
काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल र नेतालाई जिताउन चुनाव प्रक्रियामा हस्तक्षेप गरिरहेको दाबी गरेका छन्।
प्रेस चौतारीको अन्तरक्रिया कार्यक्रममा गुरुङले भने, “७० वर्षको संघर्षले बनेको संविधानलाई बाह्य शक्तिहरूले कमजोर पार्ने प्रयास गरिरहेका छन्। उनीहरूले आफूअनुकूल दल र नेताले जित्ने अवस्था नबन्दा चुनाव हुने छैन।”
उनले निर्वाचन मिति घोषणा भएपनि एमालेलाई जिल्ला जिल्लामा कार्यक्रम सञ्चालनमा रोक लगाइएको र यसले बाह्य हस्तक्षेपको संकेत दिएको बताए। गुरुङका अनुसार, विदेशी शक्ति नेपालभित्र विशेष परिस्थिति सिर्जना नभएसम्म चुनाव गराउन इच्छुक छैन।
साथै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाएर बाह्य हस्तक्षेपको योजना असफल बनाउने र संविधानलाई सही स्थानमा राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।