News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • वकिल बन्न खोज्दा ४ पटक प्रधानमन्त्री बने चन्द

    हिमाली संचार संवाददाता
    ८३३ पटक

    सन्त गाहा मगर
    काठमाडौं – बैतडी जिल्लाको कुरकुटियामा विसं. १९९६ साल फागुन ३ गते जन्मेका लोकेन्द्रबहादुर चन्द पञ्चायत र बहुदलकालमा दुई-दुईपटक प्रधानमन्त्री बने । ०४६ सालको जनआन्दोलनका बेला दुई हप्तामात्रै प्रधानमन्त्री बनेका चन्दले आन्दोलनरत दल र दरबारबीच सहमति जुटाउन भूमिका खेले ।

    संसद नभएका बेला ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चन्दलाई संकटमोचकका रुपमा अघि सारेका थिए । त्यसपटक भने उनले राजाले दिएको ‘टास्क’ पूरा गर्न सकेनन् । राजतन्त्रको विरुद्धमा जनयुद्ध गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नसकेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

    त्यसबेला कांग्रेस-एमालेलाई सरकार र शान्ति प्रक्रियामा सहभागी गराउन नसक्दा शान्ति प्रक्रियाले गति लिन नसकेको उनको बुझाइ छ । आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन प्रयत्न गरेको तर दरबारको एउटा शक्तिले अस्वीकार गरेको चन्द बताउँछन् ।

    मृदुभाषी नेताको पहिचान बनाएका लोकेन्द्रबहादुर चन्द राजनीतिमा मात्रै नभएर साहित्यमा पनि उत्तिकै सशक्त नाम हो । एक दर्जन भन्दा बढी पुस्तकका सर्जक उनले ०५४ सालमा मदन पुरस्कार पाएका थिए ।

    एउटा उपन्यास र आत्मकथा प्रकाशनको तयारीमा रहेका चन्दले अहिलेसम्म पुस्तकको रोयल्टी भने पाएका रहेनछन् ।

    यही दशैंको आसपासमा आँखाको शल्यक्रिया गर्ने तयारीमा रहेका पूर्वप्रधानमन्त्री चन्द ढाड र खुट्टाको दुःखाइले गर्दा टाढा हिँडडुल गर्दैनन् ।

    बरिष्ट राजनीतिज्ञ चन्दले ०२७ सालमा जिल्ला पञ्चायतको सभापतिबाट राजनीतिक ‘करिअर’ शुरु गरेका हुन् । अन्ततः चन्दसमेत सभासद रहेको संविधानसभाको पहिलो बैठकले ०६५ सालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै संघीय गणतान्त्रिक नेपालको घोषणा गर्‍यो । ६०१ सभासदमध्ये चारजनाले राजतन्त्रको पक्षमा भोट दिएका थिए । तर, चन्दले भने गणतन्त्रकै पक्षमा मत दिए ।

    तथापि गणतन्त्र स्थापनाको एक दशकपछि अनलाइनखबरसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री चन्दले राष्ट्रिय एकताको प्रतीकका रुपमा सांस्कृतिक राजतन्त्रको आवश्यकता रहेको औंल्याएका छन् ।

    पञ्चहरूको पार्टीको रुपमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टी ०४६ सालको राजनीतिक परिवर्तन पछिदेखि नै विभिन्न चिरामा विभाजित छ । तर, अब पदीय लालसाले गर्दा टुक्राटुक्रा भएको राप्रपा एक ठाउँमा नआए त्यो पार्टीको भविष्य समाप्त हुने पूर्वप्रधानमन्त्री चन्दको विश्लेषण छ ।

    पछिल्लो समय मिडियासँग हत्तपत्त खुल्न नचाहने चन्द भक्तपुरस्थित निवासमा प्रारम्भिक राजनीतिक जीवन, पञ्चायतदेखि बहुदलकालीन प्रधानमन्त्रीको अनुभव र साहित्यक जीवनबारे यसरी खुलेः

