सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना प्रत्यासी सभापति पदका लागि उम्मेद्वार रहेको सोलुखुम्बु जिल्लामा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने भएको हो ।
नेपाली कांग्रेसको विधान अनुसार दुईभन्दा बढी सभापति पदको उम्मेदवार भएमा तीमध्ये बढी मत ल्याउने उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान अनुरुप निर्वाचन हुन लागेको हो । सभापति पदमा रामचन्द्र पौडेल समूहबाट विनोद बस्नेतले उम्मेदवार दिएका थिए । उनले ४ सय २८ मत ल्याएका थिए भने बस्नेत कांग्रेस सोलुखुम्बुका वर्तमान सभापति समेत हुन् ।
त्यस्तै, देउवा समूहबाट उम्मेदवार बनेका नाम्ग्याल जाङबु शेर्पाले ४ सय १८ मत ल्याएको थिए । उक्त निर्वाचनमा देउवा समूहबाटै बागी उम्मेदवार बनेका रामबहादुर बस्नेतले जम्मा ५ मत ल्याएका थिए । झिनो मतसँगै उनी दोस्रो प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
जिल्लामा जम्मा ९ सय २४ मध्ये ८ सय ८२ मत खसेकोमा विनोद बस्नेतको ९ मत र नाम्ग्याल जाङबुको २७ मत बदर देखिएको छ । सभापतिका उम्मेदवार नाम्ग्याल जाङबु शेर्पा सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत हुन् ।
सोलुखुम्बु जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । सोलुखुम्बुमा नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रमा भने ‘ख’ मा देउवा पक्षका कर्मा शेर्पा विजयी भएको थिए । प्रदेशसभा क्षेत्र ‘क’ मा रामचन्द्र पौडेल पक्षका धनजन राई विजयी भएका छन् ।