News Portal

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी, एमालेले हतार नगर्ने

रघुनाथ बजगाईं
३७५ पटक

काठमाडौं। राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन।

आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर बिदा हुँदैछन्। कार्यकाल सकिएर बिदा हुन लागेका मध्ये विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनित सांसद हुन्। उनको ठाउँमा राष्ट्रपतिबाटै मनोनित भएर अर्को सांसद आउँछन्। बाँकी १९ पदका लागि निर्वाचन हुनेछ।

पद रिक्त हुनु एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान तोकिएको छ। यससँगै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल सुरु भएको नेताहरुले बताएका छन्।

नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा पनि राष्ट्रिय सभाको चुनावका विषयमा दलहरुका बीचमा अनौपचारिक संवाद सुरु भएको बताउँछिन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ मा सहभागी हुन युएई जानु अगाडि शीर्ष नेताहरुको बीचमा राष्ट्रिय सभाको चुनावको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्ड आइतबार मात्र स्वदेश फर्किएका छन्। आन्तरिक गृहकार्य भइरहेको र छिट्टै गठबन्धनमा छलफल हुने नेताहरु बताउँछन्।

भागबन्डाको तयारी यस्तो छ

सत्तारुढ दलहरु राष्ट्रिय सभाको १९ सिटका लागि भागबन्डा मिलाउने प्रयासमा छन्। शीर्ष नेताहरुको छलफलपछि भागबन्डाको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी नेताहरुले पाएका छन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सहमतिको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी अनौपचारिक रुपमै प्राप्त गरेका हुन्।

जिम्मेवारी पाएका नेताहरुबीच भएको छलफलले मतभार अध्ययन गरेर प्रस्ताव तयार पार्ने सानो समूह बनाएको छ। नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भागबन्डा गर्ने गरी प्रारम्भिक खाका बनेको छ। चुनाव हुने १९ सिटमध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना उम्मेदवार उठाउने भनिएको छ।

राष्ट्रपतिबाट मनोनित अर्का एक जना सांसद थपिंदा कांग्रेसको भागमा १० राष्ट्रिय सभा सदस्य हुनेछन्।

तर सरकारमा रहेका नागरिक जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उन्मुक्ति पार्टी (नाउपा)लाई समेटिएको छैन। ‘सबै साना दललाई समेट्न गाह्रो हुने अनुमान छ। यही आधारमा चार दलका बीचमा भागबन्डा गर्ने गरी खाका तयार भएको हो’ एक नेताले भने, ‘नेताहरुबीच छलफल हुन बाँकी नै छ।’

मधेश प्रदेशमा लोसपा चौथो ठूलो दल हो। यो प्रदेशमा माओवादी केन्द्र र जनमत पार्टी हाराहारीमा छन्। मधेश प्रदेशमा एमालेको २३०२ मतभार छ। कांग्रेसको ३१०४, जसपाको १८१७, माओवादी केन्द्रको ७६६ र जनमत पार्टीको ७४६ मतभार छ।

सुदूरपश्चिम प्रदेशमा नाउपामा मतभारका दृष्टिमा चौथो ठूलो दल हो। यो प्रदेशमा एकीकृत समाजवादी भन्दा अगाडि नाउपा रहेको छ। यो प्रदेशमा कांग्रेसको २६४१ मतभार छ। एमालेको १४८०, माओवादी केन्द्रको १०५८, नाउपाको ५०४, एकीकृत समाजवादीको ३०७ मतभार छ।

कांग्रेसले कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक सिट, बागमती र गण्डकी प्रदेशमा दुई/दुई सिटमा उम्मेदवार उठाउने प्रस्ताव छ।

माओवादी केन्द्रले, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिममा दुई सिटमा उम्मेदवार उठाउनेछ। एकीकृत समाजवादीले बागमतीमा दुई सिट र कर्णालीमा एक सिटमा उम्मेदवार उठाउनेछ। मधेश प्रदेशमा एक सिटमा जसपाले उम्मेदवार उठाउनेछ।

एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी एमालेले भने मध्यपहाडी लोकमार्गमा जारी यात्रा सकिएपछि मात्र छलफल गर्ने नेताहरु बताउँछन्। ‘अभियान सकिएपछि राष्ट्रिय सभाको चुनावबारे आन्तरिक गृहकार्य सुरु हुन्छ’ एमाले सचेतक महेश बर्तौला भन्छन्, ‘तेस्रो सातामा मनोनयन भएकाले पुसको दुई साता गृहकार्य हुन्छ।’

एमालेको अभियान १ पुसमा सकिनेछ। बर्तौलाका अनुसार मध्यपहाडी यात्रा सकिएपछि नेताहरु काठमाडौं केन्द्रित हुनेछन्। त्यसपछि एमालेले राष्ट्रिय सभाको चुनावमा लिने नीति अख्तियार गर्नेछ।

राष्ट्रिय सभा सदस्यमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। मतदान गोप्य हन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १९/१९ रहेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...