    प्रभावशाली वकील बन्न पञ्च बनेको प्रधानमन्त्री बनाइएँ

    विद्यार्थी जीवनमा पनि विभिन्न सामाजिक संघसंस्थामा बसेर त काम गर्दै थिएँ । मलाई राजनीतिमै होमिने इच्छा भने थिएन । त्योबेला पञ्चायती व्यवस्था थियो । विद्यार्थी छँदा यो व्यवस्था त मिलेन कि जस्तो लाग्थ्यो । तर, पछि पञ्चायती व्यवस्थाका सिद्धान्तहरू पढेँ । त्यसमा भएका दुईवटा कुरा मन परे । एक- शोषणरहित समाजको स्थापना र अर्को- वर्ग समन्वयको सिद्धान्त । यी सिद्धान्त करिब- करिब महात्मा गान्धीको सर्वोदयसँग मिलेको हुनाले ठीकै छ भन्ने मनमा लाग्यो ।

    त्योबेलामा वकालत गर्ने लाइसेन्स लिन पढाई सकिएपछि ६ महिनासम्म कुनै ल र्फममा गएर काम गर्नुपथ्र्याे । सर्वोच्च अदालतको एउटा समितिले पारित गरेपछि मात्रै वकालत गर्ने लाइसेन्स पाइन्थ्यो । त्यो परीक्षा पास गरेर लाइसेन्स पाएपछि म बैतडी लागें ।

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र हाम्रै जिल्लाका लवदेव भट्ट मैले प्राक्टिस गरेकै ल र्फममा काम गर्नुहुन्थ्यो । भण्डारीलाई म अहिले पनि गुरु नै भन्छु । त्यतिबेलाको मेरो अनुभव के रह्यो भने कर्मचारीहरू पनि पञ्चायतको सदस्यलाई छुट्टै ढंगले हेर्दथे । सदस्यता लिएको छैन भने वास्ता गर्दैनथे । जसरी अहिले सत्ताधारी कार्यकर्ताको कुरा टेर्छन्, अरुको सुन्दैनन् ।

    राम्रो वकिलै हुनका लागि पनि पञ्चायतको सदस्यता लिनुपर्ने रहेछ भन्ने लाग्यो र जिल्ला सभा सदस्य भएँ । त्यसपछि सभापतिको चुनाव आयो । उम्मेदवार बन्ने मेरो पटक्कै इच्छा थिएन । साथीभाइले उम्मेदवार बन्न दबाव दिए । त्यहाँ लामो समयदेखि एउटा समूह हाबी रहेछ । त्यसलाई मैले मात्रै टक्कर दिनसक्छु भन्ने साथीभाइ, आफन्तको भनाइ थियो । उम्मेदवार बन्न तयार भएँ र ०२७ सालमा बैतडी जिल्ला पञ्चायतको सभापति भएँ ।

    त्योबेलामा धेरै काम गर्नुपर्ने । तर, सुविधा केही हुँदैनथ्यो । ल को प्राक्टिस पनि छुट्यो ।

    जिल्लाको सभापतिको भन्दा अञ्चल सभापतिको त्यति धेरै काम हुँदैनथ्यो । वर्षको दुई तीनवटा काम गरिदिएपछि भयो । त्यसै गरौंला र कञ्चनपुरमा बसेर ल प्राक्टिस गरौंला भनेर ०२८ सालमा अञ्चल सभापतिकोे चुनाव लडें र जितें ।

    एक/डेढ वर्षपछि नै राष्ट्रिय पञ्चायतको चुनाव आइहाल्यो । त्यसमा साथीहरूले पनि लड्नुपर्छ भने । म पनि लागि त हालियो, लडौं भनेर अघि सरेँ । चुनाव पनि जितेँ र काठमाडौं आएँ ।

    त्यसको करिब एक वर्षमा राष्ट्रिय पञ्चायत उपाध्यक्ष (उपसभामुख जस्तै) को चुनाव हुने भयो । त्यसमा उम्मेदवार बनंे । मेरो विपक्षमा मरिचमानसिंह श्रेष्ठ हुनुहुन्थ्यो । उहाँलाई जम्मा एक भोटले पराजित गरेँ ।

    त्यसपछि तीन पटकसम्म निर्विरोध राष्ट्रिय पञ्चायतको उपाध्यक्ष भइरहेँ । राष्ट्रिय पञ्चायत अध्यक्ष (सभामुख) भएँ । ०४० सालमा प्रधानमन्त्री भएँ । मुलुकको विकास एशियाली मापदण्डमा पुर्‍याउने भन्ने राजा वीरेन्द्रको निर्देशन थियो ।

    वीरेन्द्रलाई बहुदल दिन कसले रोक्यो ?

