News Portal

  • चौधरी फाउन्डेसनले बनाएको नाम्डोललिङको नमुना बस्ती

    हिमालीसंचार संवाददाता
    ४२२ पटक

    काठमाडौँ। २०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो। महाभूकम्पले सबैको घर त भत्काइदियो नै मानवीय रूपमा समेत ठुलो क्षति पुग्यो।

    ६२ परिवारका करिब ३ सय मानिस ओतविहीन बने। तत्कालको आपत् टार्न उनीहरूले अस्थायी छाप्रो बनाए। कतिले जस्ता पाता बेरेर बनाइएको सानो आवासमा खुट्टा खुम्च्याएर कैयौँ रात बिताए। उनीहरूले जेनतेन आफ्ना दुःखका दिन काटे।

    उनीहरूको समस्या नेपालका अर्बपति विनोद चौधरीको कानसम्म ठोक्किन आइपुग्यो। तत्कालै चौधरीले ढलेको यो बस्ती पुनर्निर्माणको नेतृत्व लिन चौधरी फाउन्डेसन तयार रहेको सन्देश पठाए।

    २०७२ सालको वर्षात् अघि चौधरी फाउन्डेसनको टिम नाम्डोललिङ बस्ती पुग्दा घर मूलीहरू नजिकिएको झरीबाट आफ्नो परिवारलाई कसरी जोगाउने भन्ने चिन्तामा डुबेका थिए। अहिले उनीहरू ढुक्कका साथ आफ्नो पक्की घरमा निर्धक्क रात बिताउँछन्।

    हाल उनीहरू आफ्नो बस्तीलाई सिँगार्न लागेका छन्। २३ वर्षीया अस्मिता तामाङ अहिले सांसद चौधरीले बनाएको नाम्डोललिङ नमुना बस्तीको नयाँ घरमा बस्छिन्। दुई छोरी, एक छोरा र श्रीमानसँग नयाँ घरमा बस्न पाउँदा उनी निक्कै खुसी छिन्।

    ‘भूकम्पपछिका केही वर्ष टहरामै कष्टका साथ बिते। कहिले पानी चुहिने त चिसोले त्यस्तै बेहाल बनाउने। त्यसमाथि भूकम्पको डर। मन आत्तिइरहने अहिले सम्झँदा पनि कहाली लाग्छ’, अस्मिता भन्छिन्, ‘ती दिन सम्झिँदा म अहिले आफूलाई निकै भाग्यमानी ठान्छु । किनभने अब त भूकम्प आयो नै भने पनि हाम्रो घर ढल्ने छैन भन्ने मलाई विश्वास छ।’

    टहरोमा कष्टपूर्ण जीवन बिताउँदा उनकी छोरी मात्र तीन महिनाकी थिइन्। सुत्केरी अवस्थामा भूकम्पको डर, शीत, पानी, किराको टोकाई अहिले उनलाई नमिठो सपना जस्तो लाग्छ। ‘टहरामा बस्दा घर जस्तो पनि त लाग्दैन। भूकम्प आएर टहराले पनि थिच्ने हो की भन्ने डर भइरहन्थ्यो’ उनले भनिन्।

    त्यसबेला भूकम्पले खोसेको खुसी अहिले गिरानचौर वासीको अनुहारमा फिर्ता भएको छ। ढुङ्गा छापेर फराकिलो बनाइएको सडक, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध रहेको एकीकृत सुन्दर बस्तीको अहिले जिल्लामा मात्रै होइन, धेरै टाढा टाढासम्म पनि नाम चलेको छ। सुन्दर बस्तीको एउटा तस्बिर मात्रै पनि यस गाउँलाई चिन्न काफी भएको छ।

    भूकम्पले तहसनहस पारेको नाम्डोललिङ गाउँलाई झनै सुन्दर बनाउन सकिनेछ भन्नेमा सिङ्गो गाउँवासीलाई विश्वास थिएन । तर, चौधरी फाउन्डेसनको सहयोगी हातको साथ पाएपछि उनीहरूले सपना जस्तै लाग्ने सुन्दर बस्ती उपहार पाएका छन्।

    सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ गिरानचौर निवासी विकेन्द्र तामाङ हिजोआज घर वरिपरि रिटेन्सन वाल बनाउन व्यस्त देखिन्छन्। विकेन्द्र मात्र होइन, यहाँका अधिकांश गिरानचौरवासी अहिले आफ्नो घरको सुरक्षा र सुन्दरता भर्ने काममा लागिपरेका छन्। पक्की घर पाएपछि उनीहरूको प्राथमिकता फेरिएको छ। उनीहरू आफ्ना साना बालबालिकाका लागि खेल मैदान र मनोरञ्जन स्थल बनाउनमा केन्द्रित बनेका छन्।

