News Portal

डिल्लीबजार कारागारमा सरुवा हुँदै रवि लामिछाने, मनाङे बसेकै ब्लकमा बस्ने तयारी

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।

सर्वोच्च अदालतबाट थुनाम्याद लम्बिएपछि लामिछानेले राजधानीमा सरुवा हुन चाहेको जनाइएको छ। यसअघि उनलाई रुपन्देहीमै ठीक लागेको बताएका थिए, तर पछिल्लो समय पार्टी नेताहरु तथा परिवारजनसँग भेटघाटमा समस्या भएपछि काठमाडौं सरुवाको चाहना व्यक्त गरेका हुन्।

कारागार प्रशासनका अनुसार, कुनै पनि कैदीले आफू अनुकूल स्थानमा सरुवा माग गर्न सक्ने अधिकार हुन्छ, यद्यपि सुरक्षा जोखिम लगायत पक्ष हेरेर अन्तिम निर्णय लिइन्छ। लामिछानेले जिल्ला अदालत रुपन्देहीबाट अनुमति लिइसकेका छन् भने हाल कारागार व्यवस्थापन विभागमा अन्तिम स्वीकृतिका लागि फाइल पुगेको छ।

डिल्लीबजार कारागारमा उनलाई पूर्वमन्त्री दिपक मनाङे रहेका ‘ख’ ब्लकमा राख्ने तयारी गरिएको छ। यस कारागारमा पूर्वमन्त्री खुमबहादुर खड्का, श्यामसुन्दर गुप्ता, बालकृष्ण ढुंगेल, गणेश लामा, पूर्वसांसद रेशम चौधरी लगायत पनि रहिसकेका छन्।

जानकारहरूका अनुसार राजधानीको मध्यभागमा अवस्थित र थोरै कैदी संख्या रहेको डिल्लीबजार कारागार ‘भीआईपी’ कैदीहरूको रोजाइमा पर्ने गरेको छ। यहाँ भेटघाट सजिलो, टेलिफोन सुविधा सहज, क्यान्टिनको चिया, रुखको छायामा समय बिताउने फुर्सदिलो वातावरण र टेबलटेनिस जस्ता सुविधा उपलब्ध छन्।

गृह मन्त्रालय स्रोतका अनुसार सर्वोच्च अदालतले पनि लामिछानेलाई सरुवाको इच्छा देखाए सो विषयमा सहजीकरण गर्न निर्देशन दिएको थियो। यसैअनुसार विभागीय निर्णयपछि उनलाई चाँडै डिल्लीबजार कारागारमा सारिने पक्का भएको छ।

रवि लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा २२ चैत २०८१ मा उच्च अदालत, तुलसीपुरको आदेशअनुसार पुर्पक्ष थुनामा परेका थिए। यसअघि जिल्ला अदालतले १३ माघमा उनलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो तर त्यो आदेश बदर भएसँगै उनलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको थियो।

थुनामुक्त गराउन उनकी पत्नी निकिताले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्, जुन खारेज गरिएको थियो। अब मुद्दाको अन्तिम निर्णय नभएसम्म उनी थुनामै रहने पक्का भएपछि काठमाडौंको ‘भीआईपी कारागार’ रोजेका हुन्।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...