समानता देखिएको भनी रिपोर्ट दिएपछि नेपाली सेनामाथि यस्तो आरोप लागेको थियो ।

झण्डै दुई सय वर्ष फ्रान्सको उपनिवेशअन्तरगत रहेका हाइटीवासीलाई फ्रान्सेली वैज्ञानिकको भनाइ आधारहीन हो भनेर विश्वास दिलाउन सजिलो थिएन । यो विषयले डा. पुनलाई यति चिन्तित तुल्यायो कि ललितपुर, भनिमण्डलस्थित निवास र टेकु अस्पतालमा ओहोरदोहोर गरिरहँदा मात्रै होइन, रातिसमेत उनी चैयनसँग सुत्न सक्दैनथे ।

कार्तिकको जाडोको प्रवाह नगरी ०६७ को एक रात उनी राष्ट्रिय सेनामाथिको त्यही आरोपको विषयमा घोत्लिइरहेका थिए । घरको भर्‍याङमा थुचुक्क बसेर हातमा कलम घुमाएको घण्टौं बितिसक्दा पनि कुनै उपाय सुल्भिmरहेको थिएन । राति दुई बजेतिर उनको दिमागमा केही ‘आईडिया’ फुर्‍यो । तत्काललै ल्यापटप अन गरेर टाइप गर्न बसे । ‘टाइप गरेर सक्दा बिहानको तीन बजिसकेको रहेछ’, डा. पुन सम्झन्छन् ।

नेपाली सेनाले हैजा फैलाएको विषयलाई प्रतिवाद गरिएको पत्र उनले अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) ले प्रकाशन जर्नलमा पठाए । त्यसैगरी उनले अमेरिकी सोसाईटी फर माइक्रो बायलोजीमा पनि पत्र पठाए ।

डा. पुनको तर्कले अन्तराष्ट्रिय क्षेत्रमा एक किसिमको हलचल नै ल्यायो । यसले सेनाको मनोबल केही उकासियो । नेपाल सरकार लगायत सेनाको पक्षमा कोही पनि नबोलिरहेका बेला पुनको व्यक्तिगत प्रयास सेनाका लागि सञ्जीवनी बुटीजस्तो भइरहेको थियो ।

नेपालको पक्षमा सकारात्मक माहोल बनिरहेका बेला हार्वड विश्वविद्यालयका एक प्राध्यापकले यही विषयमा एउटा अनुसन्धान सार्वजनिक गरे । जसमा ठ्याक्कै कुन देश भन्ने उल्लेख नभए पनि सन् २००९-२०१० मा शान्ति सेनामा खटिएको दक्षिण एसियाली मुलुकबाटै हैजा जीवाणु भित्रिएको उल्लेख थियो । यसले डा. पुनको मिहिनेतमा पानी खन्याइदियो ।

तर, कहिल्यै हार नमान्ने स्वभावका उनी हावर्डका प्राध्यापकको अनुसन्धानलाई कसरी प्रतिवाद गर्न सकिन्छ भन्नेतिर लागे । त्यही क्रममा नेपाली सेनाका उच्च अधिकारीले पनि उनीसँग सहयोग माग्न आए । सीडीसीमा पठाइएको पत्र ती अधिकारीलाई इमेल गरिदिए । तर, पनि सेेनाले प्राज्ञिक तर्कसहित जवाफ दिन पनि सकेन ।

हाइटीमा नेपाली सेनामाथिको आरोप फेरि दोहोरिन थाल्यो । यहीबेला डा. पुनले अर्को पत्र पठाए । जसमा उनले हाइटीमा दक्षिण एसियाबाट नेपालमात्र नभएर बंगालदेश, भारत लगायतबाट पनि शान्ति सेनामा गएको उल्लेख गर्दै नेपाल वाहेकको देशको जीवाणुले हैजा फैलिएको होइन भन्ने आधार के हो भन्ने प्रश्न उठाए । नेपाल बाहेकका देशको जीवाणु परीक्षण नगरी नेपाललाई कसरी आरोपित गर्न पाइन्छ ? भन्ने प्रश्न पुनले उठाए ।

