News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सल्लाको देशमा !

    नियात्रा...

    हिमाली संचार संवाददाता
    ५३३ पटक

    उउउउउ त्यो माथिको ट्रक तल झर्न लाग्या हो कि? माथि जान लाग्या हो ?
    अनायास बुनुको मुखबाट निस्किएको थियो ।
    हामी सबैका आँखा सोझिए माथिको भीरपट्टि । ठाडो उकालोमा सात ओटा घुम्ती फन्को मार्दै गरेको सडकको आकृति देखिएको हो । एउटा ट्रक त्यही सडकमा कछुवाको गतिमा हिडिरहेको देखियो ।
    हामी कपुरकोटमा आइपुगेका छौं । मोटरसाइकिलको स्पीड इन्डिकेटरले १३९ किलोमिटर कुँदेको जनाउ दिइरहेछ । घडीमा हेरेको साढे बारह बजेको छ । यो २०७४ साल चैत्र दश गतेको दिन हो । चैत्राष्टमीको तिथिले हामीलाई आज यात्रु भन्दा पनि तीर्थालु बनाएको छ । हामी सर्वनामभित्र आज पाँच जना प्राणी समेटिएका छौं — युवा मित्र कुमार लामिछाने, उनकी पत्नी सुदेष्णा, सानो फुच्चे आर्यभबाबु, मेरो जीवन सहयात्री बुनु र म ।

    कपुरकोटको चोकैबाट दाहिने लागेको छ उकालो । चिया पिउन रोकिएका हौं हामी यहाँ तर, हाम्रा आँखा त्यही उकालोपट्टि सोझिएका सोझियै छन् ।
    ‘रोल्पाको धनवाङ जाने सडक हो यो’ होटलका साहुजीले नसोध्दै जबाफ दिएर हाम्रो कुतुहलता मेटाउन खोजे । हामी उनीसित यसरी सोध्न लाग्यौं कि मानौं हामी त्यही उकालो चढ्न आएका हौं । चिया पिउने मेसो बन्यो उनको बोली । कपुरकोटमा आएर चाखेको खल्लो काफलको चर्चा शुरु नहुँदासम्म त्यही सडक बनिरह्यो हाम्रो गफको विषय ।

    बिहान सात बजे हिंडेका हौं हामी नेपालगंजबाट । मोटरसाइकिलमा बत्तिदै यात्रा गर्नु जहिले पनि रोमाञ्चक हुन्छ मेरोलागि । कुमार पनि कम्ति रहरिला होइनन् रहेछ तर आज बिचरा उनलाई बिहानैदेखि टेन्सनले छोडेको छैन । सुदेष्णा बिहान केही नखाएर हिडेकी रहिछन् । बाक्लो कपडा पनि नलगाएकी, काखमा बच्चा, खाली पेट, मोटरसाइकिलको हावा । चिसोको प्रहारले उनलाई भेटिहालेछ । अमिलियामा भात खाएर उकालो चढेदेखि उनी वान्ता गरेको गरेइछिन् । कपुरकोटमा पुगुन्जेल लखतरान परिहालिन् । तातो चिया र काफल पेटमा परेपछि तङ्रिएको छ उनको जिउ ।

    ‘बिहान केही खाएर हिड्नु पर्छ, बाक्लो लुगा लगाउनु पर्छ’ भनेर मैले हिजै कुमारलाई भनेकै हुँ तर उनीहरुले टेरेनन् । हावा तालमा यात्रामा हिंडेपछि यस्तै दुःख पाइन्छ’ भनेर गाली गर्न मन लागेको हो तर हाँसिरहने कुमारको अनुहार र वान्ता गरेर लखतरान पर्दा पनि ‘कति रमाइलो ठाउँ है’ भनेर जिज्ञासा पोखिरहेकी सुदेष्णालाई गाली गर्न मन लागेन । हामीलाई भने विन्डचिटरले जोगायोे ।

