कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की आएपछि यातायात व्यवस्था विभागमा सुरक्षा कडा गरिएको छ।
विभागका महानिर्देशक राजीव पोखरेलमाथि विरोध समूहले कालोमोसो फ्याँक्ने योजना बनाएको जानकारी पाएपछि सुरक्षाको विशेष व्यवस्था गरिएको हो। महँगो मूल्यमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भएपछि विरोध र तनाव बढिरहेको बेला आइतबार प्रहरी परिचालन गरिएको बताइएको छ।
साउन १२ गते बसेको विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेसँगै विभागले केही दिनअघि सूचना जारी गरेको थियो।
विभागका निर्देशक नरहरि तिवारीले भने, “प्रहरी सुरक्षा भए पनि अवस्था सामान्य छ। बजारमा विरोध र हल्ला देखिएपछि सुरक्षाको व्यवस्था गर्नु स्वाभाविक हो।”

















