देशैभरि काँग्रेसको वडा अधिवेशन सुरु

लोकेन्द्र भट्ट, काठमाडौँ।
नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनको रौनक आज (शुक्रबार) देखि सुरु भएको छ। आजदेखि देशभरिका ५६ जिल्लामा वडा अधिवेशनको सुरुवात हुँदैछ। ५६ जिल्लाका ५० प्रतिशत वडाहरूमा आजै अधिवेशन सकिने नेताहरूले बताएका छन्। बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण ती जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन।
नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडाहरूमा आज वडा अधिवेशन हुनेछ। निर्वाचन अधिकृतहरू खटाइएका ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन हुने यादवले रातोपाटीलाई बताए। वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको उनले जानकारी दिए।
हरेक जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक–एक जनाका दरले मतदान अधिकृत खटाएको यादवले बताए। उनले भने, ‘चार चरणमा क्रियाशील सदस्यताको सूची आएको छ। त्यहीअनुसार हामीले निर्वाचन अधिकृत खटाएका छौँ। पहिलो चरणमा ३८ जना जानुभयो। दोस्रो चरणमा १० जना, तेस्रो चरणमा ५ जना र चौथो चरणमा ३ जना जानुभएको छ। ढिलो गरी अधिकृत खटाएका ठाउँका बाहेक सबै वडामा आज अधिवेशन हुने सम्भावना छ।
शुक्रबार ५० प्रतिशत बढी जिल्लामा वडा अधिवेशन हुने यादवको दाबी छ। केही वडामा बिहीबार नै सर्वम्मतरुपमा अधिवेशन सम्पन्न भइसकेको उनले बताए। यादवका अनुसार कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेका जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ।
२१ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नभएकाले ती वडाहरूको अधिवेशन भने अन्योलमा छ। यादवले भने, ‘हामीले वडा अधिवेशन सुरु गरिसकेका छौँ, त्यहाँ पनि अधिवेशन गर्नैपर्छ। आज भोलिसम्म २१ जिल्लाको क्रियाशीलको सूची आएपछि हामीले निर्वाचन अधिकृत खटाउँछौँ।’
डोल्पा र रसुवाबाहेक सबै जिल्ला सुगम रहेकाले २६ गतेसम्म अधिवेशन गराउन गाह्रो नहुने यादवको भनाइ छ। ‘रसुवामा मोटरबाटो छ। अलि गाह्रो डोल्पामा हो। हेलिकप्टरबाट सामग्री पठाए पनि अधिवेशन गरिन्छ। अरू तराईमा छ। त्यहाँ क्रियाशील सदस्यको सूची पाएको ३ तीनमै सम्पन्न गर्न सकिन्छ,’ उनी भन्छन्।
यादवका अनुसार जिल्लाको आन्तरिक समस्या, कोरोना भाइरस सङ्क्रमणलगायतका कारणले आज सम्भव नभए पनि भदौ २६ गतेभित्र वडा अधिवेशन अनिवार्य रूपमा गर्नुपर्नेछ। काँग्रेसले भदौ २७ गते ७५३ वटै स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)को अधिवेशन गर्ने कार्यतालिका छ।

