    ०३६ सालको जनमत संग्रहपछि जुन राजनीतिक अवस्था आयो, त्यसपछि नै राजाले बहुदल पक्षधरलाई समेट्न खोजेको बुझिन्थ्यो । तर, दरबार भनेको राजा मात्रै हुँदैनन्, अनेक घेरा हुन्छन् । त्यही घेराले गर्दा राजाले चाहेको सबै गर्न मिल्दैन ।

    म प्रधानमन्त्री भइसकेपछि (०४० सालतिर) को कुरा हो । त्यतिबेला नागार्जुनमा हप्ताको एकदिन प्रधानमन्त्रीले राजालाई दर्शन गर्नुपर्दथ्यो । बर्खाको समय थियो । म गएँ । मेरो जाहेरी सकियो ।

    हिँड्नेबेलामा मैले व्यवस्था बाहिर भएका कांग्रेस लगायतलाई के गरिबक्सन्छ सरकार भनेर सोधेँ । अरुलाई नदिए पनि कांग्रेसलाई पार्टी सञ्चालन गर्न दिइबक्सेको छ । उनीहरूमा पनि राजाले केही बक्सन्छ भन्न आशा होला भनेपछि राजा आफ्नो आसनबाट उठेर कुर्सीमा बस्नुभयो र मलाई पनि बस भन्नुभयो ।

    यिनीहरूको माग के हो ? उहाँले सोध्नुभयो । थाहा नभएर भन्दा पनि मेरो मुखबाट सुन्न चाहनुभएको थियो । त्योबेला उम्मेदवार हुँदा सपथ पत्रमा हस्ताक्षर गर्नुपथ्र्यो । त्यो नहोस् र हामीलाई चुनाव चिह्न (रुख) पाइयोस् । देशभरिमा एउटै चिह्नमा लड्न पाइयोस् भन्ने माग हो सरकार भनें । वर्गीय संगठन हुनुपर्‍यो भन्ने पनि माग छ भनें ।

    त्यसपछि राजाले यसमा तिम्रो भनाइ के छ भनेर सोध्नुभयो । उम्मेदवार हुँदा राजा र राजसंस्थाप्रति आस्था छ भन्ने लगायतका सहीछापको केही मतलब छैन । दशवटै औंलाले सही छाप गरे पनि अदालतमा गएर होइन भनीदिन्छ । त्यसकारण सपथपत्रमा भएको त्यो व्यवस्था (राजसंस्थाप्रति आस्था छ भन्ने वाक्य) हटाइदिइबक्से हुन्छ भनिदिएँ । वर्गीय संगठन पञ्चायतभित्र पनि राजनीति गर्ने थलो नै हो भनें ।

    चुनावचिह्नका लागि सरकारबाट हुकुम भयो भने निर्वाचन आयोगले मिलाइहाल्छ । आयोगको प्रमुखलाई मौखिकै हुकुम भए पुग्छ भनें । बरु, हामी पञ्चहरूका लागि पनि चुनाव चिह्नको निर्णय गर्नुपर्छ कि भनेँ ।

    राजाले कांग्रेसका कोही आउने र कोही नआउने हो भने त्यसको अर्थ छैन, सबै आउने हो भने ठीक छ भन्नुभयो । त्यसका लागि तिमी कुरा गर, सबै आउँछन् भने म त्यो माग पूरा गरिदिन्छु भन्नुभयो ।

    त्यहाँबाट म आएँ । राजाले ठीक छ त भन्नुभयो, तर गर्न दिन्छन् कि दिँदैनन् भन्ने कुरा मनमा खेल्यो । प्रधानमन्त्रीले नै राजालाई उक्सायो भन्ने पार्छन् कि जस्तो पनि लाग्यो ।