    आज बुनुको उत्साहलाई देखेर भने म छक्क परेको छु । मोटरसाइकिलमा एक घण्टा कुद्यो भने ढाड दुखिहाल्ने, जाडोले कान तथा घाँटी छोप्नु पर्ने र भोक लागि हाल्ने उनका पुराना बानी कता हराएछन् कुन्नि आज !
    कपुरकोटमा चिया पिएपछि सोझै ओरालो लाग्यौं । बाटो घुमाउरो छ । पिच ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेका छन् । मोटरसाइकिलको गतिलाई अवरुद्ध पारिरह्यो बाटोले । मुलपानी काटेर अरिङगालेफेदी पुगेपछि ओरालो सकियो । अब पाल्नैपाल्नो लाग्यो बाटो । समथरलाई पाल्नैपाल्नो भन्छन् यतातिर । लुहाम नपुग्दै शारदा नदीको बगर भेटियो । बगरैबगर कुद्यौं निकैबेर ।

    शंखमुल आयो । शारदा नदीको बगरमैं बसेको सानो बजार हो यो । कपुरकोटबाट धेरै होइन मात्र एक्किस किलोमिटर रहेछ । तराईमा यति दुरी छिचोल्न धेरै समय लाग्दैन । पहाडमा भने यति दुरी काट्नु पनि धेरै लाग्छ । शारदाको पुल भन्नु नै शंखमुलको चिनारी हो कि जस्तो लाग्यो । शंखमुलबाट दाहिने लाग्यौं । केही बेर शारदाकै ढुङ्गेबगर कुद्यौं । यहाँनिर नदीको सतहभन्दा बगरको सतह गहिरो छ कि जस्तो भान पर्छ । बर्खामा शायद पानीले जलमग्न हुँदो हो यो बगरको बाटो । नदीमा नुहाउँदै छन् मान्छे । गाईबस्तु चर्दैछन् यत्रतत्र । एउटा सानो खोल्सो पार गरेर अलिअलि उकालो लाग्यो बाटो । सल्ला र मेलका रुखले भरिएको पाखामा उकालो चढ्दै गयो बाटो । उकालोको धुमिल दृश्यमा हराउन लाग्यो मन । चैत्रको शुष्कताले छोपिसकेको छ वातावरणलाई । बिहे गर्दिन भनी अठोट गरेर बसेकी युवतिको मन पनि व्याकुल हुन्छ रे चैत्रमा । चैत्रको अनौंठो उदासी फैलिएको छ चारैतिर । यही उदासीमा बोटबिरुवामा पालुवाहरु टुसाउन लागेका छन् ।

    तीन किलोमिटर जति कुद्दै चार पटक बाटो मोडिएपछि थुम्कोको टुप्पोमा पुग्यो सडक । यही हो छायाक्षेत्रको आँगन । दुई तह परेको फराकिलो थुम्को उज्यालो र सफा छ । तल्लो थुम्कोमा गाडी पार्किङको व्यवस्था गरिएको छ भने माथिल्लो थुम्कोलाई सम्याएर आँगनको स्वरुप दिइएको छ । आँगनको बीचैमा नागाबाबा हरि गिरिको प्रस्तर मुर्ती प्रतिष्थापित छ भने वरपर मन्दिरका संरचना उभिएका छन् । छत्रेश्वरी देवी मन्दिर, पिशाचेश्वर महादेव मन्दिर, यज्ञशाला, गणेशमुर्ती, सानासाना देवालय र शिवालयले आँगनलाई वरिपरिबाट घेरेका छन् । अलि पर मन्दिरको गुठीको कार्यालय र शिवधुनी पनि देखियो ।

    तीर्थयात्रीहरुको आवतजावत अनवरत चलिरहेकै छ । कोही उकालो चढ्दै छन् कोही ओरालो झर्दैछन् । गाडी र मोटरसाइकिल पनि कुद्दै छन् फाट्टफुट्ट । पुरुष भन्दा महिलाहरु ज्यादा देखिए यहाँ आएका । बास्तबमा संसारका हरेक धार्मिक सिद्धान्तको निर्माण पुरुषहरुले नै गरेका भए पनि धर्मको रक्षा र पालना भने महिलाहरुले नै गरेको हो कि जस्तो लाग्छ । पाको उमेरका मान्छे भन्दा युवाहरुको हुल छ ज्यादा । युवायुवतिहरुको हाँसखेल, ख्यालठट्टा, चालढाल, हाउभाउ हेर्दा उनीहरु यहाँ पूजा गर्न भन्दा पनि रमाइलो गर्न मात्र आएका हुन् कि जस्तो प्रतीत भयो ।

