
दमन राई
खोटाङ, १० बैशाख : अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।
उदयपुरको कटारीलगायत सहर पुगेर नुनदेखि सुनसम्म ल्याउन स्थानीयले ज्यान जोखिममा पारेर भए पनि डिकुवा र बाइटार घाट प्रयोग गने छन्। साविकको डिकुवा–३ मा पर्ने बाइटारको घाट तरेपछि उदयपुरको चिपटार–बेतेनी हुँदै कटारी पुग्न सकिन्छ।यस्तै, साविकको डिकुवा–१ बाट घाट तरेपछि उदयपुरको रूपटार–यारी खोला–बेतेनी हुँदै कटारी पुग्न सकिन्छ। कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका स्थानीयले जोखिमपूर्ण डुंगा–यात्रा गर्दै आएको डिकुवाका वडा सदस्य घनश्याम राईले बताए।
घाटको वारि र पारि कच्ची सडक बनिसकेको छ नदीको दुवै किनार जोड्ने हालसम्म पुल बनेको छैन। डिकुवाको बाइटार, ओफ्लाङ, छ्वङपाङ, भुम्जु, डिकुवा, दाम्लीलगायतका स्थानीयले कटारीबाट चामल, नुन तेल, लत्ताकपडा, फलाम, मरमसला लगायत उपभोग्यवस्तु डुंगाबाटै तारेर घर ल्याउने गरेका छन्। मोटरसाइकल समेत डुंगामा हालेर तार्ने गरिएको छ। हिउँदमा डुंगाबाट वारपार भए पनि वर्षामा डुंगा सञ्चालन ठप्प हुने गर्छ। हाल कटारीबाट नदी पारि झारिएका उपभोग्यवस्तु डुंगाबाट तारेर घर–घर पु¥याउने गरिएको छ।
अधिकांश भाग नदीले घेरेको डिकुवाबाट जयराम, घुर्मी हुँदै कटारीलगायत सहर–बजार पुग्न सकिन्छ। तर, १४/१५ किलोमिटर घुमाउरो पर्छ। यसकारण डिकुवाका स्थानीय जोखिम खेपेर डुंगा प्रयोग गर्न बाध्य छन्। डुंगा विस्थापित गर्नका लागि स्थानीयले पटक–पटक जनप्रतिनिधिलाई गुहारिसकेका छन्। तर, हालसम्म उनीहरूको माग सुनुवाइ भएको छैन। बाइटारमा झोलुंगे पुल निर्माणका लागि प्रदेश सरकारबाट पहल भइरहेको बताइए पनि ठोस काम हुन नसकेको वडा सदस्य राईले बताए।
‘बाइटारमा पुल बनाउनका लागि प्रदेश सरकारबाट पहल भइरहेको सुनेका मात्र हौं,’ वडा सदस्य राईले भने, ‘डिकुवामा पनि पुल बनाउन प¥यो भनेर प्रदेशसभा सांसद राजन राईलाई भनेका थियौं। तर अहिलेसम्म बजेट आएको छैन। डिकुवाका स्थानीयले उपयोग गरिरहेको दुई वटा घाटमध्ये बाइटारको घाट बढी मात्रामा उपयोग हुने गरेको छ।
डिकुवाको घाट भने सुनकोसी पारीको यारी खोलामा खेती भएका स्थानीयले बढी मात्रामा प्रयोग गर्ने गरेका छन्। डिकुवाकै स्थानीयले उपयोग गरिरहेको चारबोटे घाटमा भने पूर्वसांसद पिके राईको पहलमा २०७४ सालमा झोलुङ्गे पुल बनिसकेको छ। खोटाङ जिल्लाको सुदूरपश्चिममा रहेकाले डिकुवामा अपेक्षित मात्रामा भौतिक विकास हुन नसकेको स्थानीयको बुझाइ छ।
बाहुनीडाँडामा उस्तै समस्या !
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका स्थानीय पनि सुनकोसी पार गर्न वर्षौंदेखि डुंगामै निर्भर छन्। सदरमुकाम दिक्तेल, राजधानी काठमाडौंदेखि उदयपुरको कटारी, घुर्मी जान–आउन स्थानीयले दुई ठाउँमा डुंगाबाट सुनकोसी नदी पार गर्नुपर्ने बाध्यता खेप्दै आएका छन्। नगरपालिकाको कार्यालय पुग्नसमेत सो क्षेत्रका स्थानीयले दुई/दुई ठाउँमा डुंगा चढ्नुपर्ने बाध्यता छ।
साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ खर्क, डुम्रे, बाहुनीडाँडा–९ कुर्ले, रूपटार, सिरुवानी, चुखानलगायतका स्थानीय जोर्तीघाटमा डुंगाबाट सुनकोसी पार गर्न बाध्य बनेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।
सुनकोसी र दुधकोसीको संगमस्थल जोर्तीघाटमा पुल अभाव हुँदा बाहुनीडाँडाका स्थानीय डुंगामार्फत सुनकोसी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुग्ने गर्छन्। केही समय लेखानी पुछारमा नदीको किनारै–किनार हिँडेका स्थानीय पुनः डुंगाबाटै सुनकोसी तरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्ले पुगेर हर्कपुर वा जयराम निस्केर आ–आफ्नो गन्तव्यमा जाने–आउने गरेका छन्।
डुंगा नचल्ने कतिपय ठाउँमा गाडीको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको छ। ठूलढुंगाबाट उदयपुर, साँघुरीबाट ओखलढुंगाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउनका लागि ट्युबको प्रयोग हुने गरेको वडाध्यक्ष राईले बताए।
