सिन्धुपाल्चोक राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प

काठमाडौं : सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसको धक्का महसुस काठमाडौंसहित देशका सबै भागमा भएको थियो । एकाबिहानै उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पले हल्लाएपछि आम सर्वसाधारण घर बाहिर निस्किएर होहल्ला गरेका थिए। गोरखा केन्द्र भएर २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो। केन्द्रका प्रमुख अधिकारीका अनुसार बुधबार बिहानै गएको भूकम्पसमेत त्यही शक्तिशाली भूकम्पको परकम्प हो।
२०७२ को भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो। भूकम्पका कारण जमिन फाटेको सिन्धुपाल्चोकमा यो वर्ष मनसुन सुरु भएदेखि नै पहिरोले ठूलो क्षति गरेको छ। पहिरोका कारण कतिपय गाउँनै विस्थापित भएका छन्।

