    माइकमा ऊँ गं गणपतेनमः भन्ने सुमधुर धून बजिरहेको छ । मन्दिरको आँगनभरी मान्छेको हुल सेल्फी र फोटोमा व्यस्त छन् । हुलमुल छ, होहल्ला छ । शान्तिको आभास भएन मन्दिर परिसरमा । मन्दिरभित्र पस्यौं । मन्दिरका गर्भगृह पनि साना र साँगुरा लागे । त्यहाँ पनि मान्छेको ठेलमठेल छ । पूजा गर्न होइन कुनै चटक हेर्न आएका हुन् कि जस्तो हतार छ मान्छेलाई । मन्दिरको सानो कोठामा मान्छेको उकुसमुकुसले म निसास्सिन थालें । मनलाई एकाग्र र शारिरिक मुद्रालाई ध्यानस्थ बनाउन सकिएन ।

    भगवानको मुर्तीलाई खुट्टाले ठक्कर लाग्ने गरी ठेलाठेल छ मन्दिरभित्र । पुजा गर्ने परिपाटी पनि कताकता नमिलेजस्तो लाग्यो । भगवानको मुर्तीमा पूजा गर्नु भन्दा पुजारीबाट टीका थाप्नमा तँछाडमछाड गर्दै छन् मान्छे । मन्दिरमा पुगेपछि त भक्त र भगवानको सोझो संवाद हुनुपर्ने हो । यहाँ त भगवान र भक्तको बीचमा गजधम्म बसेको छ एकजना पुजारी । ध्यान भने दक्षिणातर्फ छ पुजारीको । न मन्त्र, न विधि, न पूजाको कुनै क्रम छ, न प्रकृया छ । गणेशको सर्वप्रथम पूजा गर्नु पर्ने विधि पनि पालना भएको देखिएन । पुजारी पनि न ब्राहमणजस्ता न साधुजस्ता रहेछन् । उनको मिश्रित पोशाकले उनको अवस्थालाई झल्काइरहेको थियो । मानिसको व्यक्तित्वको प्रथम झल्को उसको पोशाक लगाउने ढङ्गले दिइहाल्छ । कतै यी पुजारी पनि माक्र्सबाद पढेर जग्गेमा बस्न आएका पुजारी त हैनन्? मनमा प्रन नउब्जेको हैन ।

    कुमार पुजारीसंग कुरा गर्न लागे । ती पुजारी नेपालगंजका रहेछन् । हामी पनि नेपालगंजबाट आएको थाहा पाएपछि पुजारी हामीलाई पछ्याएर फकाउन थाले । अबधीमिश्रित नेपालीमा भने ‘चल्नुहोस म बाबासंग बात कराइदिन्छु, तपाइँका सबै समस्या समाधान गरी दिनु हुन्छ बाबाले’ । शिवधुनीमा चारजना साधु झुम्मिएका छन् । उनीहरुले गाँजा तानेको देखेर मेरो मन टक्क रोकियो । साधु भनेको अध्यात्मको उपल्लो अवस्था हो । साधुहरु लोभी र नशालु भए भने त्यहाँ आध्यात्मिक परिवेश हुँदैन भन्ने लाग्छ मलाई । ज्ञान, त्याग र निर्विकार भाव जुन साधुमा झल्किदैन त्यस्तो साधुलाई श्रद्धा गर्न सक्दैन मेरो मनले । साधु बोलाउँदै थिए, हामी छायाढुङ्गातर्फ लाग्यौं । लाम लागेका मान्छेलाई पुजा गराउन छाडेर पुजारी यसरी हाम्रोपछाडि लाग्नु अनौठो लाग्यो । निकै बेरसम्म हामीलाई डिस्टर्ब गरिरहे ती पुजारीले । उनको आशय कुनै चटक देखाएर हामीबाट किञ्चित् पैसा झार्नु थियो कदाचित् ।

