
काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्।
ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा योगदान पुर्याए पनि नवउदारवादी नीतिका कारण अहिले नेतृत्व गर्न सक्ने क्षमता छैन। उनले समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी एमालेबाहेक अरू दलले पूरा गर्न सक्दैन भनी बताएका छन्।
माओवादी केन्द्रबारे ओलीले भने– अस्थिरता, अवसरवाद र विभाजनकारी प्रवृत्तिका कारण यो दल अहिले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले कमजोर हुँदै गएको छ। उनका अनुसार प्रचण्ड नेतृत्वमा लिइएको ‘माओवादी मार्ग’ असफल भइसकेको छ।
मधेसकेन्द्रित दलहरूलाई उनले संकीर्ण र यथास्थितिवादी दृष्टिकोण बोकेको भन्दै राष्ट्रको नेतृत्व गर्न असक्षम भनेका छन्।
राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने प्रयासमा लागेका र केहीले धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजेको ओलीको टिप्पणी छ।
रास्वपा लगायतका केही दल र नेताहरूले समाजमा उत्पन्न असन्तुष्टिलाई फाइदा लिन खोजेको भन्दै उनले तिनलाई ‘पपुलिस्ट’ भनेका छन्।
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्तिको निर्णायक शक्ति बनाउन अघि बढेको र नेपालमा राष्ट्रिय शक्ति र आत्मसमर्पणवादी शक्ति बीच निरन्तर प्रतिस्पर्धा हुँदै आएको दाबी गरेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
