News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • खेलकुदमा राजनीति नमिसाऊँ : अध्यक्ष शाह

    रेखा शाही
    ८४७ पटक

    चैत २९, शुक्रबार : नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाह निर्विरोध चयन भएका छन् । आइतबार चितवनमा सम्पन्न साधारणसभाले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । दोस्रोपटक नेतृत्व सम्हालेका शाहको आगामी कार्ययोजना र चुनौतीबारे बाह्रखरीका लागि रेखा शाहीले गरेको कुराकानी :

    दोस्रोपटक एथ्लेटिक्स संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनु भएको छ ।  आगामी योजनाहरु के–के छन् ?

    म दोस्रो पटक र्निविरोध निर्वाचित भएको छु । पहिलो कार्यकाल धेरै बुझ्नतिरै लागेँ । संघभित्रको कमी कमजोरी, यसभित्रको राजनीति, खेलाडीको परिस्थिति, प्रशिक्षकको अवस्था, प्राविधिक जनशक्तिको अवस्था बुझ्ने मौका पाएँ । दोस्रो कार्यकालमा यस्ता विषयमा देखिएका कमजोरी सुधार्न केन्द्रित हुनेछु ।

    मुख्य काम संघको कार्यालय व्यवस्थापन गर्नुपर्नेछ । राखेपले दिएको कार्यालयलाई व्यवस्थित गरेर त्यहाँ सचिवालय बनाउनुपर्नेछ । संघको आफ्नो वेबसाइट बनाउनेछौं । अहिलेको परिस्थिति यस्तो छ कि हामीसँग पूर्वाधार छैनन् । प्रविधिदेखि पूर्वाधारमा केन्द्रित रहनेछु ।

    खेलाडी र टेक्निकल म्यानपावरको क्षमता वृद्धिका कार्यक्रम आयोजना गर्ने योजना पनि बनाएको छु । प्रशिक्षक र प्राविधिक व्यक्तिहरुलाई विभिन्न देशमा तालिमको व्यवस्था गर्ने योजना पनि रहेको छ । खेलाडीको बिमा, नियमित प्रशिक्षण र सेवासुविधा बढाउनेतिर पनि लाग्नेछौँ ।

    हाइ अल्टिच्यूड तालिम सेन्टरको स्थापनाका लागि पहल गर्ने योजना छ । त्यो सम्भव भए विभिन्न देशबाट तालिम गर्न आउने खेलाडीबाट उठ्ने रकमले संघसँगै खेलाडीलाई मद्दत पुग्नेछ । संघको आर्थिक अवस्था मजबुत बनाउने विभिन्न व्यवसायिक घरानासँग समन्वय जारी राख्ने योजना पनि बनाउनेछौं ।

    पहिलो कार्यकालमा खासै संघमा सम्झनलायक काम भएनन् भन्ने आरोप छन्, अब कसरी अघि बढाउनुहुन्छ ?

    मेरो पहिलो कार्यकाल सिकाइमा गयो । मैले यसअघि एथ्लेटिक्स जान्ने बुझ्नेहरु सबैलाई जिम्मेवारी दिएको थिएँ । उहाँहरु विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भागसमेत लिन जानुभयो । खेलाडीलाई समेत पठाउनुभयो । काठमाडौंमा बस्ने उहाँहरु अलि जान्ने हुनुभयो । संघ त काठमाडौंको मात्र होइन । बाँकी जिल्लाका संघले पनि अवसर पाउनु पर्‍यो । म अध्यक्ष भएकोले पनि सबैलाई मिलाएर जानुपर्ने बाध्यता थियो ।

    एथ्लेटिक्समा महासंघको कंग्रेसमा मलाई बाइपास गरेर महासचिव जानुभयो । अध्यक्षलाई नै बाइपास गरेपछि खरो भएको हुँ । अब कमजोरीलाई सुर्धार्दै अगाडि बढ्छु ।

    आगामी चारवर्षका लागि फेरि एकपटक एथ्लेटिक्स संघको जिम्मेवारी तपाईंको काँधमा आएको छ । मौका हो कि चुनौती पनि छन् ?

    अहिलेसम्म मैले जे जिम्मेवारी पाएको छु । म सांसद हुँदा पनि मैले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेँ । नेपाल एथ्लेटिक्स संघको यसअघि अध्यक्ष हुँदा मैले विभिन्न विवाद र आरोप खेप्नुपर्‍यो ।

    मैले त्यो विवाद र आरोपको जवाफ दिने मौका पाइन । तपाईंले भनेजस्तै मैले यसलाई अवसरसँगै चुनौतीका रुपमा लिएको छु । नयाँ टिमसँग चुनौती भएपनि काम गरेर देखाउनेछु । मैले देखेको मुख्य चुनौती भनेको एथ्लेटिक्स संघलाई एक बनाउने रहेको छ । म त्यो पनि गर्नेछु । संघको कुरा बाहिर गएर काट्नुभन्दा संघमा आउन साथीहरुलाई आग्रह गर्दछु ।

    अहिले संघीय संरचनामा जाँदै छौं । अब ७ प्रदेशका अध्यक्ष हुनेछन् । संघसँग भड्किने प्रचलन छ । संघमा सबैलाई एकताबद्ध बनाउनु नै चुनौती छ ।

    अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको प्रतिबन्धमा पर्ने चेतावनीबीच चुनाव गर्नुभयो । चुनावको दुई दिनअघिसम्म स्वीकृत नदिएको राखेपलाई एकाएक कसरी मनाउनु भयो ?

