
काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब पार्टीले सक्रियतापूर्वक तयारी अघि बढाउनुपर्ने बताएका छन्। उनले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकिएको स्मरण गराउँदै अब निर्वाचन तयारीमा कुनै ढिलाइ नगरी योजना, विचार र सिद्धान्तमा आधारित काम गर्नुपर्नेमा जोड दिएका छन्।
डा. वाग्लेले भने, “हामीले अब कम्तीमा १ सय २० दिनभन्दा कम समयमै निर्वाचन तयारीमा जुट्नुपर्छ। जनतालाई प्रेरित गर्न र नेतृत्व सम्हाल्न रास्वपा तयार छ।”
उहाँले बैठकमा पार्टीका सबै नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनका लागि एकजुट भएर लाग्न पनि निर्देशन दिनुभएको छ।