    कांग्रेसलाई मैले आफैं भनिनँ । त्योबेलाका एकजना मन्त्रीलाई लगाएँ । उनी थिए नारायणदत्त भट्ट । उनी मार्फत कांग्रेसका नेताहरू सबैलाई एक हप्ता काठमाडौंमै बस्नु भन्न लगाएँ । वार्ता अघि बढ्दै थियो ।

    दर्शनभेटको चौथो दिन एउटा कामले दरबारमा गएको थिएँ । राजाले प्रधानमन्त्री तिम्रो अरु नै धेरै काम छ, त्यता ध्यान देऊ, म यो काम अरुलाई नै जिम्मा दिन्छुृ भन्नुभयो । राजा वीरेन्द्र खुशी होइबक्सन्नथ्यो । त्यसपछि त्यो कुरा अगाडि बढ्न सकेन ।

    दुई हप्ताका लागि प्रधानमन्त्री

    म ०४६ सालमा फेरि दुई हप्ताका लागि प्रधानमन्त्री भएँ । मरिचमानजी हट्नु भएपछि म प्रधानमन्त्री भएको थिएँ । राजा वीरेन्द्रबाट आन्दोलनरत कांग्रेस र बाममोर्चाका नेताहरूसँग कुरा गर्न आज्ञा भयो । उनीहरूलाई देश, देशको स्वाधीनता र सार्वभौमिकता चाहिएको हो कि होइन सोध्नु भन्ने आज्ञा भयो । यदि चाहिएको हो भने यिनीहरूले मागेको के हो, म दिन तयार छु भन्नुभयो ।

    मैले चिठी त देखिनँ । तर, बाहिरबाट केही मिलाउँ भन्ने चिठी आएको थियो रे । तर, पूर्खाले आर्जन गरेको स्वतन्त्रता मेरा पालामा जान दिन्न । बरु यी जे भन्छन्, म गर्छु भन्नुभयो ।

    त्यसपछि मैले कांग्रेस र कम्युनिष्टसँग वार्ता गर्न अलग-अलग टोली पठाएँ । कांग्रेसबाट कृष्णप्रसाद भट्टराईजी, गिरिजाप्रसाद कोइरालाजी र कम्युनिष्टबाट सहाना प्रधान, राधाकृष्ण मैनाली आउनुभयो । त्यो बैठकमा म पनि बसेँ । सहमति हुने भएपछि गणेशमान सिंहजी पनि आउनुभयो ।

    सहमतिपछि निर्दलीय सरकार हटाएर बहुदलीय सरकार बनाउने र नयाँ संविधानका लागि कमिटी गठन हुने भयो । कमिटी पनि गठन भयो ।

    ०४६ चैत २६ पछि बहुदलीय व्यवस्था हुने भयो । तर, संविधान त पञ्चायती नै थियो । जुन धाराअन्तर्गत सरकार गठन भएको हो, त्यसअनुसार मैले राजीनामा गर्नु पर्दथ्यो । संविधानको धारा त अहिले ठ्याक्कै सम्झिन सकिनँ । तर, त्यसमा के थियो भने जटिल परिस्थिति उत्पन्न भयो भने राजाले खास काम दिएर अन्तरिम सरकार गठन गरिबक्सन सक्नेछ र त्यो सरकार बढीमा तीन महिना कायम रहन सक्नेछ वा जुन दिन जिम्मा दिएको काम पूरा हुन्छ, त्यो सरकारले राजीनामा दिनेछ भन्ने व्यवस्था संविधानमा थियो ।

    त्यसै अनुसार मैले राजीनामा दिएँ । बाहिर खोसेर लियो, के-के भन्छन् त्यस्तो केही होइन ।

    राजाले मलाई पदको मोह छैन र आफ्नो भन्दा मुलुकको भलो सोच्छ भन्ने विश्वासले प्रधानमन्त्री बनाएको हुनुपर्छ । धेरै कुटनीति गर्नसक्छ भनेर होइन ।

    पूरा नभएको ‘टास्क’