हाइटीमा हैजा फैलिनुभन्दा १० महिना पहिला ०६७ पुसमा त्यहाँ ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार गर्न पनि नेपाली सेनाको टोली त्यहाँ खटिएको थियो । ‘नेपाली सेनाले नै हैजाको जीवाणु फैलाएको मान्ने हो भने त्यतिबेला किन त्यहाँ हैजा फैलिएन’ भन्ने तर्क उनले पेश गरे ।

डा. पुनले राष्ट्रिय सेनालाई बचाउ गर्दै अघि सारेको तर्क विभिन्न जर्नलमा प्रकाशित भए । त्यो तर्क मेडिकल क्षेत्रमा बहसको विषय पनि बन्यो । उनी भन्छन्, ‘मैले उठाएको प्रश्नको जवाफ अझै पनि कसैले दिन सकेको छैन ।’

त्यसपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले राष्ट्रसंघको विशेष महासभामा पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा हाइटीको हैजाको जिम्मेवारी लिन बाध्य भए । डा. पुनको त्यो तर्कले नेपाली सेनामाथि लागेको आरोपको खण्डन मात्रै गरेन, विश्वका चर्चित अनुसन्धानकर्तालाई चुनौति दिनसक्ने नेपाली पनि छन् भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा पुग्यो । डा. पुन सम्झन्छन्- ‘त्यतिबेला हाइटीमा हैजा फैलिनुमा नेपालको दोष छैन भनेर लगातार प्रतिवाद गर्ने सम्भवतः म एक्लै थिए’, उनी भन्छन् ।

राम्रो गर्न खोज्दा नराम्रो

जापानमा अध्ययन गरेर फर्केका डा. पुनले सन् २००२ देखि शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा मेडिकल अफिसरका रुपमा काम शुरु गरे । सरुवा रोगसँग सम्बन्धित देशभरिका बिरामी आउने अस्पतालमा अनुसन्धान गर्ने निकाय चाहिन्छ भन्नेमा उनी पुगे ।

तर, रिर्सच युनिट सञ्चालनका लागि स्रोत साधन थिएन । केही गरौं न त भन्दा सहकर्मीहरुले सर्पोट गर्नुको साटो ‘गर्न सक्दैनौं’ भनेर निरुत्साहित गर्न खोज्थे । ‘त्यसपछि मैले हुँदैन र सकिदैन’ भन्ने कुरा सुन्न छोडे’, डा. पुन भन्छन्, ‘फुर्सदका बेलामा म संगीत पनि निराशाजनक सुन्दै सुन्दिनँ ।’

निरन्तरको प्रयासपछि उनी रिसर्च युनिट खोल्ने अनुमति लिन सफल भए । युनिट खुलेको तीन महिनामै दिसाको कल्चर टेस्ट गर्ने योजना बन्यो । नभन्दै उनको टीम पहिलो पटक दिशाको कल्चर परीक्षणमा सफल भयो ।

यो सफलताबाट हौसिएर उनीहरूले ‘भिवि्रयो कलेरा’को परीक्षण शुरु गरे । यो परीक्षणबाट उनीहरु हैजाको जीवाणुबारे विस्तृत जानकारी बाहिर ल्याउन सफल भए । यो विषयमा नेपालको अंग्रेजी दैनिकमा एउटा लेख प्रकाशित भयो ।

दुर्भाग्य, त्यो हाइटीमा हैजाको महामारी फैलिएको समय थियो । त्यही लेख पढेका आधारमा फ्रेन्च वैज्ञानिकले हाइटीमा हैजा फैलिनुमा नेपाली सेनालाई दोषी ठहर गरेका रहेछन् । कान नछामी कागको पछि दगुर्ने सञ्चार माध्यमले सत्यतथ्य नखोजी नेपाललाई बदनाम गराउने सामग्री निरन्तर प्रकाशन/प्रसारण गरिरह्यो । ‘त्यसबेला मैले भिब्रिरो कलेराको अनुसन्धान नगरेको भए नेपालले त्यस्तो आक्षेप खेप्नु पर्दैनथ्यो कि जस्तो पनि लाग्यो’, उनी भन्छन् ।

