News Portal

खोटाङको रसुवाघाटका माझी समुदायलाई विकासले छोएन

हिमाली संचार संवाददाता
५९१ पटक

खोटाङ १७, फागुन : खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ। तर जिल्लाकै आर्थिक र भौतिक परिवर्तनमा टेवा पु¥याउने गाईघाट–दिक्तेल सडकले हर्कबहादुरको जीवनस्तरमा भने कुनै फरक पार्न सकेको छैन।

यस्तै सुनकोसी किनारमा रहेका रसुवाघाटकै बाबुराम माझीका लागि पनि आँगनकै सडक ‘कागलाई बेल बाक्यो हर्ष न विस्मात’को अवस्था छ। जग्गा मिचेर बनेको सडकबाट बाबुरामले कुनै पनि फाइदा लिन सकेका छैनन्। खोटाङ र पूर्वी तराई सडकले छोएको रसुवाघाट आसपासमा होटल तथा व्यवसाय गरेर आर्थिक प्रगति गर्नेको संख्या बढिरहँदा स्थानीय माझी समुदायको अवस्था भने उस्तै छ।

जग्गा मिचेर सडक बनेको छ। तर उनीहरूले कुनै व्यापार–व्यवसायको अवसर सिर्जना गर्न सकेका छैनन्। बाबुबाजेका पालामा जस्ता थिए, अहिले पनि माझी समुदायको अवस्था उस्तै रहेको स्थानीय ध्यानबहादुर माझीले बताए। ‘सडक बन्नु र नबन्नुमा हामीलाई खासै फरक परेको छैन,’ उनले भने, ‘ठूलो कत्ले (माछा) पर्छ भनेर कोसीमै अलमलिँदै बस्यौं, त्यही भएर कहिले अघि बढेनौं।’ हर्कबहादुर माझी (ख), शुक्र माझी र बाबुराम माझीले सडक किनारामा निस्केर पसल चलाउन थालेका भए पनि व्यावसायिक रूपमा जम्न सकेका छैनन्। लिच्कीराम्चे पुछारमा रहेको रसुवाघाटमा नौ घर माझीको बसोबास छ।

दिक्तेल–गाईघाट, दिक्तेल–सिमपानी र गाईघाट–सिमपानी सडकको त्रिवेणी रसुवाघाटमा बजार विस्तार हुने क्रम तीव्र हुँदा माझी समुदायको अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। सडक किनार र कुनामा होटल तथा पसल खुल्ने क्रम दिनानुदिन बढिरहँदा माझी समुदायका व्यक्ति भने व्यावसायिक रूपमा टिक्न नसकेको स्थानीय बाबुराम माझीले बताए।

एसइई उत्तीर्ण माझी कोही छैनन्

अशिक्षा र गरिबीका कारण रसुवाघाटका माझी समुदायले हालसम्म सडकलाई उपयोग गर्न नसकेका हुन्। यहाँ कक्षा १० उत्तीर्ण गरेका कोही माझी छैनन्। ‘पढ्ने बेला कोसी (नदी) छाडिएन,’ स्थानीय हरि माझीले भने, ‘बाआमाले पनि पढाएनन्। त्यही भएर हामीचैं बालबच्चा पढाउँदैछौं।’ माझी समुदायलाई शिक्षाप्रति प्रोत्साहन गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेको भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तह पठन–पाठनका लागि स्वीकृति प्रदान गरेको छ।

भँडारेघाट र रसुवाघाटका माझी समुदायलाई लक्ष्य गरेर फागुन ७ गते मावि तह सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए। गाउँनजिक मावि नहुँदा भँडारेघाटमा माझी समुदायका विद्यार्थीले कक्षा ८ बाटै पढाइ छाड्ने गरेका थिए।

माझी समुदायमा प्रभुको प्रवेश !

अशिक्षा र गरिबीको चपेटामा रहेका रसुवाघाटका माझी समुदायमा धर्म परिवर्तनको लहर सुरु भएको छ। जाँडरक्सी खाने भएका कारण स्वास्थ्य र परिवारमा पार्ने असरलाई देखाएर माझी समुदायलाई विशेष गरी क्रिस्चियन धर्ममा आकर्षण गराउने गरिएको पाइएको छ। धर्म परिवर्तनका कारण स्थानीय भर्तमान र पूर्णीमाया माझीका छोराहरू विभाजित भएका छन्।

बाह्र छोरा र पाँच छोरीलाई जन्म दिएकी पूर्णीमायाको ७६ वर्षको उमेरमा गत माघ ३ गते मृत्यु भएपछि छोरा हरि र सूर्यले क्रिस्चियन परम्परा र अर्का छोरा वीरबहादुरले हिन्दु परम्पराअनुसार काजक्रिया गरेका छन्। पाँच दिनसम्म फलफूल मात्र खाएर कपाल नखौरी किरियामा बसेका क्रिस्चियन धर्मावलम्बी छोराहरूले आठ दिनमा विधि पूरा गरे भने तीन दिन कुरीमा बसेका हिन्दु धर्मावलम्बी छोराले नौ दिनमा आमाको काजकिरिया पूरा गरेका थिए।

तस्बिर : दमन राई/नागरिक।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...