News Portal

गोरखाबाट जितेका प्रचण्डले सांसदबाट राजीनामा दिनुपर्छ : भट्टराई

हिमालीसंचार संवाददाता
३९२ पटक
२०८० चैत २३ गते शुक्रबार

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको सहयोगमा जितेर धोका दिनु राजनीतिक हिसाबले अनैतिक हुने बताए।

‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो, त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन’, बिहीबार गोरखाका पत्रकारसँग भट्टराईले भने, ‘उहाँले पूर्वगठबन्धन छाड्ने हो भने जसको सहयोगमा जित्नुभएको छ, उनीहरूलाई धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

गोरखा-२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो। जहाँ २०७९ को चुनावमा उनले प्रचण्डका लागि छाडिदिएका थिए। प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा सत्ता स्वार्थलाई भएको भट्टराईले बताए। विगतमा पार्टीका मात्रै सत्तामुखी प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको आरोप पनि भट्टराईले लगाएका छन्।

‘विगतको मेरो सहकार्यले के देखाउँछ भने उहाँ पार्टीको असाध्यै सत्तामुखी मान्छे, अब राज्यको सत्तामुखी देखिन थाल्नुभयो’, उनले भने, ‘उहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ। सत्ता र शक्तिमा टिकिरहनका लागि जे पनि गर्न सक्नुहुन्छ।’

प्रचण्डले प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर गठबन्धन फेरिरहने गरेको आरोप पनि भट्टराईले लगाएका छन्। उनले पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सरकारबारे कुरा गर्दै माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने बताए। कसलाई सहयोग गर्ने भन्ने आवश्यकताका आधारमा निर्णय हुने भट्टराईले जानकारी दिए।

‘अहिलेसम्म माओवादीले हामीलाई षड्यन्त्रपूर्वक धोका दिने काम गरेको छ। उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरूलाई साथ दिन सकिँदैन।’ गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनलाई सहयोग नगरे गठबन्धन बाहिर बहुमत पुग्ने अवस्था छ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ। नयाँ सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भइनसकेको भट्टराईले बताए। ‘अर्को पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुङ्गो छैन’, उनले भने, ‘त्यसैले केही समय पर्ख र हेरमा छौँ।’

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...