    हामी निलम्बनमा पर्ने अवस्था आइसकेको थियो । हाम्रो चुनाव गत साउनमै गर्नुपर्ने थियो । त्यो बेला एसियन खेलकुदलाई मध्यनजर गर्दै राखेपले पछि गर्न भन्यो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद आर्थिक क्लोजिङमा अल्मलियो । हामीले निर्वाचन गर्न कोशिस गर्दा असन्तुष्ट पक्षले राखेपमा निवेदन दिएका कारण समस्या भयो । निवेदन आएपछि त्यसको छानबिन गर्नुपर्छ भनेर राखेपले अलि ढिलो गर्‍यो । त्यसमा उहाँहरुको व्यस्तताले पनि अप्ठ्यारो भएको हो ।

    अहिले खेलकुदमन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीको निर्देशनमा विवाद समाधानका लागि उपाध्यक्ष पिताम्बर तिम्सिनालाई खटाउनु भएको थियो । मैले एक महिनाअघि मन्त्रीलाई भेटेको थिएँ । उहाँले अहिले कराँते महासंघको विवाद समाधान गर्दैछौं ।

    विवाद समाधानलगत्तै तपाईंतिर हेर्छौँ भन्नुभएको थियो । त्यसबेला उहाँहरुको नजर परिसकेको थियो । दुई दिन भित्रमा गरेको होइन । त्यो बीचमा अन्तर्राष्ट्रिय महासंघको पत्र आइसकेको थियो । मन्त्रालयले चासो राख्ने नै भयो । दुई दिन नभई लामो समयदेखि स्वीकृतका लागि पहल भएको हो ।

    चुनावपछि एकपक्ष असन्तुष्ट छ । पूर्वमहासचिव सुनिल राजवंशीले २१ दिनअघि सार्वजनिक भएको थाहा नै भएन भन्दै हुनहुन्छ । त्यसले गर्दा संघमा फेरि पनि विवाद आउने त होइन ?

    सात दिनअघि सूचना निकालेको हो । पूर्वमहासचिव सुनिलजीले के बुझ्नपर्‍यो भने विवाद भन्दा सुल्झाउनतर्फ लाग्नुपर्‍यो । मैले हारेको मान्छेलाई कार्यसमितिमा ल्याएर राखेको हुँ । निर्वाचनमा किन आउनुभएन उहाँ ? म त बाहिरबाट आएको हुँ । उहाँ त खेलकुदबाट आएको मान्छे, किन आउनु भएन ? यसअघि ४ मत मात्र ल्याउँदा मैले उहाँलाई मनोनित गरेँ । यसपाली पनि प्रक्रिया खुला थियो । हामीले सूचनाका बारेमा साउनमा २१ दिनको सूचना निकालेका थियौं ।

    काठमाडौंबाट बैकुण्ठ मान्धरलाई बाइपास गर्दै जबरजस्ती आएको मान्छेलाई हामीले मान्यता दियौं । किन चुनावमा नआउनु भएको ? नतिजा आफनो पक्षमा आउँदैन भनेर विवाद मात्र गरेर बस्ने ? मलाई थाहा थियो फेरि आरोप लाग्छ भनेर त्यसैले मैले खेलुकदको पूर्वनिर्देशक अहिले कानुनविद् हुनहुन्छ, केशब गौतम ।

    उहाँसँग सल्लाह र सबै प्रक्रिया मिलाएर निर्वाचन गरेको हो । साउनमा २१ दिनको सूचना जारी गरेको हो । केही जिल्लामा समय पनि थपेको हो । सबै कागजात वकिलसँग छन् । प्रक्रिया मिलाएर गरेका हौं । अहिले पनि सूचना निकालेकै हो । विवादका लागि विवादमात्रै गरेर हुँदैन ।

    दशजना सर्वसम्मत बाँकी ५ जना अध्यक्षले मनोनयन गर्नुपर्ने तपाईंहरुको विधानमा छ । असन्तुष्ट पक्षलाई कसरी मिलाएर अघि बढ्नुहुन्छ ?

