एमालेको झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्रा पाँचथर पुग्यो

मंसिर-३०,शनिबार/फिदिम – नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा विभिन्न प्रदेश र जिल्ला पार गर्दै आज शनिबार पाँचथर सदरमुकाम फिदिम पुगेको छ।
गत मंसिर १४ गतेदेखि शुरु भएको अभियान पुस १ गतेसम्म मध्यान्ह मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु चिवाभञ्ज्याङ पुगेर समापन गर्ने एमालेले जनाएको छ। यात्रामा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीसहित पार्टीका पदाधिकारी र जनवर्गीय संघठनसहित कार्यकर्ता र शुभेच्छुक गरेर दुई सय जना सहभागी रहेको एमाले पाँचथरका जिल्ला अध्यक्ष बिमल सापकोटाले जानकारी दिए।
यात्राका क्रममा ओलीसहित एमाले नेता कार्यकर्ता दुई दिनसम्म पाँचथर जिल्लामा रहनेछन्। आज शनिबार फिदिममा बृहत् आम सभाको आयोजना गरिएको छ। सभामा ओली एक्लैले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जिल्लामा रहँदा ओलीले एमाले पार्टी कार्यालय रहने पुष्पलाल बहुउद्देश्सीय भवन र याङवरक गाँउपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
एमालेको संकल्प यात्रा अगाडि बढिरहँदा पहिचान पक्षधरले नेतृत्व गरेको प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पाँचथर जिल्लामा पर्ने मध्य पहाडी लोकमार्ग बन्दको आह्वान गर्दै अवरोध गर्ने प्रयास गरेका छन्।
जसका कारण जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । एमाले अध्यक्ष ओलीले आम सभालाई सम्बोधन गर्ने भएपछि सदरमुकाम फिदिमको सुरक्षा व्यवस्था चुस्त पारिएको श्रोतको भनाईछ।
