    छायाक्षेत्र मन्दिरपरिसरबाट सय मिटर जति तल भिरालो ठाउँमा रहेछ छायाढुङ्गा । २०५८ सालमा म यहाँ आउँदा यो ढुङ्गा उदाङग थियो । अहिले मन्दिरको संरचना खडा गरेर छोपिएको रहेछ । त्यतिखेर चिल्लो सेतो संखमरमर जस्तो थियो ढुङ्गा । चम्किलो ऐनाजस्तो सो ढुङ्गामा हेर्दा टाढाटाढाका बस्तुहरु छर्लङ्ग देखिन्थे । परपरका दृश्य छायाजस्तै देखिने भएकोले छायाढुङ्गा भनिएको रहेछ त्यसलाई । अहिले त सो ढुङ्गा भत्केको पहराजस्तो मात्रै लाग्यो । २०६० सालमा माओबादीले सो ढुङ्गालाई तोडफोड गरेर कुरुप बनाइदिएका रहेछन् । यद्यपि सो कुरुपताले मान्छेको आस्थालाई भने मार्न सकेको छैन । जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ भन्ने गीत त्यसै लेखेका होइनन् कालीप्रसाद रिजालले ।

    अफगानिस्थानको बामियान भन्ने ठाउँमा बनेका बिशाल बुद्ध मुर्तीलाई इस्लामिक राज्य खडा गर्ने भनेर युद्धरत तालिबान लडाकुहरुले भत्काउँदा संसारले निन्दा गरेको थियो । यहाँको अवस्था पनि त्यस्तै रहेछ । प्रकृतिले दिएको यो सुन्दर कलासंग मानिसको आध्यात्मिक चेतना एकाकार भएर आस्थाको भाव जागृत भएको हो । नेपालमा साम्यबाद ल्याउँछौ भनेर युद्धरत माओबादीले त्यो आस्थाको भावलाई महसुस गर्न सकेनन् । भताभुंग पारिएको पत्थरशिलामाथि पोखिने मानिसको आस्थाको सघनता उस्तै छ तर माओबादीहरु भने निकै फेरिइसकेका छन् ।

    आजभोलि त मन्दिर व्यवस्थापन समितीका पद ओगटेर उनै माओबादीहरु यो पत्थरशिलाको संरक्षण गर्न पो आइपुगेका छन्’ एक जना तीर्थालुको मुखबाट निस्किएको वचन कानमा ठोक्किए पछि कुमारजी र म मज्जाले हाँसेका थियौं हाहाहा ।

    पक्की सडकमाथि फेरि कुद्यौं हामी । थाकेको मन शारदाको बगरैभरी छरियो । चिसो हावाले बतासियो मन । नदी खासै ठूलो हैन । पानी बग्दाबग्दै सुकेको जस्तो । बगेको हो? दौडेको हो? या सुतेको हो? ठम्याउन नसकेर कतैकतै अलमलियो पनि मन । पक्कि घरले भरिएका भोटेचौर र लान्तीबजारका बाक्ला बस्तीभन्दा परपरका फाँट र पहाडी लहर लागे निकै मनमोहक । नदीको बगरै भरी गहुँका बाला लहलह झुलेका गरा छन् । प्रकृतिले यहाँका कुनै पनि कुरालाई खेर जान दिएको छैन । चैवाङजिउलाको पारीपट्टिको एउटा अनौंठो पहाडी ढिस्को देखेर अनौंठो गरी तानियो मन । एकछिन उभिएर हेरिरह्यौं । मनलाई त्यही ढिस्कामा टाँसेर फेरि कुद्यौं हामी ।

    शंखमुलबाट दश किलोमिटर जति कुदेपछि आइपुग्यो श्रीनगर । श्रीनगरसंगै जोडिएको छ शितलपाटी । शारदा नदीको छेउको फराकिलो फाँटमाथि युगल जोडीजस्तै अँगालो हालेर छरिएका छन् श्रीनगर र शितलपाटी । तीव्र गतीमा बिस्तारित र विकसित हुँदै गरेका बजार हुन् यी । आधुनिकताको दौडमा हतारसंग दुगुर्दाका परिणति र प्रभाव सर्वत्र छरपष्ट छन् बजारैभरी । निकै फोहोर र अस्तव्यस्त लाग्यो बजार । यहाँका मान्छेले पैसा कमाउने हतारले सरसफाईतिर ध्यान दिन नसकेको हो कि जस्तो ।

