News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • केपी ओलीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन !

    हिमालीसंचार संवाददाता
    १००१ पटक

    म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ : केपी ओली
    (२० वर्षअघिको घटना र विचार)

    तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ?

    माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ। आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ। तसर्थ ऊ गुण्डागर्दी र आतङ्ककारी क्रियाकलापमा उत्रिएको छ। हरेक ठाउँमा पुगेर हुलहुज्जत गर्नु त्यो गुटको सामान्य दिनचर्या नै भएको छ। यस कामलाई राप्रपा र नेपाली काङ्ग्रेसले समेत सघाइरहेको महसुस गर्देछु म। अहिले झापाको ६ नम्बर क्षेत्रमा समेत यस किसिमको क्रियाकलाप बढाउँदैछन् उनीहरू।

    झापाको २ र ६ मा चुनाव जित्न नसक्ने भएर मालेले यस्तो गरेको हो त ?

    चुनाव त मालेले कहीँ पनि जित्न सक्दैन। रह्यो कुरा किन यस्तो उपद्रो गर्न थालेको भन्ने, यस गुटको जन्म नै तोडफोडको अभ्यासबाट भएकोले जे पाए पनि तोड्ने र फोड्ने नै उनीहरूको चरित्र बनेको छ।

    एमालेले कसरी प्रतिरोध गर्छ त अब, माले त एमालेलाई सिध्याउन अघि बढिसकेको नैं देखिन्छ ?

    सिध्याउने त कुरै नगरौँ अलिकति ‘डिष्टर्ब’चाहिँ गर्न सक्छ। तर, एमालेले चाह्यो भने त्यस्तालाई सजिलैसँग ठेगान लगाउन सक्छ।

    त्यसोभए के एमालेले चाहेको छैन मालेलाई ठेगान लगाउन ?

    उनीहरू चुनाव नगराउन खोज्ने तत्व हुन् भने नेकपा एमाले चुनाव गराउन खोज्ने शक्ति हो। उनीहरू चुनाव बिथोल्न चाहन्छन्, एमाले शान्तिपूर्ण चुनाव सम्पन्न गराउन चाहन्छ। तसर्थ उसले किचलो झिके पनि हामीले संयम धारण गरिरहेका छौँ।

    माओवादी हत्यामा उत्रेको छ भने माले तोडफोडमा, यी दुईबीच समानता देख्नुहुन्छ ? यी दई एकै हुन् कि ?

    यसप्रकारको तुलना गर्न त म उचित ठान्दिनँ। दुबै आ–आफ्ना ठाउँमा छन्। यतिखेर म मालेको गुण्डागर्दी र अपराधपूर्ण क्रियाकलापको चर्चा गरिरहेको छु।

    तपाईंमाथिको आक्रमण सुनियोजित होला कि आकस्मिक ?

    सुनियोजित हो, किनकि घटना हुनुअघि मालेका नेताहरू त्यहाँ पुगेका थिए भन्ने बुझियो र घटना घटेसँगै पनि उनीहरू त्यहाँ उपस्थित देखिए। त्यसबाहेक राप्रपा, माले र काङ्ग्रेसले संयुक्त रूपमा प्रहरीथाना घेर्ने, सडक जाम गर्ने, गालीगलौज गर्ने आतङ्क सिर्जना गर्ने, संयुक्त झण्डा लिएर मैदानमा उत्रिनेजस्ता पूर्वनिर्धारित स्वरूपमा गतिविधि दर्शाए। तसर्थ ममाथिको हमला आकस्मिक हो भन्ने ठाउँ नै छैन।

    तपाईंले माफी मागेको कुराले मंगलबारका पत्रपत्रिकाहरूमा ठाउँ पाएको छ। कोसँग किन माफी माग्नुपरेको हो नि ?

    हुल्लडबाजहरूले मेरै गाडीमा ढुंगामुढा गर्ने फेरि मेले नै माफी माग्ने ? मैले उनीहरूलाई जवाफ दिएको छैन, संयम धारण गरिरहेको छु। माफी माग्ने होइन, परिआयो भने मैले जवाफ दिन्छु।

    कस्तो जवाफ ? किन नदिएको त ?

    ढुंगा हान्ने कुराको जवाफ कस्तो हुन्छ ? म एउटा जिम्मेवार पार्टीको नेता भएकोले पनि त्यस्तो जवाफ फर्काउन हतार गरिहाल्नु ठीक ठान्दिनँ।

    आफ्नो कमजोरी भएकैले झापामा केपी ओलीले मालेसँग झुकेर माफी माग्न थालेको टिप्पणी हुन थालेको छ त ?

    म झापामा कमजोर ? कस्तो हास्यास्पद कुरा ! मैले ल्याएको भोटको एक चौथाइ भाग मात्र मालेले झापामा पुऱ्याओस्। म यति मात्र भन्न चाहन्छु।

    तपाईंका विरुद्ध झापामा काङ्ग्रेस, राप्रपा, माले तीनै पार्टी एकजुट भए, अब कसरी ‘फेस’ गर्दै हुनुहुन्छ त ?

    स्यालहरू जतिसुकै सङ्ख्यामा एकत्रित भएपनि हात्तीको शिकार त गर्न सक्दैन नि !

    मतलब, तपाईं झापाको लागि हात्तीसमान हुनुहुन्छ ?

    त्योभन्दा पनि बढी छु। हात्तीभन्दा ठूलो शक्ति हुँ म झापामा।

    मालेलाई पराजित गर्ने रणनीति कसरी अघि बढ्छ नि तपाईंहरूको ?

    जनताबाट तिरस्कृतलाई पराजित गर्न पनि केको रणनीति नि ?

    कांग्रेसको स्थिति के छ नि झापामा ?

    कुनै पार्टी पनि खुट्टा टेक्न सक्दैनन् यहाँ भन्ने इतिहास प्रमाणित तथ्य छ। माले त जन्मिनेबित्तिकै बामे सर्नुको साटो फट्याङ्ग्रे उफ्र्याइँ गर्ने प्रयास गर्दैछ, त्यसैले त्यसको त विनाश पक्का छ।

    भनेपछि, एमालेबाहेक अरुको हैसियतै छैन त झापामा ?

    उम्मेदवार बन्ने हैसियत छ। कसै–कसैले जमानत पनि जोगाउलान् जस्तो लागेको छ। चुनाव जित्ने हैसियत चाहिँ कसैको छैन। कसैले जित्छु भन्छ भने मत गणना नहुन्जेल कुरामा जित्ने हो।

    अरू केही भन्नु छ ?

    संचारमाध्यममा आधारहीन कराहरूले पनि ठाउँ पाउने गरेका छन्, त्यस्तो नहोस् कतै पनि भन्न चाहन्छु। माफीका कुरा कपोलकल्पित हुन्। केपीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन। (घटना र विचार साप्ताहिकबाट)

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...