
भक्तपुर, १८ मंसिर – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको छ। यस दिन घरघरमा चामलको पिठोबाट बनेको यमरी पकाएर गीत गाउँदै बाँड्ने परम्परा छ।
यमरी पुन्हीमा घरका युवायुवतीले “त्य:छिं त्य:, बकछिं त्य:” जस्ता पुराना गीत गाइरहँदा यमरी, धान, चामल र अन्य सामग्री माग्ने चलन छ। संस्कृतिकर्मीका अनुसार यो प्रचलन मल्लकालदेखि सुरु भएको हो। यमरीलाई कुबेर र गणेशको प्रतीक मानिन्छ र यस दिन दान गर्दा धनसम्पत्ति बढ्ने विश्वास गरिन्छ।
गृहिणीहरूले चामलको पिठोबाट रोटी जस्तो बनाइ त्यसको भित्र तिल, मास, खुवा र गुँदपाक राखेर त्रिकोण आकारमा पकाउने गर्छन्। पकाएको यमरी चार, छ र बाह्र दिनसम्म धानका भकारीमा राखेर पूजा गर्ने र आफन्तलाई भोज खुवाउने चलन छ।
किम्वदन्ती अनुसार पाञ्चालदेशमा बस्ने दानी सुचन्द्र दम्पतीले धनपति कुवेरलाई सत्कार गरी यमरी खुवाएका थिए। त्यसयता नेवार समुदायले यमरी पुन्हीमा देवीदेवताको पूजा गर्दै धन र अन्नको वृद्धि सुनिश्चित गर्ने विश्वास राख्दै आएको छ।
आज पनि यमरी पुन्ही नेवार संस्कृति र परम्पराको जीवित उदाहरणको रूपमा मनाइँदै आएको छ।
