
काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू गम्भीर रूपमा सोचिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निश्चित विधि अपनाएर मात्र नेतृत्व परिवर्तन गर्न सकिने प्रष्ट पारे।
उनका अनुसार, पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा यसबारे छलफल भइसकेको छ। प्रचण्डले नेतृत्व हस्तान्तरण गर्दा पार्टीको एकता र ऐतिहासिक गौरव कमजोर नपार्ने गरी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
देश अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै उनले विदेशी हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन सबै राजनीतिक शक्ति, बुद्धिजीवी र नागरिक समाज एकजुट हुनुपर्ने बताए। “हजारौँ युवाले गरेका बलिदानको सम्मान गर्न सक्ने शक्ति माओवादी केन्द्रमै छ,” उनले भने।
आगामी निर्वाचनबारे प्रचण्डले भने, “निर्वाचन सहज छैन, तर सबै मिलेर अघि बढे सम्भव छ।” उनले घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राख्दै त्यसबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतितर्फको बाटो खोल्न सकिने विश्वास व्यक्त गरे।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