    व्यापारीहरु आँखा ओछ्याइरहेका छन् सडकमा हिड्ने नौला मान्छेपट्टि । जताततै मम, सेकुवा र मदिराका पसल छन् । शाकाहारी होटेलको अभाव देखियो यहाँ पनि । नास्ता खान एउटा होटेलमा पस्यौं । बल्लबल्ल भेटिएको दुध र पाउरोटीमा तराईकै स्वाद भेटियो । पहाडी स्वादको तलतल अधुरै रह्यो ।

    खैरावाङ जाने बाटोको जिज्ञासा पनि पुरा गर्नु छ हामीलाई । होटले साहुलाई सोध्यौं । उनी टेपरिकर्डर जस्तै फरर बोल्न थाले—
    ‘आफूलाई मोटर साइकिल चलाउन निकै सीपालु ठान्नु हुन्छ भने आज यही बास बसेर भोलि बिहान सोझै देब्रे उकालो लाग्नु होस् यदि आरामले जाने मन छ भने खलंगामा बास बसेर उतैबाट घुम्दै जानु होस्’ ।

    ‘सोझै जानु भयो भने ठाडै उकालो एघार किलोमिटर जति उक्लिनु पर्छ, खलंगाबाट पहाडको माथिमाथि सत्र किलोमिटर कुदे पनि सजिलो छ बाटो’ उनले निर्णय लिन सजिलो पारिदिए ।

    आज यतै बसेर भोलि बिहान सोझै उकालो चढ्ने कि? आज खलंगा बसेर भोलि बिहान उताबाट रमाउँदै जाने? भन्ने विषयमा एकछिन गलफती प¥यो । श्रीनगरमा बास बस्न मन लागेको थिएन कसैलाई । ठाडै उकालो चढ्ने पनि हिम्मत आएन हामीलाई । अन्ततः खलंगा हुँदै आरामले जाने निधो गर्‍यौ ।
    श्रीनगरमा शारदा नदीसंगको साथ छुट्यो र उकालोउकालो लाग्यो बाटो । रुकुम जाने सडक छोडेर देब्रे तर्फ मोडियौं र माथिमाथि लाग्यौं । आँखामा सलबलाउन लागे सल्लेरी बनका रुपौला दृश्य । उकालोमा मोटरसाइकिलको गति मत्थर भए पनि आँखा भने बेतोडले कुद्न थाले, आँखाभन्दा मन कुद्न थाल्यो झन् तेज गतिले । श्रीनगरबाट सल्यानको खलंगा नपुग्दासम्म सडक सल्लोले ढकमक्क ढाकिएको पाखोभरी कुदिरह्यो सललललल । नागबेली मोडैमोडको बाटो ठाडै उकालो भएपनि दश किलोमिटर कुद्दै खलंगाको टुप्पोमा पुगेको थाहै भएन ।

    सुनसान छ खलंगा बजार । जिल्लाको सदरमुकाम भए पनि उति सारो चहलपहल छैन । ठाडो थुम्कोको टुप्पो र वरिपरि घुचुमुच्च बसेको छ सल्यान बजार । बाइसे—चौबिसे राज्यहरु मध्ये एक सल्यान नेपाल एकिकरणका महानायक बहादुर शाहको ससुराली पनि हो । उनका ससुराले नेपाल एकिकरण अभियानलाई सघाएका पनि थिए । नेपालका इमान्दार राष्ट्रबादी प्रधानमन्त्रीको नाम लिनु प¥यो भने सबैभन्दा पहिला मरिचमान सिंहको नाम आउँछ । उनको जन्म र कर्मथलो पनि हो सल्यान । मरिचमान सिंहको जीवनसित जोडिएका रोचक प्रसङ्गहरु बडो रुचिका साथ सुनाउन अग्रसर हुँदा रहेछन् सल्यानीहरु । मिलन गेष्ट हाउसका साहुजीले पनि साँझ निकै बेरसम्म उनको बारेमा अनेकौं प्रसंग सुनाए ।

