संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो।
शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन्।
आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन्।


