    बहुदल आएपछि कांग्रेस र एमालेबीच कुरा मिलिरहेको थिएन । मनमोहन अधिकारीजीले नेतृत्व गरेको सरकार विघटन भएपछि शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बन्यो । त्यसमा हाम्रो पार्टी पनि सहभागी थियो ।

    पार्टीभित्र पनि मपट्टकिा साथीहरूले आफूलाई अन्याय भएको महसुस गरिरहेका थिए । त्यतिबेला गिरिजाबाबु, कृष्णप्रसाद भट्टराईजी, सूर्यबहादुरजी र म बसेर निर्णय गथ्र्यौं । तर, मेरो पक्षका साथीहरुको काम हुँदैनथ्यो । यो गुनासो लिएर म सूर्यबहादुरजीकहाँ पनि गएँ । उहाँले हुन्छ-हुन्छ भन्नुहुन्थ्यो, कार्यान्वयन गर्नुुहुन्नथ्यो ।

    एमालेले त धेरै पहिलादेखि नै मलाई प्रधानमन्त्रीमा अगाडि बढ्न प्रस्ताव ल्याएका थिए । मैले नै भर्खर नयाँ सरकार गठन भएको छ, अहिले त्यस्तो गर्नुहुँदैन भन्दै आएको थिएँ । एमालेले बामदेव गौतमजीलाई खटाएको थियो । हाम्रोतर्फबाट म आफैं वार्तामा जान्थें ।

    यसरी एमालेको समर्थनमा ०५३ मा म तेस्रोपटक प्रधानमन्त्री भएँ । त्यसबेला हाम्रै पार्टीका कतिपय सांसदले मलाई भोट दिएनन् । शेरबहादुर देउवाजीलाई भेटेर म तपाईको विरुद्ध प्रधानमन्त्री बन्न लागेको छु भनेको थिएँ ।

    त्यसैगरी चौथो पटक विभिन्न राजनीतिक दलसँग सरसल्लाह गरेर माओवादी समस्यालाई पनि शान्तिपूर्ण समाधान गर्ने म्यान्डेटसहित ०५९ सालमा म पुनः प्रधानमन्त्री भएँ । राजाले दिएको जिम्मेवारी अनुसार माओवादीलाई वार्ताको टेबलमा ल्याउन सफल पनि भएँ । तर, दलहरू सहमत नहुन्जेल समाधान निस्किँदैन भन्नेमा म शुरुदेखि नै प्रष्ट थिएँ ।

    दलका नेताहरूलाई भनें, मलाई राजाले दिएको ‘टर्म अफ रिफरेन्स’ मा दलहरु र माओवादीलाई सहमतिमा ल्याउने भन्ने छ । जुन दिन यो काम पूरा हुन्छ, त्यसपछि म राजीनामा गर्छु । त्यसपछि प्रधानमन्त्री हुने त तपाईहरु नै हो । अहिले शान्ति स्थापना गरौं, तपाईहरु पनि सरकारमा आउनुस् । सरकारमा नआउने हो भने वार्ता टोलीको अध्यक्षता लिनुहोस् । कांग्रेस र एमाले जसले लिए पनि हुन्छ ।

    मैले यही भनेर केही दिन वार्ता टोली गठन पनि गरिनँ । तर, उहाँहरू आउनुभएन ।

    माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रयास

    मैले ज्ञानेन्द्र राजालाई पटक-पटक प्रधानमन्त्री पद दलहरुलाई नै दिउ भन्थें । ३/४ वटा दलबाट प्रधानमन्त्री पाए माधवकुमार नेपाललाई अगाडि सार्ने भन्ने सूचना पनि आएको थियो । मैले माधव नेपाललाई बनाउँ भनें । एमाले पनि सुधि्रइसकेको छ । प्रधानमन्त्री नै बने पनि कू गर्न सक्ने अवस्था छैन । सेना सरकार -राजा) सँगै छ । राम्रो गरेनन् भने छँदैछ । निर्वाचित भएर आएका होइनन् सजिलै हटाउन सकिबक्सन्छ भनें ।