    पतिले त्याग गरेकी एउटी नारीले एक्लै संघर्ष गरेर उनलाई पढाएको, रक्सी र तमाखु बेचेर गुजारा गरेको, पिताले राष्ट्रिय पंचायतको अध्यक्ष भएपछि मात्रै मरिचमानलाई आफ्नो छोराको रुपमा स्विकारेको, शिक्षक भएर पढाएको आदिआदि हामीले चाख मानेर सुनिरह्यौं । खलंगाको दाहिने पट्टिको अर्को थुम्कोमा उनले पढाएको त्रिभूवन माध्यमिक विद्यालयको सुन्दर भवन पनि देखियो । बजारको बीचैमा उनको घर पनि हे¥यौं । हाल नेपाल बैंक लिमिटेड बसेको रहेछ । मरिचमान सिंहलाई सम्झिदा स्नेहको आद्र्रताले भिजिरह्यो मन ।

    खलंगाको पाखोबाट वरपर आँखा डुलाउँदा सल्लाका रुखहरुले पाखाभरी परेड खेिलरहेको आभास गराउँदो रहेछ । जता हे¥यो उतै सल्लाका सर्लक्क उभिएका रुख । यताका डाँडाहरुले अरु बोटबिरुवा उमार्न बिर्सिएजस्तो । अँध्यारो बढेसंगै सल्यानी परिवेश आँखाबाट ओझेल पर्न थाल्यो । अँध्यारो त जहाँको पनि उस्तैउस्तै हो कालो र सुनसान ।

    साँझको बेला उसै पनि शीतल, त्यसैमा सल्यानी बतासले चिसोको अनुभूति गराइरह्यो । सल्यानको चिसोचिसो रातले नेपालगंजको गर्मीलाई बिर्साइदियो ।

    बिहान छिट्टै तयार भयौं । रामनवमीको तिथि परेकोले पेटमा केही नहाली जाने भयौं । रमाइलो गर्न मात्र आएका होइनौं आखिर आस्थाको सतहमा श्रद्धाको सिंचन पनि गर्नु छ हामीलाई । खलंगाबाट झिसमिसेमैं हिड्यौं । खैरावाङ खलंगाको ठ्याक्कै पारिपट्टिको थुम्कोमा छ तर पश्चिम गएर दक्षिण गै फेरि पूर्व मोडिनु पर्छ रे त्यहाँ पुग्नलाई । सैजवाल टाकुरासम्म सललल कुदिरह्यो बाटो । वरपरका पहाडी लहर र थुम्काहरु आँखा तान्दै, आँखा मिच्दै निद्रामुक्त हुँदै छन् । उज्यालो हुँदै जाँदा सल्यानका पहाडहरुको प्रातिभ सौन्दर्य फेरि उजागर हुन थाल्यो।

    सूर्योदयको लालीमा पोखिएका पहाडी पाखाहरु झन्झन् शोभायमान देखिन लागे । वरपर कतै पनि पहिरो, भूक्षय नभएका यताका पहाड भौगोलिक रुपले सुगम नै हुन् । तलतलका होचाहोचा पाखा, खेत र गराले भरिएका छन् भने माथिमाथिका अग्लाअग्ला थुम्काहरु सल्लाका हरिया रुखले ढाकिएका छन् । उत्तरतिर कँजेरी र चाँदेकरेन्जीका पहाडहरु केही अग्ला देखिए । सैजवालटाकुराबाट बाटो कहिले दायाँ, कहिले वायाँ, कहिले माथि, कहिले तल मोडिन लाग्यो । तैपनि पहाडको माथिमाथि समानान्तर दौडिरेहकै छ बाटो । पिपलनेटामा सल्यानको थुम्कोलाई दुई तिरबाट फन्को मार्ने दुईटा बाटा आएर भेटिए । दुधारा पोखराबाट सिमखर्क जाने बाटो पनि छुट्टियो । सजिलो छ भन्थे बाटो, कहाँ सजिलो हुनु?’ बुनु फतफताउन लागिन् ।

    कच्चि बाटो त्यसैमा पहाडको सजिलो त कहाँ हुनु । यद्यपि अन्तका पहाडी बाटोजस्तो यो बाटो खासै असजिलो हैन ।
    नाउले मार्केमा पुगेपछि पिपलको भव्य चौतारो र विद्यालयको सुन्दर भवनले आँखा तान्यो । यहाँबाट बाटो दक्षिण र मधाना भन्ने ठाउँबाट पूर्व मोडियो । पहाड खनेर बनाएका ससाना गरामा गहुँ बाली लहलहाएको छ । वरपर आँखा डुलाउँदै हामी कुदिरह्यौं । मधानामा गिरिहरुका समाधिको बीचैबीचबाट बाटो दुगु¥यो । लच्छिनपुर र हिउल्चा काटेपछि सल्लाका सुन्दर पाखाहरु देखिन लागे ।

