News Portal

सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

३५३ पटक

रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा बढी घरपरिवार अहिले दाम्लो, डोरी र मुखाडी बनाउन व्यस्त छन्। तिहार पर्व नजिकिँदै जाँदा गाउँका घरआँगन रंगीचंगी देखिन थालेका छन्। घरका सबै सदस्यहरू सन्पाट (पटुवा) र प्लास्टिकका डोरीको प्रयोग गरेर दाम्लो, डोरी, मुखाडी र जाबी बनाइरहेका देखिन्छन्।

सन्पाटलाई टेडुवामा थोरै–थोरै गरी बट्ने गरिन्छ। त्यसपछि त्यसबाट तयार भएको डोरीलाई निकालेर दाम्लो, डोरी र मुखाडी बनाइन्छ। तयार दाम्लो र मुखाडीहरूमा रातो, पहेँलो र हरियो रंग लगाई घाममा सुकाउने दृश्य अहिले गाउँभर देख्न सकिन्छ।

तराई क्षेत्रमा प्रायः सबैको घरमा गाई–गोरु पाल्ने चलन छ। तिहारको लक्ष्मीपूजाका दिन विशेषगरी गाईपूजा गरिन्छ। सो दिन गाईको घाँटीमा नयाँ डोरी, दाम्लो र मुखाडी लगाएर, शरीरभरि रंग र माला लगाई बेहुलीझैँ सजाउने परम्परा छ। यही अवसरका लागि सो गाउँका केवर जाति परिवारहरूले ठूलो परिमाणमा दाम्लो र मुखाडी बनाउने गर्छन्।

रंगीला देवी केवरतका अनुसार यो उनीहरूको पुर्ख्यौली पेशा हो। तिहारको तयारीका लागि उनीहरूले साउन महिनादेखि नै दाम्लो र मुखाडी बनाउन सुरु गर्छन्। बजारमा यसको बिक्री वितरण तिहार नजिकिँदै जाँदा धेरै हुने भएकाले उनीहरूले तीन महिना अघिदेखि नै काम थालेका हुन्।

उनका अनुसार ४० किलो सन्पाटबाट करिब ३०० देखि ४०० वटा दाम्लो र मुखाडी बन्ने गर्छ। एक वटा दाम्लो बजारमा करिब ४० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

तर बजारमा अहिले प्लास्टिकका डोरीहरू सहजै पाइने भएकाले आफूहरूलाई व्यापारमा ठूलो असर परेको उनको दुखेसो छ। उनले भनिन्, “१५ वर्षअघि प्लास्टिकका डोरी बजारमा नहुँदा सन्पाटबाट बनाएको दाम्लो ५०–६० रुपैयाँमा बेच्दा राम्रै आम्दानी हुन्थ्यो।”

गाउँका महिलाहरू घरमै बसेर श्रीमान् र छोराछोरीसँगै दाम्लो र मुखाडी बनाउँछन्। तयार भएका सामानहरू पुरुषहरू मोरङका रंगेली, विराटनगर, कर्सिया, रामचोक, दोहमना, सुनसरीका ईटहरी, झुम्का, भान्टाबारी, लेटाङ, पथरी, झापाका दमक, चाराली, बिर्तामोड, सिराहा, जनकपुरलगायतका बजारमा साइकिलमा लिएर बिक्री गर्न जान्छन्।

हाल गाउँका सयौं घरपरिवारले यही पुर्ख्यौली पेशाबाट आम्दानी गर्दै दैनिकी चलाइरहेका छन्। दाम्लो र मुखाडी बनाउने र बेच्ने यही कामले उनीहरूको घरधन्दा र जीवनयापन टेकेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...