    म उहाँहरुलाई समेट्न चाहान्छु । तर उहाँहरुलाई मेरो आग्रह के छ भने नराम्रो राजनीति गर्न छोड्नुपर्छ । यो संघ भनेको कोही व्यक्तिको होइन । यो राष्ट्रको संघ हो । यो राष्ट्र र खेलाडीको हितका लागि हो ।

    उहाँहरुले अहिले प्रस्तुत गर्न खोज्नुभएको छ कि खेलाडीको संघका रुपमा । तर खेलाडीको संघका रुपमा लागेको भए जिल्ला संघहरुको उहाँहरुलाई किन सहयोग भएन । रघुजी पूर्वअध्यक्षमा भनेर आउन खोज्दै हुनुहुन्छ । उहाँ त निलम्बनमा परेको मान्छे । जापानमा गैरखेलाडीलाई पठाएको आरोपमा कारबाहीमा परेको त्यो पनि मन्त्रीको हस्ताक्षर फर्ज गरेको आरोपमा ।

    निलम्बनमा परेको मान्छे फेरि मलाई नै आरोप लगाएर आउनु भनेको अचम्मको कुरा हो । सुनिल राजवंशीलाई फेरि भन्छु गलत राजनीति गर्न छोड्नुस् । यो कार्यकालमा पनि मेरो प्रयास हुन्छ । कार्यसमितिमा नभए पनि विभिन्न समितिमा समेट्न तयार छु ।

    एकल रुपमा चलायो भन्ने आरोप थियो पहिलो कार्यकाल । अहिले पूरै सर्वसम्मत हुनुभाछ अब त्यही दोहोरिने त होइन ?

    मलाई लगाइएको आरोप समय दिएन भन्ने हो । मैले समय नदिएको भन्ने आरोप भएपछि मैले कसरी एकल रुपमा चलाएँ । मैले पहिला दुईवर्ष सुनिल राजवंशीलाई चलाउन दिएकै त हो । जब उहाँबाट विवाद आउन थाल्यो । मैले दिएको कार्यक्रममा एकलौटी गर्न थालेपछि मैले एकल रुपमा निर्णय गरेको हुँ । मैले दिएका कार्यक्रममा उहाँमात्र जानुभयो ।

    त्यो बेलाका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुशील नरसिंह तीन कार्यक्रममा जानुभयो । उहाँहरु मात्र गएपछि म त अध्यक्ष सबैको कुरा समेट्नु पर्‍यो । विभिन्न संघबाट विवाद आउन थालेपछि मैले उहाँहरुलाई भने । मलाई नै बाइपास गरेपछि मैले राजीनामा मागेको हुँ । मैले दुई वर्ष चलाउन दिए । नभएपछि काम त गर्नुपर्‍यो ।

    एथ्लेटिक्स संघ अहिले ३९ जिल्लामा छ । अन्य केही जिल्लामा विस्तार हुन्छ कि ?

    अहिले धेरै जिल्लाहरुले खेलाडी उत्पादन गरेका छैनन् । हामी जिल्ला छनोट गरेर काम गर्नेछौं । संघ घटाउने कुरा हुँदैन । योजना बनाएर छलफल गर्नेछौं । राखेपसँगको सहकार्यमा काम गर्नेछौं ।

    हरि रोकाया, बैकुण्ठ मान्नधरजस्ता खेलाडी उत्पादन गरेको भए पनि अहिले पुरानो अवस्था छैन । अहिले ३६ जना प्रशिक्षक छन् । कमैले मात्र खेलाडी उत्पादन गर्ने गरेका छन् । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

    खेलाडी उत्पादन नभएकोबारे संघलाई मात्र जोड्न मिल्दैन । देशकै परिस्थितले हो । पछिल्लो समय देशको परिस्थिति फरक भयो । राजनीतिक परिवर्तनले हो सबै । अब व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ । संघको कुरामात्र होइन राष्ट्रले पनि लगानी बढाउनुपर्छ ।

    म कांग्रेसको पूर्वमाननीय भए पनि सबैलाई समेटर राखेको छु । ७० प्रतिशत अरु पार्टीकै छ । म लगायत एक दुई जनामात्र कांग्रेसको हो । राजनीतिक पावरले होइन । कामको मूल्यांकन गर्दै राम्रा खेलाडीलाई जन्माउने र प्राथमिकता दिनेमा केन्द्रित हुनेछौं । खेलकुदमा राजनीति मिसाउनु हुँदैन भन्ने मेरो प्रष्ट मान्यता छ ।

    अन्त्यमा तपाईंको कार्यकालमा खेलाडीलाई नयाँ ट्रयाकमा दौडिएको देख्न पाइएला ?

    अवश्य सकिन्छ । हेर्नुहोस् गत ४ वर्षमा आईएएफले ट्रयाक दिने कुरा चलेको थियो । अहिले कतारले ट्रयाक दिने कुरो चलेको छ । त्यसमा नेपाल पनि परेको छ ।

    सरकारले हामीलाई केही जग्गा उपलब्ध गराउनु भयो भने हामीलाई पनि ट्रयाक दिने सम्भावना छ । हामी आफनो ट्रयाक बनाउने कोशिसमा छौं ।

     भिडियो हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...