अनुसन्धानमा जोड

सरुवा रोगको क्षेत्रमा डा.शेरबहादुर पुन नेपालमा मात्रै होइन, अन्तराष्ट्रियस्तरमै परिचित नाम हो । हाइटीमा फैलिएको हैजाबारे गरेको प्रतिवादले गर्दा मात्रै होइन, नेपालमा देखिएका संक्रामक रोगको सूक्ष्म अध्ययनले उनलाई यो स्थानमा पुर्‍याएको हो ।

नेपालमा फैलिएका सरुवा रोग मात्रै होइन, भविष्यमा फैलिन सक्ने रोगबारेमा जति संवेदनशील छन्, त्यसबारे अध्ययन अनुसन्धान गर्न त्यतिकै उत्सुक पनि छन् । उनी नयाँ-नयाँ रोगबारे जानकारी हासिल गरेर त्यसको रोकथामबारे कसरी जनचेतना फैलाउने भनेर घोत्लिरहेका हुन्छन् ।

डा. पुनका अनुसार नेपालका कतिपय सरुवा रोगबारे अझै अनुसन्धान हुन सकेको छैन । ‘हेर्दा सामान्य ज्वरो आएको देखिन्छ, तर, के कारणले आएको हो थाहा हुँदैन । पत्ता लगाउने संयन्त्रसमेत हामी कहाँ छैन ‘, उनी भन्छन् ।

भिव्रियो कलेराका प्रजाति, इकोलीलगायतका रोगका विषयमा नेपालमा पर्याप्त अध्ययन अनुसन्धान नहुँदा कुन रोग कहाँबाट आयो भन्न सकिने अवस्था नभएको उनको भनाइ छ ।

डा. पुनका अनुसार भिव्रियो कलेरा, इकोलीका विभिन्न प्रजाति हुन्छन् । इकोली भन्नासाथ विदेशीहरु निकै तर्सिने गर्छन् । तर, नेपालमा भने यसबारे कसैलाई मतलव पनि छैन । यसबारे पर्याप्त मात्रामा अध्ययन अनुसन्धान भएको पनि छैन । जसका कारण पखाला लाग्नु, ज्वरो आउनुमा के कारण मुख्य छ, त्यो पनि थाहा छैन ।

अनुसन्धान नभएकैले स्क्रब टाइफसको उपचार कठिन बनेको उनको बुझाई छ । ‘धरानमा स्क्रब टाइफसको संक्रमण हुँदा चिकित्सकले के सोचे भने यो टाइफाइड होला, उपचार गरेपछि ठीक भैहाल्छ ।

तर, समस्या कहाँ आयो भने उपचार पद्दतिमा नै परिवर्तन आइदियो’, उनी भन्छन्, ‘कुनैबेला टाइफाइड हुँदा सिप्रोफोक्सासिन दिन्थ्यो भने अब सेफेक्जिन दिन थालियो । जबकि सेफेक्जिनले स्क्रब टाइफाइडविरुद्ध त्यति राम्ररी काम गर्न सकेन, जति पहिले गथ्र्याे । परिणामस्वरुप रोग सतहमा देखियो र बिरामीको मृत्यु समेत भयो ।’

अझ पछिल्लो समय स्क्रब टाइफसका बिरामीमा डायरियाको समस्या समेत देखिन थालेको उनी बताउँछन् । तर, यस्ता कुरामा चिकित्सकले ध्यान दिन नसक्दा मानिसहरुको झुकाव आयुर्वेदतिर बढी देखिन थालेको उनकेा भनाइ छ । जस्तो- काठमाडौंमै जण्डिसका बिरामीको भीड आयुर्वेदिक उपचारमा बढी देखिन्छ ।

