
विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा झापाका दुई जना र इलामका एक जना छन्। उनीहरूलाई सुरुमा लागुऔषध कारोबारीको खोजीका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद हतियार र गोलीसहित तीनै जनालाई कारबाहीको लागि काठमाडौं पठाइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, दमक–८ का २५ वर्षीय सरोज पुरीले रानीपोखरीबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली राखेको पाइयो। पुरीले अर्को पेस्तोल र गोली आफ्नो साथी विश्व लिङ्देनलाई दिएको स्वीकारेका छन्।
इलामको चुलाचुली गाउँपालिका–४ का ३० वर्षीय पवन हाङसुङ्वाले उक्त पेस्तोल २० हजार रुपैयाँमा किनेको बताए। प्रहरीले माटोमा गाडिएका पेस्तोल र ५ राउण्ड लोड भएको गोली बरामद गरेको छ।
प्रहरीका अनुसार तीनै जना प्रारम्भिक अनुसन्धानमा लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन् र थप अनुसन्धान र कारबाही प्रक्रिया जारी छ।