News Portal

भरतपुरका उम्मेदवारी फिर्ता गराउन पूर्वप्रधानन्यायाधीश पराजुलीसम्म सक्रिय

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं – भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई फकाउन सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई पनि लगाएको खुलेको छ।

मंगलबार दिउँसो गृहमन्त्री बालकृष्ण खाण भरतपुर विमानस्थल ओर्लदै गर्दा पूर्वप्रधानन्यायधीश गोपाल पराजुली काठमाडौं फर्कँदै थिए। खाण विमानस्थलको भिआइपी कक्षमा पत्रकार सम्मेलनमा बोल्दै गर्दा पराजुली अघिल्तिर बसेर सुनिरहेका थिए।

नेपाली कांग्रेस चितवनका पूर्वप्रवक्ता रहेका अधिवक्ता उद्धव लोहनीले पराजुली मेयरका बागी उम्मेदवार पौडेललाई फकाउन भरतपुर आएको जानकारी दिए। 

‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री मात्रै होइन पूर्वप्रधानन्यायाधीशज्यू पनि पौडेललाई मनाउन लागिपर्नुभएको छ,’ उनले भने, ‘तर जगन्नाथजी उम्मेदवारी फिर्ता लिने पक्षमा अहिलेसम्म हुनुहुन्न। उहाँलाई मैले फिर्ता लिए पनि कार्यकर्तालाई मनाउन सक्दिनँ भन्ने थाहा छ।’

पौडेलको नजिकको मान्छे भएका कारण शीर्ष नेताहरूले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई कुरा गर्न पठाएको हुनसक्ने अधिवक्ता लोहनीले बताए। 

२०६० सालमा राष्ट्रिय सभाको सदस्य भएका पौडेल वरिष्ठ अधिवक्ता पनि हुन्। उनी पराजुलीभन्दा अघिल्ला प्रधानन्यायधीश रामप्रसाद श्रेष्ठको पालामा वरिष्ठ अधिवक्ता बनेका थिए।

पूर्वप्रधानन्यायधीश पराजुलीले मेयरका उम्मेदवार पौडेललाई भेटेको स्वीकार गरे। यद्यपी आफ्नो भेट राजनीतिक नभई व्यक्तिगत भएको उनको भनाइ छ। 

‘म पारिवारिक कामले चितवन आएका बखत पौडेललाई भेट्न गएको थिएँ,’ पराजुलीले भने, ‘उहाँ मेरो हितैसी मित्र हो। पढाइमा मभन्दा दुई वर्ष सिनियर हो। त्यतिखेरको सम्बन्ध अझै उस्तै छ। मेयरको उम्मेदवार बन्नुभएको रहेछ, चितवन पुगेको समयमा यसो भेटौं न भनेर पुगेको थिएँ।’

पराजुलीले मेयरमा उठ्ने नै हो र भनेर सोध्दा पौडेलले ‘म दृढ छु’ भन्ने जवाफ दिएको बताए। ‘उहाँ असाध्यै इमान्दार मान्छे हो। भ्रष्टाचार विरोधी मान्छे हो। उहाँजस्तो मान्छेको राजनीतिमा खाँचो छ तर स्वतन्त्र उठेर त जित्न गाह्रो पर्छ कि भन्ने मैले त्यताका कार्यकर्ताबाट बुझें,’ पराजुलीले भने, ‘मैले आफूले बुझेका कुरा पनि दाजुभाइको नाताले उहाँलाई राखें।’

पराजुलीले पौडेलको राजनीतिक यात्रामा जीवनभर साथ नदिएका, राजनीति समाप्त पार्न लागेका मान्छेहरूले अहिले उनलाई उक्साइरहेको आफूले अनुभूति गरेको बताए। ‘मैले यो कुरा पनि उहाँलाई बताएँ। यत्रो समय राजनीतिमा समर्पण गर्नुभयो। अहिले आएर चुनाव पनि नजित्ने पार्टीबाट पनि निस्कासनमा पर्ने अवस्था आउनु दु:खद हुन सक्छ भनेर आफ्नो कुरा राखें,’ उनले भने, ‘तर उहाँले म ब्याक हुन्न, दृढ छु भन्नुभयो। आ-आफ्नो लडाइँ होला भन्ने लाग्यो। मैले थप केही भनिनँ।’ 

उनले आफ्नो भेट राजनीतिक नभई दाजुभाइको नाताकोमात्रै भएको दाबी गरे। पूर्वप्रधानन्यायधीश पराजुली नेपाल ल क्याम्पसमा पढ्दा नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा संलग्न थिए। त्यतिबेला उनी नेविसंघको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए। २०३३ सालमा विपी कोइराला मेलमिलापको नीति लिएर आउँदा स्वागत गर्न जाने विद्यार्थी नेतामध्येमा पराजुली, पौडेलहरू पनि थिए। पौडेल भने चितवनमा नेविसंघका संस्थापक हुन्।

पौडेल पछिल्लो समय राजनीतिमा सक्रिय देखिए पनि लामो समयसम्म वकालतमा काम गरेको अधिवक्ता लोहनीको भनाइ छ।‘पछिल्लो समयमा जगन्नाथजी राजनीतिज्ञ मात्रै जस्तो देखिनुभएको छ। उहाँ त निकै अग्रज अधिवक्ता हो। अहिले अदालतमा उहाँले पढाएका धेरै न्यायधीश छन्,’ लोहनीले भने, ‘त्यसैले उहाँकै क्षेत्रका मान्छेले सम्झाउँदा मान्नुहोला कि भनेर प्रयास गरिएको हुनसक्छ।’

पौडेलले आफूलाई फिर्ता हुन दबाब दिनुभन्दा गठबन्धनबाट उम्मेदवार बनाइएकी रेनु दाहाललाई फिर्ता गर्दा न्यायसंगत हुने बताउने गरेको लोहनीले बताए।

पौडेलको उम्मेदवारी फिर्ता गराउन नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्षसहितका शीर्ष नेताहरू लागिपरेका छन्। कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ उनको उम्मेदवारी फिर्ता गर्न अहिले भरतपुरमै छन्। उनीहरूले आज पौडेलसँग उनकै निवासमा छलफल गरेका थिए। पौडेलले आफ्नो उम्मेदवारी चितवन कांग्रेसलाई अग्रगतिमा लिएर जानका लागि र कांग्रेसका समर्थकको मनोबल बढाउनका निमित्त भएको बताउने गरेका छन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...