नेकपा एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

गुल्मी – शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन्। नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पाटी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन् । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पाटी कार्यालयको पक्की भवन रहेको छ ।
त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पाटीमा ठूलो योगदान गर्यौं । तर त्यही घर अहिले पाटीबाट अलग भएको छ ।’
‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् । मन्त्री झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताइन् । मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।
सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् । जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ ।
संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन्। मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन्। मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी समेत गरिन् ।

