    बाटोबाटोमा छरपस्टिएका छन् बजार । बाटोका दोभान वा गोरेटाका चोक भेटिनु हुन्न दुई चार वटा पसल देखिइहाल्ने । दश बारह ओटा पसल भएपछि त ससानो बजारै भैहाल्ने । सल्लाका अग्लाअग्ला रुखले ढपक्क ढाकिएका छन् हिउल्चाका पाखा पनि । सिंगो वातावरण सल्लोमय छ । सल्लो पोखिएका पाखामा अरु कुनै बोटबिरुवाको उपस्थिति देखिएन । सल्लो कसैसित मिलेर, सहकार्य गरेर बस्न सक्दो रहेनछ । यद्यपि यताको मानविय जनजीवन भने मेलमिलापपूर्ण र विविधतामय छ ।

    आर्य, मंगोल र मतवाली समुदायका साझा बस्ती छरिएका छन् पहाडी थुम्काथुम्कामा । यही साझापन र साझामनको साझा चिनारी हो नेपाली संस्कृति भनेको । प्रसिद्ध कवि रमेश क्षितिजको जन्मस्थल हो हिउल्चा । उनलाई पनि सम्झिएँ एक छिन । हिउल्चाका सल्लेरी पाखाहरुको अनुपम सौन्दर्यले नै होला कदाचित् उनीभित्र कविताको झङ्कार झङ्कृत भएको ।

    सिर्सिर बतास चलिरहेको छ । भुँइभरी सुकेका पात खसेर छरपस्ट छन् सल्लोकै । पहाड खोस्रेर बनाइएको साँगुरो बाटो आखिर खैरावाङ पुग्यो । डेड घण्टाको दौडमा सत्र किलोमिटर कुदिएछ । खैरावाङको तल्लो डिलबाट उत्तर फर्केर हेर्दा हातै लम्काएर पनि भेटिएलाजस्तो नजिकै देखिन्छ खलंगा । तर अङ्रेजी अक्षर यु आकारको लामो फन्को मारेर आउनु प¥यो यहाँसम्म ।

    आँखा अगाडि भूवनेश्वरी भगवतिको मन्दिर ठिङ्ग उभिएको छ । यही हो हाम्रो यस यात्राको गन्तव्य भने पनि लक्षबिन्दु भने पनि । वरिपरि छ्याङ्ग खुलेको सफा आकाश, उज्यालो थुम्कोमाथि कलात्मक मन्दिर र मन्दिरसम्म उक्लिने सिढीदार उकालो । मन्दिरभन्दा परपरका थुम्का, हरियालीले भिजेका पाखा, खेत गरा, कान्ला ढिस्काहरु शान्त छन् क्लान्त छन् । चित्ताकर्षक छ परिवेश । हामी पनि उक्लियौ मन्दिरतिर । आँगनभरि मानिसको भीड । बलि चढाउनेको ताँती । कोलाहल, शंख, घण्ट र मानिसको कल्याङमल्याङ । पङिक्तबद्ध भयौं हामी पनि तर मानिसहरुको ठेलमठेल छ । म मन्दिरमा पुगेपछि एकछिन आँखा बन्द गर्न मन पराउँछु तर यहाँको होहल्ला र ठेलमठेलले मनको एकाग्रता भंग गरिरह्यो । मन्दिरमा पुगेपछि शान्त, एकाग्र र ध्यानमा चित्त लगाएर पूजा गर्न जाँन्दैनौं हामी नेपालीहरु ।

    बली चढाएका बोका, पाठाका निर्जिव शरिर र आँगन भरी बगेको रगतले मन दिङ्मिङ् भैरह्यो । बलिप्रथा हिन्दु धर्मको सबैभन्दा ठूलो पतनमार्ग हो स्वामी अवधेशानन्दका वाणीहरुले कानैनिर आएर झस्काइरहे । अहिंसा परमोधर्मको मूल मर्म भएको हिन्दु धर्ममा यो कुप्रथा कसले भित्रायो होला । धर्मको नाममा चलाइएका अरु प्रथालाई हामीले त्याग्दै गए पनि यो प्रथा किन अँगाली राखेका होलान् मान्छेहरुले? अनेक प्रश्न र जिज्ञासाहरु मनभित्र उठी रहे र मनभित्रै निरुत्तर रहे ।

