
रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग हुने ढककी, सुप्पा, कोनिया, ढाला जस्ता बाँसका चोया सामग्री बनाउन स्थानीयहरू व्यस्त भएका छन्।
रंगेली नगरपालिका–६ स्थित माझी टोल र मल्कालिक टोलमा बसोबास गर्दै आएका करिब ६० घरपरिवार अहिले छठ पर्वका लागि यी सामग्री बनाउन व्यस्त छन्। उनीहरू तराई क्षेत्रमा पाइने बाँसबाट चोया निकालेर आवश्यक सामग्री तयार पार्दै आएका छन्।
बिगतमा यही पेशाबाट राम्रो आम्दानी हुने गरे पनि अहिले खुला सिमानाका कारण भारतीयहरूले नेपालमा आएर सस्तो मूल्यमा यस्ता सामग्री बिक्री गर्न थालेपछि आफ्नाे रोजगारीमा असर परेको स्थानीय रुपेश मल्लिकले बताए।
उनका अनुसार यो पुर्ख्यौली पेशा भएकाले आफूहरूले यसको जगेर्ना गर्दै आएका छन्। तर बाँस महँगो भएको र सामग्री बनाउँदा हातखुट्टा कुटिने, कानिने समस्या हुने पनि बताए।
उनीहरूले तयार पारेका सामग्रीहरू रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारमा बिक्री गर्छन्। एक दिनमा ८ देखि १० वटा सुप्पा बनाउन सकिने र एउटा बाँसबाट ५ देखि ६ वटा सामग्री तयार हुने मल्लिकले जानकारी दिए।
छठ पर्वका लागि अहिले बजारमा सुप्पा प्रतिगोटा १५० रुपैयाँ, ढककी ३०० देखि ३५० रुपैयाँ र ढकना १०० रुपैयाँसम्म बिक्री भइरहेको छ।
अहिले उनीहरू छठ पर्वमा आवश्यक पर्ने अन्य सामग्रीहरूको जोहो गर्न पनि थालेका छन्।