    तर जंगलमा पनि कम्युनिष्ट, सरकारमा पनि कम्युनिष्ट हुन्छ भनेर माधव नेपाललाई प्रधानमन्त्री बनाउन मानेनन् ।

    माओवादी वार्तामा आए पनि शान्ति प्रक्रियामा आएनन् । त्यसमा भारतले पनि खेलेको थियो । उनीहरू हामीविना नमिलोस् भन्ने पक्षमा थिए । नेपालको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा जस लिनसके आफ्नो देशको माओवादी समस्या समाधान फाइदा पुग्थ्यो भन्ने बुझाई पनि भारतीयहरुको हुन सक्छ ।

    त्यसपछि मैले राजीनामा दिएँ । चैतमा पहल गरेको, जेठमा राजीनामा स्वीकृत गरिबक्सियो । म हटेपछि माधव नेपाललाई प्रधानमन्त्री बनाइबक्सियोस् भनेको थिएँ । तर, सूर्यबहादुर थापाजीलाई प्रधानमन्त्री बनाउनुभयो । मैले छाडेर उहाँलाई ल्याउनुको अर्थ हुँदैनथ्यो । उहाँ आउनु भएको एक/दुई मिटिङपछि नै माओवादी फेरि जंगल पसे । थापाले शायद दलहरूलाई सहमतिमा ल्याउँछु भनेर कबुल गर्नुभएको थियो क्यारे । ल्याउन नसकेपछि उहाँले पनि प्रधानमन्त्री पद छोड्नुभयो ।

    काम गर्न बहुदलमै सजिलो

    म पञ्चायतमा दुई र बहुदलमा दुई पटक प्रधानमन्त्री बनेँ । तर, काम गर्न पञ्चायतका बेलामा भन्दा बहुदलमै सजिलो लाग्यो । पञ्चायतका बेला सबै सदस्य स्वतन्त्र हुन्थे । प्रत्येक सदस्यको एक- एक चित्त बुझाउनुपर्ने हुन्थ्यो । बहुदलमा त हि्वप लाग्ने भयो । जसले गर्दा पार्टीलाई मनाए पुग्थ्यो । तर, पञ्चायतमा कार्यकर्ताको नचाहिँदो दबाव भने आउँदैनथ्यो ।

    गुण र दोष सबै व्यवस्थामा हुन्छ । पञ्चायत, बहुदल, गणतन्त्र सबै समयको परिवर्तनसँगै आएका व्यवस्था हुन् ।

    रामचन्द्र भगवान हुनुहुन्थ्यो । मैले सुनको मृग सृष्टि गरेको छैन भन्ने उहाँलाई थाहा थियो । सीताजीको हरण हुनुपर्ने थियो, राम सुनको मृगको पछि दौडनुभयो । अवस्था झण्डै त्यस्तै भयो कि जस्तो पनि लाग्छ ।

    तर, राजतन्त्र समाप्तिको विषयमा पनि ठूलो गल्ती भयो भन्न खोजेको होइन । फ्रान्स र रुस जस्ता देशहरूमा केही न केही मिस्टेक भएकै कारणले राजतन्त्रको अन्त्य भएको थियो ।

    हाम्रो सन्दर्भमा भन्दा राजा ज्ञानेन्द्रले बहुदलका नेताहरूलाई ल तपाईहरू कसलाई भन्नुहुन्छ, अगाडि बढ्नुस् भनेको भए हुन्थ्यो जस्तो लाग्छ । माओवादी पनि आइहाल्थ्यो । सबै कुरा मिलेर जान्थ्यो ।

    हुन त म कसलाई दोष दिऊँ ? तर, त्यतिबेला दरबारमा एकथरी मान्छेहरू ०४६ सालमा राजा वीरेन्द्रले त्यति अधिकार छोडेकोमा पनि असन्तुष्ट हुनेहरू पनि थिए । उनीहरूले यो भएन सरकार, वास्तविक शासक हुनुपर्‍यो भनेको पनि हुनसक्छ ।

    जे भयो ठीकै छ । तर, राष्ट्रिय एकताको प्रतीकका रुपमा निर्वाचित नभएर सांस्कृतिक रुपमा राख्न सकेको भए राम्रै हुने थियो कि जस्तो लाग्छ ।

    गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता

    खासगरी राष्ट्रिय एकताका लागि सांस्कृतिक राजतन्त्र राम्रो हुन्छ जस्तो लाग्छ । कसैले संवैधानिक भन्लान् । कसैले के भन्लान् । तर, मलाई राष्ट्रपतिसहितको राजा राख्न सकिन्छ जस्तो लाग्छ । बेलायत, क्यानडा, अष्ट्रेलिया जस्ता देशमा महारानी नै राष्ट्रध्यक्ष हुँदा पनि केही बाधा परेको छैन ।

    पहिला पनि कुनै न कुनै रुपमा समावेशी बनाउने प्रयत्न हुन्थ्यो । मेरो पहिलो मन्त्रिमण्डलमा सात/आठ जना मधेसबाटै थिए । विभेद मधेसमा भन्दा पहाडमा छ जस्तो लाग्छ ।

    पालना गर्ने हो भने त समावेशिता सम्बन्धी कानून नै बनेको छ । समावेशिता आवश्यक छ । गरिबलाई समेट्ने कुरा छुटेको छ । कानूनमा भएको व्यवस्था कार्यान्वयनमा लैजानु पर्दछ ।

    संघीयता सबैले मानिसकियो । त्यसमा म के भनौं र ? तर, यसको सञ्चालन गाह्रो छ । एउटै पार्टीबीच पनि संघ र प्रदेशबीच संघर्ष चलिरहेको छ । प्रदेश र स्थानीय तहलाई जिम्मेवारी बढी छ, अधिकार कम छ । कर कति बढेको छ ? यस्तो भन्दा धेरैले आलोचना गर्लान्, तर संघीयता धान्न सजिलो छैन ।

    वार्ताका बेला माओवादीले संविधानसभा हाम्रो सिद्धान्त हो । हामी यहाँ आए पनि भाषण गरिराख्छौं । मेलमिलाप भयो भने चुनाव भाग लिन्छौं भनेका थिए । आन्दोलनमा पनि गणतन्त्रको नारा लागेको थिएन । धर्मनिरपेक्षताको पनि नारा लागेको थिएन । एक्कासी आयो ।

    मेरो भनाइ के हो भने यस्ता मुद्दाहरूमा छलफल हुनुपर्दथ्यो । प्रस्ताव आउँदा बित्तिकै पारित गर्नुहुन्थ्यो भन्ने मेरो भनाइ हो । सबै धारा कार्यविधि छोट्याएर गरियो । कानूनीरुपमा गलत छैन । तर, बोल्न दिनुपर्दथ्यो ।

    कमल थापाले पिउन नसकेको विष

    अहिले राप्रपा तीन चिरामा विभाजित छ । म कुनै पनि पार्टीमा छैन । सबैलाई पार्टी अध्यक्ष चाहिएकाले यति धेरै पार्टी बनेको हो । अध्यक्ष पद त जम्मा एउटा हुन्छ नि । सबैलाई अध्यक्ष दिन पनि सकिँदैन ।

    तर, पार्टी एक नहुने हो भने राप्रपाको कुनै भविश्य छैन । त्यसैले फुट्ने बित्तिकै म कतै नलागी बसेको हुँ । कतिपय साथीहरू नयाँ पार्टी बनाउने कुरा पनि गरिराख्नुभएको छ । तर, राप्रपाको चौथो टुक्रा बनाएर कुनै काम छैन ।

    पार्टी एकताको प्रयास हुन्छ भने म त्यसमा सहयोग गर्छु । नत्र कुनै जाँदिन पनि । अब उमेर पनि हुन लाग्यो । ‘रिटायर्ड’ हुने मौका दिनुभयो, धन्यवाद भन्छु ।
    मैले कमलजीलाई यहीँ बैठकमा पार्टीलाई एक गर्ने जिम्मा तपाईको हो भनेको थिएँ । अध्यक्ष भएपछि पार्टीलाई एकतावद्ध बनाउने जिम्मेवारी तपाईको हो भनेको थिएँ । आफू विष पिएर भए पनि पार्टीलाई अमृत पिलाउनुस् भनेको थिएँ । तर, उहाँले सक्नुभएन । यो कुरामा ध्यान दिनुभएन ।