पुनको विचारमा रोगको पहिचान हुन सकेपछि मात्र उपचार सम्भव हुन्छ । तर, यसबारे न त सरकारको ध्यान गएको पाइन्छ, न त चिकित्सकहरुले नै यसबारे कुनै चासो देखाएको पाइन्छ । ‘सरोेकारवाला निकायहरु यस्ता विषयबारे संवेदनशील नभएकै कारण हाम्रै वरिपरि रहेका कैयौं रोगबारे हामी अनभिज्ञ छौं’ उनी भन्छन् ।

एक प्रकारको किर्नाको टोकाइब्ााट सर्ने लाइम रोग लागेमा मुटु तथा स्नायु प्रणालीमा समस्या हुने गर्छ । पोखराका एकजना विरामीलाई लाइम रोग लागेको पाइएपछि पुनले यसबारे लेखे समेत लेखेका थिए । निकट भविष्यमा नै यो विषयसित सम्बन्धित रहेर उनी अन्तराष्ट्रिय स्तरलाई नै चुनौती दिने योजनामा छन् । जहाँ उनले मुटु रोग, क्यान्सर, लगायतका नसर्ने रोग लाग्नुमा सर्ने रोगको पनि हात छ भनेर कुरा राख्नेछन् ।

सन्तुष्टिको राज

तात्कालीन सोभियत संघको छात्रवृत्तिमा एमबीबीएस र जापानको छात्रवृत्तिमा पीएचडी गरेका डा. पुन बीचमा पाँच वर्ष जापानमा पढ्न गएका बेला बाहेक सन् २००२ देखि टेकु अस्पतालमा छन् । राजधानीको निजी अस्पताल जान नसक्ने र स्वास्थ्यको पहुँच नपुगेको दुरदराजका गाउँबाट आएका विरामीको उपचार गर्न पाउँदा उनी दंगदास छन् ।

आफ्ना सहकर्मीहरु देशविदेशका निजी अस्पतालमा राम्रो सेवा सुविधा लिएर काम गरिरहेका छन् । उनीहरुले मात्रै होइन, घरपरिवारका सदस्यहरुले समेत कमाई हुने अस्पतालमा जान नसुझाएको होइन । डा. पुन भन्छन्, ‘कहिले काँही आफन्तले पैसा पनि नकमाउने र परिवारलाई समय पनि कम दिने डाक्टर पनि भन्छन् ।’

डा. पुन सरकारी अस्पतालमै रमाइरहेका छन् । यतिसम्म कि उनले जापान सरकारले उपलब्ध गराएको विश्वकै चर्चित जेएसपीएस नामक फेलोशिप पनि अस्वीकार गरे । मेडिकल क्षेत्रमा यो फेलोशीप पाउनुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्छ ।

जेएसपीएस अस्वीकार गर्नुको कारणबारे उनले अनलाइनखबरलाई भने, ‘म त्यो फेलोशिपका पछाडि लागेको भए सेवा सुविधा त हुन्थ्यो, तर मैले मेरो अस्पतालमा आएका विरामीलाई मिस गर्थे, यसरी विरामीको उपचार गरेर बस्न कहाँ पाउँथे र ।’

निजी अस्पतालको महँगो बेड त टाढाको कुरा सामान्य औषधी किन्ने खर्च समेत नभएका विरामीलाई निको पार्न सक्दा डा. पुन त्यसैत्यसै दंग पर्छन् । ‘दुखाइले रुँदै आएका विरामी सन्चो भएर अनुहार उज्यालो पारेर र्फकंदा जतिको आनन्द केही हुँदो रहेनछ’ डा. पुन भन्छन्, ‘त्यही ठूलो आनन्द पाउन म यो सानो अस्पतालमा रमाइरहेको छु, रमाइरहनेछु ।’ (अनलाइनखबर)

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...