
काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ सुमना श्रेष्ठविरुद्ध गरेका टिप्पणी फिर्ता लिँदै आत्मालोचना गरेका छन्।
हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफूले भावनामा आएर अनुचित अभिव्यक्ति दिएको स्वीकार गरेका हुन्। उनले त्यसबापत दुख व्यक्त गर्दै क्षमा मागेका स्रोतले जनायो।
यसअघि सभापति रवि लामिछानेको कारागारमुक्ति विषयमा छलफल हुँदा ढकाल र श्रेष्ठबीच वाकयुद्ध भएको थियो। त्यही क्रममा ढकालले ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गर्दै सभापतिविरुद्ध उत्रनेहरूले पार्टी छाडे हुन्छ भन्ने टिप्पणी गरेका थिए।
श्रेष्ठले तीन दिनअघि पार्टी छाडेपछि ढकालप्रति असन्तोष देखिएको भए पनि, आत्मालोचना भएको बैठकमा नेताहरू मौन बसेको बताइन्छ।
सो बैठकले असोज २ गतेदेखि पार्टीका नियमित गतिविधि सञ्चालन गर्ने र आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना सफाइ तथा पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ।