सामाजिक सञ्जालमा जुहारी होइन, काम गर्नुहोस्’ – कर्मचारी युनियनको बालेनलाई सन्देश

काठमाडौँ, चैत्र १२ – काठमाडौं महानगरपालिकामा प्रशासकीय नेतृत्व नहुँदा दैनिक सेवा प्रभावित भएको भन्दै स्थानीय तह कर्मचारी युनियनले तत्काल समस्या समाधान गर्न माग गरेको छ। संघका अध्यक्ष नरबहादुर शाहले सोमबार मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाउँदै सामाजिक सञ्जालमा जुहारी खेलेर होइन, समस्या समाधानमा ध्यान दिन आग्रह गरे।
ज्ञापनपत्रमा महानगरको प्रशासकीय नेतृत्वविहीन अवस्थाका कारण कर्मचारी तथा कामदारको तलब भत्ता रोकिएको, विकास निर्माण प्रभावित भएको र कार्यालय सामग्री खरिदमा समस्या देखिएको उल्लेख छ। राजधानीको व्यवस्थापन प्रणाली नै प्रभावित हुँदा पनि सम्बद्ध पक्ष गम्भीर नबन्नु खेदजनक भएको युनियनको भनाइ छ।
संघले प्रमुख प्रशासकीय अधिकृतमाथि उठेका विषयहरू कानुनी प्रक्रियाबाट टुंग्याउन माग गर्दै, भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोसुकैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ। साथै, कर्मचारीहरूमाथि हुने अनधिकृत दबाब, दुर्व्यवहार तथा त्रास सिर्जना गर्ने कार्य तत्काल रोक्नुपर्ने चेतावनी दिएको छ।
संघले २०८१ चैत २५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरी महानगरको दैनिक कार्य सञ्चालन सुनिश्चित नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।


















