
काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सो दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादीमा घोषणा सभा आयोजना हुने जनाएको छ।
घोषणा सभामा प्रमुख अतिथिका रूपमा उर्जा मन्त्री कुलमान घिसिङ उपस्थित हुनेछन्। कार्यक्रममा पार्टीको दीर्घकालीन उद्देश्य, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ सार्वजनिक गरिनेछ।
पार्टीको विज्ञप्तिमा भनिएको छ कि उज्यालो नेपाल पार्टी केवल नयाँ दलको रूपमा आएको होइन, नेतृत्व र कार्यकुशलताका साथ जनताको विश्वास जित्ने क्षमता राख्दछ। पार्टी समान दृष्टिकोण भएका वैकल्पिक दल, संगठन र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको पनि उल्लेख गरिएको छ।
साथै, जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवादमार्फत सबै पक्षसँग एकजुट हुन पार्टीले आह्वान गरेको छ।