    ‘भूकम्पले हामीलाई घरविहीन मात्र बनाएन, सम्पूर्ण गिरानचौर बस्ती नै सखाप पारिदियो। शोकमा डुबेका हामीलाई चौधरी फाउन्डेसनले घर बनाइदिएर बाच्ने आधार तयार गरिदियो। अहिले भूकम्पले थलिएको नाम्डोललिङ गाउँ पहिलेभन्दा फरक र नमुना बस्तीका रूपमा ठडिएको छ‘, ४० वर्षीय विकेन्द्र भन्छन्, ‘घरहरू बनेपछि बस्तीमा केही पूर्वाधारको कमी छ। स्थानीय सरकारसँग मिलेर अहिले हामी बस्तीमा पूर्वाधार निर्माण गर्दैछौँ।’

    गिरानचौर निवासी क्षितिज तामाङ पनि भूकम्प पीडितलाई पक्की घर हस्तान्तरण भएपछि उत्साहित भएको बताउँछन्। उनका अनुसार नाम्डोललिङमा रहेका सबै ६२ तामाङ परिवार पक्की घरमा सरिसकेका छन्। हस्तान्तरण गरिएका हरेक पक्की घरमा ५ जना सदस्य सजिलै बस्न मिल्छ। ‘भूकम्पले हामीलाई जुन पीडा दिएको थियो, पक्की घरमा बस्न पाउँदा सबै बिर्साइदिएको छ’, क्षितिज भन्छन्, ‘एकीकृत नमुना बस्ती निर्माण गरेर चौधरी फाउन्डेसनले हामीलाई जुन सहयोग गरेको छ यसका लागि पूरा बस्ती आभारी छ। बस्तीमा समय अनुसार विकास गर्दै जानुपर्ने पूर्वाधार निर्माणमा स्थानीय सरकारले काम गर्नुपर्ने सुझाव उनको छ।

    ‘विनोदजीले बस्ती निर्माण मात्रै गरिदिनु भएन, उहाँ आफै हाम्रो दुर्गम बस्तीमा आएर हामीलाई ठुलो आधार दिनु भएको छ’, क्षितिज भन्छन्, ‘उहाँले यो जिम्मेवारी नलिइदिनुभएको भए सायद अहिलेसम्म पनि हामी चुहिने छाप्रो मै रात कटाइरहेका पो हुन्थ्यौँ कि ?’

    एकीकृत बस्तीमा निर्माण गरिएका पक्की घरमा तीनवटा कोठा, शौचालय र करेसाबारी छन्। प्रत्येक घरमा शौचालय बनाइएको छ। बस्तीमा खानेपानीको व्यवस्था मिलाइएको छ। ‘नमुना बस्तीले बस्नका लागि पक्की घर मात्रै पाएको छैन। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बालबालिकाको विकासका लागि आवश्यक पर्ने वातावरण पनि तयार गरेको छ’, चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन एन्ड पब्लिक रिलेसन विभागका प्रमुख मधुसूदन पौडेल भन्छन्, ‘यसले यो गाउँमा मात्रै होइन, वरपरका गाउँमा पनि सकारात्मक शिक्षा प्रवाह गरिरहेको छ।’

    एकीकृत बस्ती निर्माण गर्दा यहाँका बासिन्दाको सीप विकासको लक्ष्य सहित बस्तीका लागि आवश्यक इट्टा उत्पादन गर्ने तालिम स्थानीयवासीलाई दिइएको थियो। बस्तीमा निर्माणमा प्रयोग भएका करिब २ लाख इट्टा गाउँमै तयार पारिएका हुन्। यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउन्डेसनले प्रदान गरेको थियो। एकीकृत बस्तीमा निर्माण गरिएका घरहरू पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरी बनाइएको छ।

    फाउन्डेसनले स्थानीयवासीलाई सिएसइबी प्रविधिअनुसारका इँटा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक अन्य सीप सिकाएर घर प्राप्तिपछि पनि आफ्नो जीविकोपार्जनका लागि रोजगार हुन सक्ने वातावरण बनाएको छ। फाउन्डेसनले इँटा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको थियो।

    यस बस्तीका बालबालिकाले अध्ययन गर्ने महाकाली माध्यमिक विद्यालयमा फाउण्डेसनले डिजिटल क्लास रुम स्थापना गरेको छ। डिजिटल क्लास रूपमा कम्तीमा १० वटा कम्प्युटर/ल्यापटप, श्रव्य दृश्य शिक्षाका लागि टेलिभिजन, प्रोजेक्टर लगायतका सामाग्रीहरू सेट गरिएका छन्। यहाँका बालबालिकाले इन्टरनेटको माध्यमबाट बाँकी विश्वको शैक्षिक कार्यक्रमसँग जोडिन सकुन् भनेर यो व्यवस्था मिलाइएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...