News Portal

साउदी अरबको अदालतमा ४५ लाख क्षतिपूर्ति तिरेर फर्के इलामका प्रेमबहादुर

६६९ पटक

होम कार्की
काठमाडौँ — साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।

राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो। उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो।

नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए। त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो।

राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो। अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो।

‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक/एक पैसा दिनुभएको छ। त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो। त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो।’

माई नगरपालिका–४, इलामका राई २०१६ मार्च ३१ देखि जेलमा थिए। उनी सन् २०१२ देखि साउदीस्थित अल सल्वावी इन्टरनेसनल होल्डिङ कन्ट्रस्क्टिङ कम्पनीमा चालकको काम गर्दै आएका थिए। बिदाबाट फर्केको साढे दुई महिनापछि तामाको तार लोड भएको गाडी राजधानी रियादको जनद्रियाबाट हराएको थियो। ‘सामान पुर्‍याउने कम्पनी बन्द भइसकेको थियो। सडक छेउमा गाडी राखेर साथीको कोठामा खाना खाएर फर्किंदा गाडी देखिनँ। नदेख्नेबित्तिकै कम्पनीको म्यानेजर र प्रहरीलाई खबर गरेको थिएँ,’ प्रेमले अदालतसमक्ष बयानमा भनेका थिए, ‘म पूर्ण रूपमा निर्दोष छु।’

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किमि टाढा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख छ। कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा रोडमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गरी अदालतमा क्षतिपूर्ति दाबी गरेको थियो।

सार्वजनिक अदालतका न्यायाधीश इब्राहिम विन सिड विन अली अल–अस्करको इजलासले चालकले सामानको मूल्य तिर्नुपर्ने फैसला गरेको हो। सार्वजनिक कानुनअनुसार घटना शंकास्पद रहेको भन्दै बिमा कम्पनीले सामानको क्षतिपूर्ति दिन इन्कार गरेको छ। कम्पनीले ८ लाख रियाल बराबरको बिमा गरेको थियो।

प्रेमलाई छुटाउन रकम संकलन गर्ने प्रेम बचाउ अभियान समितिकी सदस्य अनिता ताम्बुसाहले एउटा निर्दोष नेपालीलाई ल्याउन सफल भएको बताइन्। ‘अनाहकमा फस्न पुगेका प्रेमलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौं, यसले नेपाली दाजुभाइबीचको एकता देखियो,’ उनले भनिन्, ‘साउदीमा फसेका प्रेमहरूलाई उद्धार अझै गर्नुछ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...