आज : २०२६-०९-१५, मङ्गलबार

काठमाडौंको टुडिखेलमा गुञ्जियो ढोल-झ्याम्टा, आज मुलुकभर साकेलामय

काठमाडौं – प्रकृति पुजक किरात राई समुदायले शनिबार मुलुकभर आकास गर्जिने र पत्ताल थर्किने गरी ढोल झ्याम्टा बजाउदै धुमधामसँग साकेला उभौली चाड मनाएका छन् ।

खोटाङ, भोजपुर, उदयपुर जिल्लाका गाउ-गाउ हुदै धनकुटा र पुर्वाञ्चलका विभिन्न किरात समुदायको बाहुल्यता भएको स्थानहरुमा आज शनिबार मुन्धुमी नक्छो सहित भूमिपुजा गरी उभौली साकेला चाड मनाएका छन् । झापा जिल्लाको विभिन्न साकेलथानहरुमा, मोरङ जिल्लाका प्रतिस्थापन गरिएका साकेल थानहरुमा र धरानमा प्रतिस्थापन गरिएका साकेल थानहरु बाहेक धरानको भानु चौकमा साकेला चाड धुमधमसंग मनाएका छन्। 

किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा येलेदोङ ५०८२ औं उभौली साकेला चाड मनाएका हुन्। बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म धुमधामसँग साकेला सिली नाचेर उभौली चाड मनाउने गरिन्छ । धरानमा हरेक बर्ष उभौली साकेला चाडको अवसरमा नगरका विभिन्न चोकहरुमा दुई सातासम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि साकेला चाड मनाउने गरिएको छ। 

आज काठमाडौं टुडिखेलमा किरात समुदायको उल्लेख्य सहभागिताबीच ढोल झ्याम्टाको तालमा नक्छो सहित पोर्टेवल तीन चुलामा विधिवत रुपमा पुजागरी शीली नाच्दा साकेलामय भएको थियो ।

किरात समुदायमा समय सधै प्रतिकुल भइरहोस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस् सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला शीली नाचेर नयाँ अन्नबाली लगाउने प्रचलन रहेको छ ।

किरात समुदायले आज एक दिन खनजोत बन्द गरेर अन्नबाली उब्जनी दिने (भूमि) धर्तीलाई पुज्ने यो चाडलाई विशेष रुपमा किराती समुदायले साकेला उधौली र साकेला उभौली मान्दै आएका छन्।

नेपालमा बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म (औशी) धुमधामसँग साकेला चाड मनाइन्छ भने नेपाल भन्दा बाहिर यहि समयबधिमा विभिन्न कार्यक्रमको आयोजना गरी साकेला चाड मनाउने प्रचलन रहेको छ।

तस्वीरः अर्जुन राई