विकास मरहट्ट
गोरखा – बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् । ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आफ्नै किसिमले जीविका गर्छन् । न बुढालाई बुढीको वास्ता न बुढीलाई बुढाको ।
एकै घरमा दुई भान्सा छन् । एउटा ७० बर्षीया रुपा परियारको र अर्काे उनका श्रीमान ८० बर्षीय नेप्टे परियारको । श्रीमानको भान्छामा पाकेको परिकार श्रीमतीले चाख्न पाउदिनन् । उनी आफू पनि दिन्नन् । भान्सा मात्र होइन उनीहरु सुत्ने ठाउँ पनि अलग्गै छ । एउटा कोठामा नेप्टे बस्छन् भने अर्काे कोठा (बाख्राको खोर) मा रुपा ।
‘भूकम्पले घर भत्कियो अहिले दुई कोठा मात्र बाँकी छ, एउटामा उ बस्छ,’ श्रीमानलाई इंगित गर्दै रुपाले भनिन्, ‘एउटामा म बस्छु ।’ तर उनी बस्ने कोठामा बाख्राहरु पनि बस्छन् । ‘बाख्राको दिसा पिसाबले ओछ्यान भिज्छ, फेरि केही रोग लाग्छ की भन्ने डर पनि लाग्छ, बर्खामा छाना चुहिएर ओछ्यानमा पानी पस्छ’ उनले भनिन् ।
१४ बर्षको उमेरमा रुपाले भारतमै नेप्टेसँग विवाह गरेर गोरखा आएकी थिइन् । उनको माइती भारत नै हो । रोजगारीको सिलसिलामा नेप्टे १५ बर्षको उमेरदेखि नै भारत बस्दै आएका थिए । तर रुपा नेप्टेको पहिलो श्रीमती भने होइनन् । रुपालाई घरमा छाडेर नेप्टे पुन रोजगारका लागि भारत गए । त्यसपछि रुपाले नेप्टेको माया पाउन सकिनन् ।
‘हट्टाकट्टा लक्काजवान केटो देखेपछि बाबाले बिहे गरिदिनुभयो,’ रुपाले भनिन्, ‘म चौथो श्रीमती बनेर भित्रिएकी हुँ ।’ विहे भएको केही बर्ष देखिनै रुपा र श्रीमान नेप्टे परियार बिच मनमुटाव शुरु भयो । ‘मलाइ बिहे गरेपछि पनि अर्काे बिहे गर्न उहाँले छाड्नु भएन,’ उनले भनिन् ।
विहे गरेर गोरखा आएका श्रीमान रुपालाई यही छाडेर फेरि भारत गए । दूरी टाढिएसँगै उनीहरुको मन पनि टाढियो । मनमुटाव शुरु भएको श्रीमान श्रीमतीको चार दशकसम्म मिलन हुन सकेन । नेप्टेले पुन अर्काे विवाह गरे ।घर खर्चका लागि श्रीमानको भरपर्नु व्यर्थ भयो । बिहान वेलुकीको छाक टार्न उनी आफैले श्रम गरिन् । ‘नेपाल आएपछि बुढाबुढी सँगै बसौला भन्ने ठूलो रहर थियो कहिले पूरा भएन,’ उनले भावुक हुदै भनिन् । श्रीमानले वेवास्ता गरेपछि उनी कहिले श्रम गरेर त कहिले मागेर पेट पाल्न बाध्य भइन् । ‘मलाइ यहाँ छाडेर गएपछि पाँच पैसा पनि पठाएन, म पेट पाल्न गाउँमा माग्दै हिँडे, कहिले मेलापात पनि जान्थे,’ उनले दुखेसो पोखिन् ।
परियार दम्पतीको ३ मध्ये दुई छोरीको मृत्यु भयो । अर्की छोरीको विवाह भइसकेको छ । बुढेसकाल लागेसँगै रुपाका श्रीमान पनि अहिले घरमै र्फकेका छन् । तर उनीहरुबीच न बोलचाल हुन्छ न एकले अर्कालाई सहयोग गर्छन् । हातमुख जोर्नका लागि रुपाले १० वटा बाख्रा पालेकी छिन् । बाख्रापालनबाटै उनको जीविका चलेको छ ।
भूकम्प पीडितलाई सरकारले दिएको अनुदान रकमबाट अहिले उनले एक कोठे नयाँ घर बनाइरहेकी छिन् । कहिले काही उनी छाक टार्न र ओत लाग्न देउरानीको घरमा जाने गर्छिन् । तर सँगै जीउने कसम खाएर विवाह गरेका श्रीमानले भने उनलाई वास्ता गर्दैनन् । ‘काम गर्न सकुन्जेल त जसोतसो गरेर पेट पालौला नसकेपछि के गर्ने हो चिन्ता लाग्छ,’ उनले भनिन् ।
युवा उमेरमा धेरै विहे गरेका नेप्टे पनि अहिले एक्लै छन् । काम गर्न भारत जाँदा चारवटासम्म विहे गरेका उनीसँग पत्नीको रुपमा अन्तिममा रुपामात्रै छिन् । त्यसैले २०७२ सालको भूकम्पपछि नेप्टे पनि रुपाकै घरमा आए । तर सम्बन्ध भने सुधार हुन सकेन ।
उनी रुपाकै कारण एउटै भान्सामा खाना खान र संगै बस्न नपाएको बताउँछन् । ‘सँगै बसौं भन्यो मान्दिन, बाख्रा पालेर कमाई गरेकी छे, म बुढाको केही छैन,’ उनले भने । दुई दम्पत्तिलाई मिलाउन छिमेकीहरुको प्रयास पनि असफल हुदै आएको छ । अनलाइनखबर