    म त देवीलाई अहिंसा र सदाचारकी प्रतीक मान्छु । मनको, श्रद्धा आस्था र विश्वास चढाइरहेँ मनमनैले ।
    हामी निकै बेर उभियौं मन्दिरको पटाङ्गीनीमा । ढुंगे पर्खालमा उभिएर वरपर आँखा नझिम्क्याएर हेरिरहन मन लाग्यो । बिहानको चिसोचिसो हावासंगै उडिरह्यो एक तमासले मन । मन्दिर तलका गह्राहरु, गाडी पार्किङ् गर्ने ठाउँ वरपर र पसलको आसपासमा प्लास्टिकका झोला र मिनरल वाटरका बोतल फालेको फोहोरले मन कुँडिएर आयो । पूजा गर्न आउनेहरुले पूजा गरिसकेपछि अगरबत्ति, सलाईका खोस्टा, फूल र प्लाष्टिकका झोलाहरु जहाँ पायो त्यही फालिदिने रोग यहाँ पनि देखियो ।

    अक्षर, टीका जहाँ मन लाग्यो त्यही लगाएर मूर्ती र मन्दिरमा चढाइएका त्रिशुल, घण्टहरुलाई कुरुप बनाउनमा तीर्थालुहरुले कुनै कमी गरेका छैनन् । प्रदुषणले च्याप्दै ल्याएको छ खैरावाङलाई । सडकको स्तरोन्नति संगै मानिसको आवत जावत र गाडीमोटरको आवागमन बढेसंगै फोहोर पनि बढ्दै जाने खतरा देखियो । यहाँ पुगेपछि उर्लिएको आस्था र कुतुहलताको छाललाई यहाँको प्रदुषणले निस्तेज बनाइदियो । मानिसलाई मन्दिर आउनु अघि चित्त शुद्धि, शरिर शुद्धि र स्थान शुद्धि गर्नु पर्छ भन्ने मान्यतालाई ख्याल गर्न सद्बुद्धि देऊ भगवति ! मनमनै पुकारेँ ।

    माथिबाट निर्मिमेष नियाली रहेका सूर्य तेजिला किरण प्रहार गर्दै श्रीनगर झर्ने बाटो छेक्न आइपुगे । हामीलाई कुद्नु छ फेरि जति कुदेर आयौं त्यति नै लामो बाटो । ‘धेरै अलमल गरेपछि बाटैमा बस्नु पर्ला हिडौं अब’ धेरै पटक घच्घच्याएपछि बल्ल अल्छि मान्दै उठिन् बुनु र सुदेष्णा । सुस्तसुस्त ओरालो लाग्यौं ।

    आँखाअगाडि पहाडी परिवेशको विहङ्गम दृश्यले नाच्न छाडेको छैन । पहाडहरु, पखेराहरु, चट्टानहरु, ढुङ्गाहरु, देउरालीहरु, खेतहरु, कान्लाहरु, घुम्तीहरु, मोडहरु, खोलाहरु, खोल्साहरु नेपालमा जता गए पनि उस्तैउस्तै हुन्छन् तर जहाँ पुगे पनि नयाँनयाँ लाग्छन् । नयाँपनमा आफ्नोपनको न्यानो भेटिन्छ सर्वत्र । यहाँका सल्लाका बोटहरु पनि आफ्नो मौलिक गान गाइरहेका छन् उसैगरी । मभित्र भने एउटा मुक्तकीय भाव सकसकाउन लाग्योः
    आँखामा आदित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।
    रहरमा लालित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।
    दृष्टि स्वयम्मा अभिधा र भाव अलङ्कार हो भने ।
    दृष्यमा साहित्य खोजूँ कि नखोजूँ म अलमलमा छु ।

    ~ खगेन्द्र गिरि ‘कोपिला’

    नेपालगन्ज, बाँके 

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...