News Portal

चीनबाट किन आयो ओली र प्रचण्डलाई मिल्न दबाब ?

हिमालीसंचार संवाददाता
३९८ पटक

काठमाडौँ।
चिनियाँ राजदूत होउ यान्छीले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकतामा जोड दिइन्। उनले नामै तोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने बताएपछि राजनीतिवृत्तमा तरंग आएको छ।

आइतबार नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा यान्छीले ओली र प्रचण्डको मिलनको विषय उठाउनुले नेपालको आन्तरिक मामलामा चीनले चलखेल गरेको तथ्यहरु थप उजागर भएको छ। त्यसो त तत्कालीन नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नै मिलाउन नेपाल आएको थियो। टोलीले ओली, प्रचण्डलगायत कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटेको थियो।

चिनियाँ राजदूत होउ यान्छी नेपालका राजनीतिक दलका नेताहरुलाई धेरै भेट्ने कुटनीतिज्ञमध्ये पर्छिन्। उनी बेला बेलामा निवासमै गएर नेताहरुलाई भेट्छिन्। त्यसमाथि पनि कम्युनिस्ट पार्टीका नेताहरुलाई बढी भेट्छिन्। उनले नेकपा फुट्न नदिने निकै पहल गरेपनि सफल हुन सकिनन्। नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएको र एमाले फुटेर नेकपा एस बनेको अवस्थाका बाबजुद चीन कम्युनिस्ट पार्टी किन मिलाउन सक्रिय भएको छ ? यो चासोको विषय हुनसक्छ।

चीन कम्युनिस्ट शासन भएको देश हो। वैचारिक रुपमा पनि नेपालका कम्युनिस्ट दलहरुसँग चीनको निकटता छ। त्यसमाथि पनि उनीहरु शक्तिमा छन्। कम्युनिस्टहरु एक हुँदा प्रतिनिधि सभामा बहुमतमा छन्। अर्कोतर्फ, चीनले कम्युनिस्टहरुप्रति बढी भरोसा गर्दै आएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका कम्युनिस्ट पार्टीहरुबीच विशेष सम्बन्ध छ। कोरोना कहर अघि नेपालका कम्युनिस्ट नेताहरुको चीन भ्रमण निकै धेरै भयो। चीनबाट पनि उच्च अधिकारीदेखि कम्युनिस्ट पार्टीका नेताहरुको ओहोरदोहोर बाक्लियो। दुई पार्टीबीच संयुक्त प्रशिक्षणसमेत भयो। नेपालमा कुनै विदेशी दलसँग संयुक्त प्रशिक्षण गर्ने नेकपा पहिलो दल भयो। त्यतिबेलाको नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।

चीनले कम्युनिस्ट पार्टीबाहेक अन्य दलहरुलाई कमैमात्र विश्वास गरेको छ। नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेलगत्तै चीनसँगको सीमा समस्याको विषय उठ्यो। सरकारी तहबाटै सीमा समस्याको अध्ययन गर्न टोली गठन भई काम बढ्यो। यसबाट चीन झस्किएको छ। चीनले चुनौती ठानेको भारत, अमेरिकालगायत देशहरुको सामना आफ्नो रणनीतिक स्वार्थ अनुसार गर्न पनि कम्युनिस्ट पार्टीहरुलाई भरोसायोग्य ठानेको छ।

एमसीसीको पक्षमा नेपाली काँग्रेस खुल्दा कम्युनिस्ट पार्टीहरु विरोधमा देखिएका छन्। यसले पनि चीनलाई कम्युनिस्ट पार्टीहरुप्रति भरोसा जगाएको छ। चीनले नेपालमा आफ्नो बलियो प्रभाव बनाउन कम्युनिस्ट पार्टीहरुलाई नै भरोसायोग्य ठानेको देखिएको छ। राजदूत यान्छीले खुलेर कम्युनिस्ट पार्टी मिलाउने कुरा गर्नुको कारण यही हुनसक्छ।

अर्को वर्ष नेपालमा आमनिर्वाचन हुने निश्चित छ। संविधान अनुसार पनि अर्को वर्ष चुनाव हुनुपर्छ। कम्युनिस्ट पार्टीहरु विभाजित अवस्थामा भएकाले चीन चिन्तामा छ। विभाजित हुँदा कम्युनिस्ट पार्टीहरुले चुनावमा ठूलो धक्का खान सक्ने बुझाई चीनको पनि हुनसक्छ। २०७४ को आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लड्दा बहुमत ल्याएका थिए। उनीहरुलाई मिलाउन चीनले नै भूमिका खेलेको खुल्दै गएको छ। अब फेरि दुवै शक्तिलाई मिलाउन चीन खुल्न थालेको छ।

चीनले एकातर्फ नेपालसँगको सीमामा कडाई गर्दै लगेको छ। सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लगेको छ। मुख्य नाकाहरुमा कडाई गरेको छ। निर्यात गर्न दिएको छैन। आयातमा पनि कडाई गरेको छ। यो एक प्रकारको नाकाबन्दी जस्तै अवस्था हो।

अर्कोतर्फ, चीन नेपालमा आफ्नो प्रभाव बढाउन खुलैरै लागेको छ। आफू अनुकूलको अवस्था निर्माण गर्न सक्रिय देखिन्छ। तत्कालीन नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको प्रशिक्षण, नेकपामा विवाद बढ्दा चिनियाँ टोलीको नेपाल भ्रमण र भूमिका हुँदै चिनियाँ राजदूत यान्छीको कम्युनिस्ट पार्टीहरु बलियो बनाउन केन्द्रित सक्रियताले पनि त्यही देखाउँछ। नेपालमा कम्युनिस्ट पार्टीहरु मजबुत हुँदा नै आफ्नो रणनीतिक स्वार्थ पूरा हुनसक्ने बुझाईका आधारमा चीन नेपाल मामलामा प्रस्तुत हुनुले देशको राजनीतिमा नयाँ घटनाक्रमहरु विकास हुने देखिन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...