    संविधान बनेपछि पनि उहाँले यो संविधानलाई हाम्रो आलोचनात्मक समर्थन छ, केही मुद्दाका लागि लडिरहने छौं भन्नुपर्दथ्यो । त्यति भनेर सरकारमा नगइदिएको भए पार्टीका लागि धेरै राम्रो हुने थियो । पार्टी पनि फुट्दैनथ्यो होला ।

    उहाँ दुईचोटि सरकारमा जानुभयो । सर्वश्रेष्ठ संविधान भन्नुभयो । मान्छेहरू त कान ठाडो पारेर बसेका छन् ।

    कसैले सोधेको छ, अध्यक्ष भएर के गर्नुहुन्छ ? कुनै कार्यक्रममा बोलाउँछन् भन्ने गर्छु । पार्टी बलियो भयो भने त केन्द्रीय सदस्य भए पनि मान्यता हुन्छ । तपाईहरू विचार गर्नुहोस् भनिराखेका छन् । मिलाउनुपर्छ सबै भन्छन् । तर, पदको सवाल आएपछि सबैलाई अध्यक्ष चाहिन्छ । कहाँबाट कुरा मिल्छ ?

    रोयल्टीविनै साहित्यकार

    राजनीतिमा नलागेको भए म साहित्यकार हुन्थें जस्तो लाग्छ । राजनीति बाहेक रोज्नुपरेको भए साहित्य रोज्थें ।

    पहिलो कविता १० वर्षको हुँदा लेखेको थिएँ । तर, प्रकाशित भने ०१८/०१९ सालपछिका कविता मात्रै भए ।

    मान्छेले समाजमा केही न केही परिचय खोजिरहेको हुन्छ । त्यस्तो परिचय साहित्यले तत्काल दिँदैन । राजनीतिक चहल-पहलले तत्काल सामाजिक परिचय दिन्छ । यसमा शक्ति हुन्छ । नभए भोलि शक्ति आउला भनेर बस्छ ।

    तर, दीर्घकालमा फेरि साहित्य नै हो । ४०-५० वर्षपछि कसैले सोध्यो भने प्रधानमन्त्रीको नाम भन्न सक्दैन । तर भानुभक्त, मोतीराम भट्ट सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरेको नाम फ्याट्टै भन्न सक्छन् । सयौं वर्षसम्म पनि अझै सम्झिरहन्छन् ।

    सुदुरपश्चिमाञ्चलको १०० वर्षदेखि अहिलेसम्मको समाजको चित्रण गर्ने गरी एउटा उपन्यास तयार पारेको छु । एउटा कामदार केटी मुख्य पात्र छिन् । उनी बीचमा बेपत्ता पनि हुन्छिन् । माओवादी द्वन्द्वकाल, सात सालको परिवर्तन पनि उपन्यासमा आउँछ ।

    मैले ०५४ मा विसर्जन कथा संग्रहका लागि मदन पुरस्कार पाएको थिएँ । अहिलेसम्म कसैले केही दिएका छैनन् । छाप्छन्, लैजान्छन् । रोयल्टी-सोयल्टी केही ल्याउँदैनन् । त्यो विसर्जन पनि एकजनाले प्रकाशनका लागि लगेका छन् । कता लिएर गए, गए ।

    युवा पुस्ताको लेखन चेत धेरै राम्रो छ । हेर्दा केटाकेटीजस्तो लाग्छ । तर, उनीहरूको सिर्जनाले साँच्चै मन छुन्छ ।

    नथिया आधी पढेको छु । त्यो वादी समुदायको विषयमा छ । कतिपयले वादीको विषयमा यस्तो किन लेखेको पनि भन्ने गर्छन् । तर, समाजमा भएको समस्यालाई यथार्थरुपमा देखाउनु नराम्रो होइन । वास्तविकता बाहिर ल्यायो भने न समस्याको निकास निस्कने हो ।

    केही महिनाभित्रै आत्मकथा लिएर आउँदैछु ।

    तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...